शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रदेश २ ले पायो नाम र स्थायी राजधानी, स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी

सोमबार, ०३ माघ २०७८, २० : ४६
सोमबार, ०३ माघ २०७८

आज २०७८ माघ ३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रदेश २ ले पायो नाम र स्थायी राजधानी, स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी, मन्त्रीबाटै जनस्वास्थ्य मापदण्ड उल्लंघन, कोरोना संक्रमण न्यायालयदेखि स्वास्थ्य क्षेत्रका कामकाज प्रभावित, मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी, बतास समूहसँगको सम्झौता रद्द गर्न छानबिन समितिको सुझाव, कर्णाली प्रदेशका मुख्यमन्त्रीको गुनासो– गठबन्धनमा कुरा मिलिरहेको छैन लगायत छन् ।

१. प्रदेश २ ले पायो नाम र स्थायी राजधानी
प्रदेश २ ले सोमबार नाम र स्थायी राजधानी पाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी जनकपुरधाम पारित गरेको हो । प्रदेशको नामकरण र स्थायी राजधानीबारे अन्य प्रस्ताव पनि पेस भएकोमा सुरुमै स्थायी राजधानी जनकपुरधाम र नाममा मधेसको पक्षमा दुई तिहाई बहुमत पुगेपछि अन्य प्रस्ताव निर्णयार्थ पेस गरिरहन परेन ।

​२. स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणाको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार यसै साता बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचसमेत निर्वाचनको सम्बन्धमा छलफल भएको बताइएको छ । 

​३. मन्त्रीबाटै जनस्वास्थ्य मापदण्ड उल्लंघन 
सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै आए पनि सरकारमै सहभागी मन्त्रीले त्यसको उल्लंघन गरेको पाइएको छ । सोमबार सहरी विकास मन्त्री रामकुमारी झाक्रीले करिब सय जना भेला गरेर आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेकी हुन् ।

जबकि सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुने गरी कार्यक्रम नगर्न निर्देशन जारी गरेको छ । सय दिनको उपलब्धि सार्वजनिक गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पनि सोमबार कार्यक्रम निर्धारण गरेका थिए तर उनले अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरे ।

४. कोरोना संक्रमण न्यायालयदेखि स्वास्थ्य क्षेत्रका कामकाज प्रभावित
नेपालमा केही दिन यता कोरोना संक्रमण तीव्र गतिमा बढेको छ । मन्त्रालयका सचिवदेखि लिएर न्यायाधीश, न्याय क्षेत्रका कर्मचारी, स्वास्थ्यकर्मी लगायतमा संक्रमण फैलिएपछि ती क्षेत्रका सेवा प्रवाह प्रभावित भएका छन् ।

५. मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् । उनले त्यसका लागि आवश्यक छलफल गरिरहेको बताइएको छ । साथै, उनले आफ्नो सचिवालयलाई पनि पूर्णता दिने तयारी गरिरहेका छन् । हाल दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ भने प्रधानमन्त्रीको सचिवालयले पनि पूर्णता पाउन सकेको छैन । 

६. बतास समूहसँगको सम्झौता रद्द गर्न छानबिन समितिको सुझाव
बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्न छानविन समितिले सुझाव दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित समितिले मन्त्रालयलाई यस्तो सुझाव प्रस्तुत गरेको हो ।  

७. कर्णाली प्रदेशका मुख्यमन्त्रीको गुनासो– गठबन्धनमा कुरा मिलिरहेको छैन
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धनभित्र मन्त्रिपरिषद विस्तारमा केही कुरा नमिलेको खुलासा गरेका छन् । मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाइबारे प्रस्ट पार्दै उनले यस्तो खुलासा गरेका हुन् । 

शहरी विकास मन्त्रालयले सिंहदरबारस्थित ग्यालेरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपेक्षामा परेको थियो ।

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार २०.६४ अंक थपिएको हो । 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । स्वस्थानी व्रत शुभारम्भ भएसँगै हिन्दु धर्मावलम्बीहरू साँखुस्थित शाली नदीमा पूजाका लागि जाने गर्दछन् । त्यहाँ माधवनारायणको मेलासमेत लाग्दछ ।

११. र यो पनि,
जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप