शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न जनप्रतिनिधिहरूको तीनवटा संगठनको माग

सोमबार, ०३ माघ २०७८, १२ : ३०
सोमबार, ०३ माघ २०७८

स्थानीय तहको निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल सुरु गर्न सरोकारवालाहरूले माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका हुन् ।

स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम २०७४ सालमा तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोतर्फ पनि नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

‘स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था गरेको छैन । संविधानले नै जनप्रतिनिधि बिनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कथंकदाचित् समयमा नै निर्वाचन भएन भने संवैधानिक संकट आउने छ, जसले गर्दा वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली नै अवरुद्ध हुनेछ ।’

त्यसैगरी प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका अन्य कार्यहरू नहुँदा सेवा प्रवाह पनि अवरुद्ध हुने र यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै जनमानसमा नकारात्मक प्रभाव पर्न सक्नेतर्फ पनि उनीहरूले सबैको ध्यानाकर्षण गराएका छन् ।

‘आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा २०५९–२०७४ अत्यन्त प्रतिकुल रहेको यथार्थताको समेत यहाँ पुनः स्मरण गराउन चाहान्छौ,’ विज्ञप्तिमार्फत उनीहरूले भनेका छन् ।

उनले समयमै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने आफूहरूले चाहेको पनि प्रस्ट पारेका छन् । ‘संविधान र विद्यमान कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्यरुपमा गरिसक्नु पर्नेछ र निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १२० दिनको समय चाहिने बताइरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप