६ महिनापछि देउवाले सचिवालयलाई पूर्णता दिँदै, क–कसको सम्भावना ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका देउवाले अब भने पूर्णता दिन लागेका हुन् । प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।
यस्तै आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए ।
शर्मालाई प्रेस सल्लाहकार बन्न प्रधानमन्त्री देउवाले आग्रह गरेको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएकाे छ। शर्मा प्रेस सल्लाहकार बन्ने भएपछि गोविन्द परियारले प्रेस संयोजकका रुपमा काम गर्ने भएका छन् । अघिल्लो कार्यकालमा पनि उनी देउवाको प्रेस संयोजक थिए । यसपटक परियार प्रेस सल्लाहकार भएर काम गर्ने चाहन्थे । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।
बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । अब सिग्देललाई जनसम्पर्क सल्लाहकार बनाउने तयारी गरिएको छ ।
अहिले प्रधानमन्त्रीको फोटोग्राफरका रुपमा रोशन सापकोटाले काम गरिरहेका छन् । राससमा कार्यरत सापकोटाले आगामी दिनमा पनि सोही भूमिकामा काम गर्ने बुझिएको छ । प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन । यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराईको चर्चा छ । तर उनले अहिलेसम्म प्रधानमन्त्रीले आफूसँग कुनै कुराकानी नगरको रातोपाटीलाई बताए ।
बालुवाटार स्रोतका अनुसार पूर्व परराष्ट्रमन्त्री महत र विदेश मामिलाका जानकार शर्माबाटै देउवाले परराष्ट्र सल्लाहकारको काम गराउने योजना बनाएका छन् । परराष्ट्र सल्लाहकार हुने इच्छा देखाएका शर्मालाई देउवाले सचिवालयमा हुँदा सबै काम हुने बताएका थिए । ‘तपाईं प्रेस सल्लाहकार भइदिनुस् । सचिवालयमा हुँदा परराष्ट्रको काम पनि गर्न सकिन्छ । तपाईं बस्न चाँहि प्रेस सल्लाहकार बस्नुस्,’ देउवाले शर्मालाई भनेका थिए । शर्मा देउवाका यसअघिका कार्यकालमा पनि सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।
यसअघि देउवाले प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका थिए भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राडा आरपी विच्छा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव