बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद‍्लाई पूर्णता दिने तयारीमा देउवा, प्रकाशमानको नाम चर्चामा

सचिवालयलाई पनि पूर्णता दिने तयारी
सोमबार, ०३ माघ २०७८, १५ : ११
सोमबार, ०३ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने विषयमा छलफल थालेका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी छलफल थालिएको छ । गत असार २९ गते प्रधानमन्त्री भएका देउवाले असोज २२ मा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । तर यो बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए ।  उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका हमालले असोज २४ गते राजीनामा दिएका थिए । उनले  राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाले नै सम्हाल्दै आएका छन् । यस्तै १४ औं महाधिवेशनमा महामन्त्रीमा नराम्रो पराजय भोगेपछि रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेको अवस्था छ ।

मन्त्रालय हत्याउन सत्तारुढ दलमा हानथाप

रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । काँग्रेसको कोटाबाटै हमाल मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ । तर, प्रधानमन्त्री देउवा भने उक्त मन्त्रालय काँग्रेसकै भागमा राख्न लागि परेका छन् ।

देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् । पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

प्रकाशमानको नाम चर्चामा

देउवाले यस विषयमा पार्टीभित्र छलफल थालेको पाइएको छ । शनिबार अपरान्ह नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । सिंह काठमाडौंका जिल्ला काँग्रेस सभापति सबुज बानियाँलाई साथमा लिएर बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र सिंहबीच करिब १ घण्टा छलफल भएको थियो । 

मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा महाधिवेशनमा सिंहले लगाएको गुन तिर्न देउवा तयार देखिएका छन् । सिंह समर्थन पाएपछि दोस्रो चरणबाट सभापतिमा दोहोरिन सफल भएका थिए । यतिबेला देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका बुझिएको छ । सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने विषयमा पनि देउवाले छलफल थालेको स्रोतले रातोपाटीलाई बतायो । यस विषयमा खाण पनि सकारात्मक नै रहेको नेताहरु बताउँछन् । देउवाले सिंहलाई कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको पाइएको छ । सरकारमा सहभागी नहुने भए संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेका थिए । विजय कुमार गच्छदारको सांसद पद निलम्बन भएपछि काँग्रेस संसदीय दलको उपनेता छैन । तर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले सिंह उपनेता हुने सम्भावना करिब छैन ।

उनले देउवाको उक्त प्रस्ताव अस्वीकार गरिसकेका थिए । तर मन्त्री बन्ने विषयमा भने सिंह सकारात्मक नै रहेको बालुवाटार स्रोतको भनाइ  छ । यता नेता सिंहको सचिवालयले भने मन्त्री हुने कुरामा सत्यता नरहेको जिकिर गरेको छ ।

सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत चलाउने विषयमा मात्रै कुराकानी भएको थियो । उनले भने, ‘मन्त्री बन्ने कुरामा कुनै सत्यता छैन । शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने विषयमा मात्र छलफल भएको हो । अरु सबै हल्ला हुन्,’ उनले रातोपाटीलाई भने ।

प्रधानमन्त्रीको सचिवालयमा को–को जाँदैछन् ?

यसैबीच प्रधानमन्त्री देउवाले सचिवालयलाई समेत पूर्णता दिने तयारी गरेका छन् ।  सरकार बनेको ६ महिना हुँदा उनले सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका छन् । जसअनुसार प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका छन् भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् ।

अब भने देउवा सचिवालयलाई पूर्णता दिनेगरी प्रमुख सहयोगीको खोजीमा जुटेका हुन् ।  प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी छ । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।

आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए ।

शर्मालाई प्रेस सल्लाहकार बन्न प्रधानमन्त्री देउवाले आग्रह गरेको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएकाे छ। शर्मा प्रेस सल्लाहकार बन्ने भएपछि गोविन्द परियारले प्रेस संयोजका रुपमा काम गर्ने भएका छन् । अघिल्लो कार्यकालमा पनि उनी देउवाको प्रेस संयोजक थिए । यसपटक परियार प्रेस सल्लाहकार भएर काम गर्ने चाहन्थे । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।

बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । अब सिग्देललाई जनसम्पर्क सल्लाहकार बनाउने तयारी गरिएको छ ।

अहिले प्रधानमन्त्रीको फोटोग्राफरका रुपमा रोशन सापकोटाले काम गरिरहेका छन् । राससमा कार्यरत सापकोटाले आगामी दिनमा पनि सोही भूमिकामा काम गर्ने बुझिएको छ ।  प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन ।  यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईको चर्चा छ । तर उनले अहिलेसम्म प्रधानमन्त्रीले आफूसँग कुनै कुराकानी नगरको रातोपाटीलाई बताए ।

बालुवाटार स्रोतका अनुसार पूर्व पराराष्ट्रमन्त्री महत र विदेश मामिलाका जानकार शर्माबाटै देउवाले परराष्ट्र सल्लाहकारको काम गराउने योजना बनाएका छन् ।

परराष्ट्र सल्लाहकार हुने इच्छा देखाएका शर्मालाई देउवाले सचिवालयमा हुँदा सबै काम हुने बताएका थिए । ‘तपाईं प्रेस सल्लाहकार भइदिनुस् । सचिवालयमा हुँदा परराष्ट्रको काम पनि गर्न सकिन्छ । तपाईं बस्न चाँहि प्रेस सल्लाहकार बस्नस्,’ देउवाले शर्मालाई भनेका थिए । शर्मा देउवाका यसअघिका कार्यकालमा पनि सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप