रातोपाटी ब्रिफिङ : प्रचण्डको प्रतिवेदनमा फरक मत, २१ स्थानीय तह बजेटविहीन
आज २०७८ पुस १२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा के के छन् ?, माओवादी केन्द्रका नेता राम कार्कीको फरक मत, माओवादी केन्द्रको विधान मस्यौदामा १५ पदाधिकारीको व्यवस्था, २१ स्थानीय तह बजेटविहीन, लोसपा नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना, अपराजित रहँदै नेपाली महिला भलिबल टोली फाइनलमा लगायत छन् ।
१. प्रचण्डको राजनीतिक प्रतिवेदनमा के के छन् ?
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । महाधिवेशनको बन्दसत्रमा उनले राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टीको विचार, लक्ष्य र कार्ययोजना प्रस्ट्याएका छन् ।
२. प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूह विभाजन गरी भोलिदेखि छलफल
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि भोलि (मंगलबार) देखि छलफल सुरु हुनेछ । छलफलका लागि २५ समूह बनाइएको छ ।
३. माओवादी केन्द्रका नेता राम कार्कीको फरक मत
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि लिखित रुपमै फरक मत राखेका छन् । उनले आफ्नो फरक मतलाई केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गर्न पनि माग गरेका छन् ।
४. माओवादी केन्द्रको विधान मस्यौदामा १५ पदाधिकारीको व्यवस्था
नेकपा माओवादी केन्द्रको विधान मस्यौदामा १५ पदाधिकारीको प्रस्ताव गरिएको छ । जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा पेस गरेका हुन् ।
५. २१ स्थानीय तह बजेटविहीन
चालु आर्थिक वर्षको करिब साढे पाँच महिना बितिसक्दा समेत २१ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार कुल ७५३ स्थानीय तहमध्ये पुस १२ गतेसम्म ७३२ वटा स्थानीय तहले मात्र चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छन् । बाँकी २१ वटा स्थानीय तहले हालसम्म पनि बजेटविहीन छन् ।
६. लोसपा नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको एक समूहले धर्ना दिएको छ । अध्यक्ष महन्थ ठाकुरले हालै गरेको मनोनयनविरुद्ध आन्दोलित उक्त समूहले दुई दिनदेखि पार्टी कार्यालयमा धर्ना दिए पनि पार्टी नेतृत्वले भने कुनै चासो दिएको छैन ।
७. सीके राउतको पार्टी आन्दोलित
सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा केन्द्रित आन्दोलन थालेको छ । यस क्रममा सो पार्टीले सोमबार चक्का जाम गरेको छ । सो पार्टीले आन्दोलनका लागि र निर्वाचन प्रयोजनका लागि भन्दै चन्दा संकलन अभियान पनि सुरु गरेको छ ।
८. मन्त्री बनेको साढे दुई महिनापछि बल्ल विभागीय जिम्मेवारी
गण्डकी प्रदेश सरकारका मन्त्री डोबाटे विश्वकर्माले साढे दुई महिनापछि बल्ल विभागीय जिम्मेवारी पाउने भएका छन् । यसअघि उनी विना विभागीय मन्त्री रहँदै आएका थिए । उनलाई विभागीय जिम्मेवारी दिनका लागि कार्यसम्पादन नियमावलीको अनुसूची संशोधन गरिएको छ ।
९. बाबुराम भन्छन्– निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याकाण्डको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् ।
१०. अपराजित रहँदै नेपाली महिला भलिबल टोली फाइनलमा
बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कप अन्तर्गत नेपाली महिला भलिबल टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपाली टोलीले मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
११. नेपालमा एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
नेपालमा कोरोनाभाइरसविरुद्ध पूर्ण खोप लगाउनेको संख्या एक करोड एक लाख ६६ हजार ५०४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।
१२. र यो पनि,
सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधीन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले बताए ।
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड)को खोजी गरेका छन् ।
नेपाली काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय