बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : पाँच दलीय गठबन्धनमा छैटौँको ‘इन्ट्री’

सोमबार, २५ असोज २०७८, १९ : २२
सोमबार, २५ असोज २०७८

आज २०७८ असोज २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा पाँच दलीय गठबन्धनमा छैटौंको ‘इन्ट्री’, कास्की र अछाममा जिप दुर्घटना, संगठन सुदृढीकरण अभियानमा जुट्यो माओवादी केन्द्र, आफ्नै पार्टीका कार्यकर्ताद्वारा उपेन्द्र यादवको पुत्ला दहन, मासुमा परनिर्भरता लगायत छन् ।

१. पाँच दलीय गठबन्धनमा छैटौँको ‘इन्ट्री’

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्तारुढ पाँच दलीय गठबन्धनमा छैटौंको ‘इन्ट्री’ भएको टिप्पणी गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सत्तारुढ गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताएका हुन् ।

चाडपर्व नजिकिएसँगै सवारी दुर्घटनामा जनधनको क्षति बढ्ने गर्दछ । सोही क्रममा सोमबार कास्कीमा एउटा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यस्तै आइतबार राति अछाममा अर्को जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

३. संगठन सुदृढीकरण अभियानमा जुट्यो माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिन थालेको छ । करिब ३० लाख ९४ हजार संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको सो पार्टीले जिम्मेवारी नपाएका नेताहरुलाई पार्टीको जिम्मेवारी दिन थालेको छ । सोही अनुसार कतिपय नेताको जिम्मेवारी हेरफेरसमेत भएको छ ।

४. आफ्नै पार्टीका कार्यकर्ताद्वारा उपेन्द्र यादवको पुत्ला दहन

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् । पर्सा जिल्लाबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै पर्साका युवाहरुले बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् ।

५. मासुमा परनिर्भरता

हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ भित्रिसकेको छ । कृषि क्षेत्रमा देशका झण्डै ६० प्रतिशत नागरिक आश्रित हुँदासमेत दसैँको मुख्य परिकार मानिने मासुमा भने परनिर्भरता कायमै छ । मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात हुने गरेको छ । यसैबीच यो वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाडेर घर जानेहरुको संख्या तुलनात्मक रुपमा कम देखिएको छ ।

६. मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ

रुपन्देहीको मोतीपुरस्थित औद्योगिक क्षेत्रको जग्गा खाली गर्ने क्रममा आइतबार भएको झडपमा मृत्यु भएकाको परिवारलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सुकुमबासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

७. विदेशबाट तस्करी भएको सुन ललितपुरमा संकलन

विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्कप्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

८. काँग्रेस नेता शेखरको आरोप– गुटका कारण पार्टी लथालिङ्ग

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा–धूजा पारेर च्यात्ने काम भएको समेत उनले बताए ।

९. राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको जिकिर गरे ।

१०. गण्डकी प्रदेशमा थपियो मन्त्री

गण्डकी प्रदेशमा मन्त्री थपिएको छ । सोमबार डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरिएको हो । उनले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

११. पछिल्लो २४ घण्टामा ७८५ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ७८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८८८ जना संक्रमणमुक्त भएका छन् ।

१२. र यो पनि,

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । महानगर प्रमुख जिसी मष्तिष्कघातको उपचारपछि लामो अन्तरालमा कार्यालयमा आएका हुन् । कार्यालयमा आएर उनले उपप्रमुख गुरुङलाई कार्यवाहक प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।

मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप