शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई नेम्वाङको व्यङ्ग्य : पाँच दलको गठबन्धनमा छैटौँ थपियो रे

सोमबार, २५ असोज २०७८, १६ : ५७
सोमबार, २५ असोज २०७८

नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिए पनि छैटौँ थपिएको प्रमाणित भएको बताएका छन् । तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तर्फ व्यङ्ग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौँ दल समावेश भएको पुष्टि हुने तर्क गरेका हुन् । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्ने बताए ।

नेता नेम्वाङले भने, ‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौँ थपियो रे भन्ने चर्चा र हल्ला छ,  त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,  भनेपछि त्यो कुरा त साँच्चै रहेछ, यस्ता यस्ता मुद्दाहरु उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजहरूले व्यापक छलफल गर्नुपर्छ, सिङ्गो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताए । अध्यक्ष लोहनीले भने, ‘स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पार्टीमा रहँदा आफ्नो स्वार्थपूर्तिका लागि नभई देश र जनताका लागि काम गर्नुभयो, उहाँको निधनले देश र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।’ अध्यक्ष लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरूले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप