शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सरकार सञ्चालन गर्न नयाँ कार्यविधि, लतारिएर पार्टी एकता नगर्ने माधव पक्षको अडान

शुक्रबार, २२ साउन २०७८, २१ : १३
शुक्रबार, २२ साउन २०७८

आज २०७८ साउन २२ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा सरकार सञ्चालन गर्न कार्यविधि, मन्त्रीहरुलाई आचारसंहिता, लतारिएर पार्टी एकता नगर्ने माधवकुमार नेपाल पक्षको अडान, भूमिसम्बन्धी आयोग खारेजीका विरुद्ध सर्वोच्चमा रिट निवेदन, कक्षा १२ सहितका सबै परीक्षा स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस, देउवा सरकारलाई गिज्याइरहेका केही दृश्य, माओवादी केन्द्रको बैठकमा मन्त्री छनोटबारे भएन छलफल, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो लगायत छन् ।

१. सरकार सञ्चालनका लागि कार्यविधि तयार, मन्त्रीका लागि आचारसंहिता
सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि कार्यविधि बनाएको छ । गठबन्धनको कार्यदलले सरकार सञ्चालन सम्बन्धी कार्यविधि तयार पारेको हो । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रमसमेत तयार पारेर शीर्ष नेतालाई बुझाइएको छ । यसैगरी सरकारमा रहेका मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिताको मस्यौदासमेत तयार पारिएको छ ।

 

२.पार्टी एकताबारे माधव नेपाल पक्षको यस्तो छ विश्लेषण
माधवकुमार नेपाल पक्षका एमाले केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् । शुक्रबार माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा धारणा राख्ने अधिकांश नेताले लतारिएर ओलीसँग एकता नगर्ने निष्कर्ष निकालेको हो । बैठकले चार बुँदे प्रस्तावसमेत पारित गरेको छ । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने एकताको पक्षमा आफू दृढ रहेको सुनाए । ओलीले जति नै गाली गरे पनि आफू एकताको पक्षमै रहेको उनको भनाइ थियो । बैठकले सबै खालका एक पक्षीय सांगठनिक गतिविधि तत्काल रोक्न पनि ओलीसमक्ष माग गरेको छ ।


३. भूमिसम्बन्धी आयोग खारेजीका विरुद्ध सर्वोच्चमा रिट निवेदन
सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्त प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी साउन २५ गतेलाई तोकिएको छ । आयोग खारेजीसँगै विभिन्न जिल्लास्थित आयोगका कार्यालय अन्योलमा परेका छन् ।

 


४. कक्षा १२ सहितका सबै परीक्षा स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गएको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन् । यता, सामाजिक सञ्जालमा परीक्षा स्थगन गर्नका लागि ह्यासट्याग नै चलाइएको छ, जो अहिले ट्रेण्डिङमा पनि छ । 


५. महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न काँग्रेसको केन्द्रीय समिति बैठक बोलाइयो 
नेपाली काँग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै हुनेमा आशंका बढिरहेको समयमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । साउन २८ गते बस्नेगरी बैठक आह्वान गरिएको हो । काँग्रेसमा अहिले विशेष महाधिवेशनका बारेमा समेत बहस भइरहेको छ । केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनबारे निर्णय लिने अपेक्षा गरिएको छ ।

६. देउवा सरकारलाई गिज्याइरहेका यी दृश्य
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्राथमिकतामा ‘खोप, खोप र खोप’ भने पनि कोरोनाविरुद्धको खोप केन्द्रको व्यवस्थापन र खोप लगाएको प्रमाणीकरणका लागि सहज व्यवस्था नभएका परिदृश्यले अन्ततः सरकारलाई नै गिज्याउन थालेको छ । अर्कोतिर, ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने..’ शीर्षकमा देउवाको सचिवालयले जारी गरेको भिडियोप्रति काँग्रेसकै नेताहरुले आपत्ति जनाएका छन् । 


७. माओवादी केन्द्रको बैठकमा मन्त्री छनोटबारे भएन छलफल
नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकमा सत्तारुढ गठबन्धनको कार्यदलले बनाएको साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको छ । बैठकमा यस अतिरिक्त अन्य केही विषयमा छलफल गरे पनि मन्त्री छनोटबारे भने छलफल भएन । देउवा सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेकोमा आलोचना हुन थालेको छ ।


८. शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा माग गरिएको छ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले शुक्रबारको बैठकमा मुख्यमन्त्री पोखरेलकै संलग्नतामा लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीको अपहरण भएको र बन्धक सरह पाँच दिनसम्म मुख्यमन्त्रीको निवासमा राखिएको भन्दै मुख्यमन्त्रीसहित उक्त घटनामा संलग्नमाथि कारवाही गर्न माग गरेकी हुन् । सांसद वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्रीसहितको संलग्नतामा घरबाट जबर्जस्ती मुख्यमन्त्रीको निवासमा ल्याएर बन्धक बनाइएको खुलासा गरेकी थिइन् । 


९. अर्थ समितिको निर्देशन 

चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमुलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका थिए ।

१०. कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १० हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ७२९ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । सो अवधिमा देशभर कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने एक हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।


११. र यो पनि,
घुस लिन अस्वीकार गर्ने र घुस दिन खोज्नेलाई कानुनी दायरामा ल्याउने ३६ ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई पुरस्कृत एवं सम्मान गरेको हो ।


पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भएमा हाम्रो स्वाभिमान चकनाचुर हुने बताएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्न भएकाहरूमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । संसदीय समितिको बैठकमा उनले यसबारे सिनेट बैठक बोलाएर छानविन समिति गठन गरी कारवाही प्रक्रिया अघि बढाउने बताएका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप