मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा बहस : परीक्षा ठूलो कि जीवन ?

परीक्षा रद्द गर्न माग गर्दै  #CancelNEBExams ट्रेन्डिङ
शुक्रबार, २२ साउन २०७८, १७ : ००
शुक्रबार, २२ साउन २०७८


 

राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । 

गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्यालय) मै परीक्षा दिने व्यवस्था गर्न भनेको थियो । 

सोही आधारमा बोर्डले परीक्षाका लागि सबै तयारी पूरा गरेको भएपनि अहिले कोरोना सङ्क्रमणको दर बढेको भन्दै परीक्षा स्थगन गर्न माग गर्न थालिएको छ ।  सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको छ । यतिबेला उक्त ह्यासट्याग ट्रेण्डिङमा रहेको छ ।

तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरिरहेका छन् । 

शुक्रबार नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आफैले सामाजिक सञ्जालमा परीक्षा भन्दा जीवन बढी जरुरी रहेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्थापन नभई परीक्षा गर्न नहुने भन्दै सुरक्षित नभए परीक्षा स्थगन गर्न माग गरेका छन् ।

शर्माले लेखेका छन्,

परीक्षा जरुरी, जीवन रक्षा झनै जरुरी ! कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियो, कि क्यान्सिल एनइबी एक्जाम्स् ।

म मेरी छोरीको सुरक्षित भविष्य चाहन्छु । त्यसैले चाहन्छु अरू धेरै छोराछोरीको भविष्य सुरक्षा । सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौँ हामी ।’

शर्माले ह्यास ट्यागकै प्रयोग गरेर यति लेख्नुको कारण के पनि हो भने अहिले कक्षा १२ को परीक्षालाई लिएर धेरैले चिन्ता जनाएका छन् । कोरोना सङ्क्रमणको ग्राफ दैनिकरुपमा बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिँदा त्यसले सङ्क्रमण झनै बढाउने र तेस्रो लहर सुरु हुने चिन्ता र आशङ्का यतिबेला सर्वत्र छ । 

सामाजिक सञ्जालहरूमा स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन सक्दैन भन्दै परीक्षासँग नभएर आफूहरू कोरोनासँग डराएको प्रतिक्रिया आइरहेको छ । पहिले भ्याक्सिनको व्यवस्था गरौँ त्यसपछि मात्रै परीक्षा गरौँला भन्ने भनाई सामाजिक सञ्जालमा सर्वत्र छ । 

अर्बपति विनोद चौधरीले जीवन रहे पढाई र परीक्षाको अवसर फेरि पनि आउने भन्दै यस्तो बेला अनावश्यक जोखिम नलिन र परीक्षा स्थगन गर्न आग्रह गरेका छन् । छिमेकी देशहरूमा कोरोना सङ्क्रमणको जोखिम बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिनेबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

म नेपाली नामको ट्वीटर ह्याण्डलले परीक्षासम्बन्धी एक पोष्ट गरेका छन् । उनले लेखेका छन्,

एक्जाम दिएको २ महिनापछि कलेजबाट फोन आयो, ‘बधाई छ तपाईंको छोरा कलेज टप भएको छ ।’

बुवाले गहभरि आँसु बगाउँदै भन्छन्, छोराको डेढ महिनाअघि कोरोनाको कारण मृत्यु भयो ।’

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि गर्न लागेको कक्षा १२ को परीक्षामा एउटा बेञ्चमा एकजना विद्यार्थी र एउटा कक्षाकोठामा अधिकतम २० जना विद्यार्थी राख्ने भनेको छ । देशैभरका ९० प्रतिशत विद्यालयमा अनलाइन विधिबाट प्रश्नपत्र पठाउने र अनलाइन विधिबाट प्रश्नपत्र पठाउन नसकिने १० प्रतिशत विद्यालयमा प्रश्नपत्रको हार्डकपी नै पठाउने भनिएको छ । त्यसैगरी एउटा परीक्षा केन्द्रमा बढीमा २ सय विद्यार्थीलाई राखिने भनिएको छ । तर होम सेन्टर भनिएको अवस्थामा एउटै विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीलाई पढाउने कलेजहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता पनि छ ।

तपाईंहरु सामाजिक सञ्जाल चलाउनुहोस्, हामी परीक्षा गर्छौँ : बोर्डका अध्यक्ष पौडेल

अहिले ट्वीटरमा ८० हजारभन्दा बढीले #CancelNEBExams को ह्यासट्याग चलाइरहेका छन् । राजनीतिक दलका नेतादेखि अभिभावक र सरोकारवालाले भौतिकरुपमै परीक्षा लिने नलिन आग्रह गरिरहेका छन् । कतिपयले साउन ३१ गतेलाई ‘तेस्रो लहरको सुरुवात’ भनी प्रतिक्रिया दिइरहेका छन् । विद्यार्थी र अभिभावकहरू एउटा मास्क र दुई थोपा स्यानिटाइजरले कोरोना नरोकिने भन्दै यसबारे सजग र सतर्क हुँदै गम्भीर भइदिन आग्रह गरिरहेका छन् । 

यही सम्बन्धमा कक्षा १२ को परीक्षा के हुन्छ भनी प्रश्न गर्दा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले आक्रोश व्यक्त गरे । उनले भने, ‘परीक्षा के हुन्छ भनेको के हो ? परीक्षा हुन्छ, तोकिएकै मिति र समयमा हुन्छ ।’

तर सामाजिक सञ्जालदेखि अन्य स्थानमा पनि परीक्षा रोक्न माग भइरहेको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘परीक्षा के गर्ने भन्ने हाम्रो विषय हो । कस कसले के के लेखे, कसले के ट्याग चलायो भन्ने हामीलाई नसुनाउनुस् । तपाईंहरु सामाजिक सञ्जाल चलाएर बस्नुहोस्, हामी हाम्रो काम गर्छौँ ।’

तेस्रो लहरको माहौल निर्माण हुनसक्छ : डा. शेर बहादुर पुन

सङ्क्रमण रोग विशेषज्ञ डा. शेर बहादुर पुन कक्षा १२ को परीक्षा तेस्रो लहरका लागि माहौल बन्न सक्ने चिन्ता गर्छन् । अहिले दैनिकरुपमा कोरोना सङ्क्रमण बढिरहेको र डेल्टा भेरियन्ट सङ्क्रमणका हिसाबले तीव्र गतिको भएको कारण यसले समस्या ल्याउन सक्ने बताउँछन् । 

पुन भन्छन्, ‘अहिले कक्षा १२ को परीक्षा सुरु हुँदैछ । धेरै विद्यार्थीहरू एकैपटक एकैठाउँमा हुने सम्भावना रहन्छ । कक्षाकोठामा मापदण्ड पालना गरेपनि कक्षाकोठा बाहिर उनीहरूले मापदण्ड पालना नगर्ने सम्भावना बढी हुन्छ । डेल्टा भेरियन्ट छिटो सर्ने र लक्षणबिना पनि सङ्क्रमित गराउने भेरियण्ट हो । त्यस कारण यसले समस्या निम्त्याउन सक्छ ।’

पुनका अनुसार दोस्रो लहरमा देखिएको समस्या के हो भने लक्षण नदेखिकनै भाइरस लुप्तरुपमा रहने तर तीव्र गतिमा सर्ने देखिएको थियो । डेल्टा भेरियण्ट र डेल्टा प्लस भेरियन्टको प्रकृति उस्तै भएकाले लक्षण कम देखेर नै आक्रमण गर्ने र फोक्सोमा बढी समस्या गर्ने हो । त्यस कारण परीक्षाका दौरान पनि यही समस्या दोहोरिन सक्ने पुनको चिन्ता छ । 

पुन भन्छन्, ‘मैले सुनेको छु कि ३ लाख भन्दा बढी विद्यार्थीले परीक्षा दिँदै छन् । कक्षाकोठामा उनीहरू सँगै नभए पनि मापदण्ड पालना गरेपनि बाहिर निस्किएपछिको अवस्था त हामीले देखेकै छौँ । बाहिर निस्किएपछि सबै सँगै हुने, खाजा खाने आदि काम गरिहाल्छन् । त्यस कारण विषय के हो भने यस्तो बेलामा परीक्षा कसरी गर्ने भनेर सोच्नु नै पर्छ । परीक्षा नै तेस्रो लहरका लागि माहौल बनाउने कारक बन्न पनि सक्छ ।’

डा. पुन पहिले खोपलाई महाअभियानकै रूपमा लैजानुपर्ने बताउँछन् । व्यक्तिको शरीरमा एण्टीबडी बनिसकेको अवस्थामा भाइरसले आक्रमण गर्ने सम्भावना कम हुने र भाइरस पसेपनि समस्या खासै नहुने हुन्छ । तर शरीरमा एण्टीबडी नै छैन भने पछिल्ला समय म्युटेण्ट बन्दै गरेका र नयाँ नयाँ प्रजातिको भाइरसको कारण समस्या थप बढ्न सक्ने पुनको भनाई छ । 

पहिलो लहरमा भन्दा दोस्रो लहरमा केही सङ्ख्यामा बेड र आइसियुहरु बढेको भएपनि तेस्रो लहरको तयारीमा खासै प्रगति नभएको पुनको भनाई छ । जसका कारण यदि भाइरस म्युटेण्ट हुँदै झनै शक्तिशाली बनेमा र पूर्वाधारको विकास नभएमा समस्या झनै जटिल बन्न सक्ने पुनको चेतावानी छ । परीक्षाभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य भएकाले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै परीक्षालाई जोड दिनुपर्ने पुनको सुझाव छ । पुन भन्छन्, ‘परीक्षा एक महत्त्वपूर्ण समय र कडी हो, तर त्यो भन्दा ठूलो मान्छेको जीवन हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप