रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् विस्तारमा गठबन्धनलाई सकस, रणनीति बुन्दै ओली
आज २०७८ असार ३१ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा संसद अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदको सिफारिस, साउन १० सम्म निषेधाज्ञा लम्ब्याइयो, एमाले संसदीय दलको बैठक आह्वान, माधवकुमार नेपाल र प्रचण्डसँग विप्लवको भेटवार्ता, यातायातमा भाडा वृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणालगायत छन् ।
१. मन्त्रिपरिषद बैठक : साउन ३ मा संसद् अधिवेशन आह्वान गर्न सिफारिस, दुई आयोगको म्याद थपियो
सरकारले साउन ३ गते आइतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एकवर्ष थप गर्ने निर्णयसमेत गरेको छ ।
२. काठमाडौं उपत्यकामा साउन १० सम्म निषेधाज्ञा लम्बियो
काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । सार्वजनिक यातायातलाई काठमाडौं प्रवेशमा सहज हुनेगरी निषेधाज्ञा खुकुलो तुल्याइने भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
३. सिंहदरवारमा सत्तापक्षीय गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारमा यस्तो छ तयारी
सत्ता पक्षीय गठबन्धनको बैठक सिंहदरवारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोगी दलहरुको बैठक राखेका हुन् । बैठकमा सहयोगी दलहरुले देउवालाई ओली सरकारले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन् ।
यसैबीच, प्रधानमन्त्री देउवाले नेकपा एमालेको खनाल–नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसमेतलाई समेटेर मन्त्रिपरिषद विस्तारको योजना बनाए पनि ती दुवै दलभित्र जारी अन्तरसंघर्षलाई ध्यानमा राख्दै केही दिनपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सोच बनाएको स्रोतहरुको भनाइ छ ।
यता, ओली नेतृत्वको सरकार रहँदा काँग्रेसले बनाएका छायाँ मन्त्रीहरु देउवा नेतृत्वको सरकारमा सामेल हुनका लागि पनि दौडधुप गरिरहेका छन् ।
४. प्रचण्ड र माधवकुमार नेपालसँग विप्लवको भेटवार्ता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार प्रचण्डसँग छुट्टै भेट गरेका विप्लवले बिहीबार प्रचण्ड र नेपालसँग संयुक्त भेट गरेका हुन् । ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका विप्लव आफ्ना माग पूर्ववर्ती सरकारले पूरा नगरेकोमा असन्तुष्ट छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि उनी सत्तारुढ गठबन्धनका नेताहरुसँग आफ्ना कार्यकर्ताहरुको रिहाइ लगायतका माग लिएर भेटवार्ता गर्न थालेका हुन् ।
५. सार्वजनिक यातायातको भाडा वृद्धिविरुद्ध विद्यार्थीहरुद्वारा आन्दोलन घोषणा
पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धिविरुद्ध आन्दोलन घोषणा गरेका छन् । साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेस गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरिने विद्यार्थी संगठनहरुले जनाएका छन् । उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले पनि सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धि फिर्ता लिन माग गरेको छ । यातायात व्यवस्था विभागले असार २९ देखि लागू हुनेगरी लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि गरेको हो ।
६. ओलीले बोलाए एमाले संसदीय दलको बैठक
नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । सत्ताबाट बाहिरिएपछि एमालेभित्रकै खनाल–नेपाल पक्ष, खासगरी माधवकुमार नेपालप्रति निकै आक्रोसित अभिव्यक्ति दिएका ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका केही एमाले सांसदमाथि कारवाहीको प्रस्ताव राख्नसक्ने आँकलन गरिएको छ ।
७. विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा देशभर थप दुई हजार ६७६ जनामा संक्रमण देखिएको छ ।
८. कर्णाली प्रदेशमा बजेट पारित नगरी संसद अधिवेशन अन्त्य
कर्णाली प्रदेश सरकारले बजेट पारित नभएकै अवस्थामा प्रदेशसभाको जारी अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बजेटमाथि छलफलसमेत हुन नसकेपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीस्वरुप प्रदेशसभा अधिवेशन अन्त्य गरेको बताइन्छ ।
९. नेप्सेमा दोहोरो अंकको वृद्धि
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । बुधबार १.०१ अंकको वृद्धि आएको नेप्सेमा बिहीबार ११.३३ अंकको वृद्धि भएको हो ।
१०. र, यो पनि
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत -याण्डी बेरीले भेट गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।
नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिको तथ्याङ्क सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे केन्द्रीय बैंकले पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का