शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा सरकारमा यसरी हुँदैछ मन्त्रालयको भागबण्डा

माधव नेपालका लागि कोटा छुट्याउन काँग्रेस र माओवादी तयार
बिहीबार, ३१ असार २०७८, ११ : २०
बिहीबार, ३१ असार २०७८


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति बनाएका छन् । एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् ।

एमालेको कार्यदलमा पार्टी एकताका लागि १० बुँदे सहमति भए पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीचको टकराव बढ्दो छ । बुधबार मात्रै ओलीले एमालेमा माधव नेपाललाई कुनै स्थान भएको घोषणा गरेको अवस्था छ ।

जसपामा पनि अध्यक्षद्वय यादव र महन्थ ठाकुरबीच पार्टी आधिकारिकताको लडाइ चलिरहेको छ । निर्वाचन आयोगले इजलास बनाएर जसपाको आधिकारिकता टुङ्ग्याउने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री बनाउन राजनीति र न्यायिक लडाइमा साथ दिएका नेपाल र यादव पक्षलाई साथमै लिएर जाने देउवाको तयारी छ । विश्वासको मत सिद्ध गर्न पनि देउवालाई नेपाल र यादव पक्षको साथ अनिवार्य छ ।

अन्तिमसम्म एमालेका २३ र जसपाका १२ जना सांसदको साथ पाएपछि सर्वोच्च अदालतको परमादेशबाट मंगलबार देउवा प्रधानमन्त्री बनेका छन् । मंगलबार देउवाले काँग्रेस र माओवादीबाट दुई/दुई जनालाई मात्र समावेश गरेर मन्त्रिमण्डल गठन गरेका छन् ।

नेपाल र यादव समूहको पर्खाइमा विपक्षी गठबन्धनको शीर्ष तहमा मन्त्रालयको भागबण्डा पनि हुन सकेको छैन । यद्यपि नेपाल समूह एमालेमै रहने परिस्थितिमा काँग्रेसले ५० प्रतिशत मन्त्रालय आफूसँगै राख्ने रणनीति बनाएको छ ।

माओवादी केन्द्रलाई ३० प्रतिशत र जसपाको यादव पक्षलाई २० प्रतिशत मन्त्रालय दिने प्रधानमन्त्री देउवाले तयारी गरेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दियो । यद्यपि जसपामा यादव पक्षले ठाकुर पक्षका सांसद तान्न सकेको खण्डमा काँग्रेसले केही मन्त्रालय दिन उदारता देखाउने स्रोतको भनाइ छ ।

 


नेताहरूका अनुसार माधव पक्षले विश्वासको मत दिएर एमालेबाट बाहिरिने जोखिम उठाए काँग्रेस आफू तीन/चारवटा मन्त्रालयमा पनि सीमित भएर नेपाल पक्षलाई पर्याप्त मन्त्रालय दिन तयार देखिएको छ ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावना विपरीत जान नहुने प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । क्याबिनेट विस्तारमा प्रधानमन्त्री देउवाले उदार भएर सोच्नुपर्ने सिटौलाको सुझाव छ । ‘सरकारलाई समर्थन गर्ने दलहरूको भावनालाई जोडेर हिँड्न सक्नुपर्छ । हतारिएर हुँदैन’ सिटौला भन्छन्, ‘मूल कुरा उहाँले गठबन्धनलाई जोगाउनुपर्छ । गठबन्धनको भावनालाई मर्न दिनुहुँदैन । विश्वासको मत लिने तयारीका साथ उहाँले अगाडि जाने कोसिस गर्नुपर्छ ।’

​गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि माधव नेपाल पक्षका लागि छाड्न तयार रहेको बताउँदै आएको छ । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेत देव गुरुङले माधव पक्षलाई सरकारमा सहभागी गराउन उदारता देखाउने रातोपाटीलाई बताए ।

मन्त्रिमण्डलमा सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्रले उदारताको नीति राख्ने गुरुङको भनाइ छ । उनले भने, ‘प्रतिनिधिसभा पूर्ण कार्यकाल सञ्चालनका लागि पाँच दलीय गठबन्धन एक ठाउँमा उभिनुपर्ने आवश्यकताको गम्भीरता हामीले राम्रोसँग बुझेका छौँ ।’

यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताउँदै अब आगामी चुनावसम्म एमालेसहितको राष्ट्रिय एकताको सरकार बनाउनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप