शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : खर्च नबुझाउनेमाथि आयोगको एक्सन, समानुपातिकले गठबन्धनलाई सहज

मङ्गलबार, ०४ असोज २०७९, २० : ५३
मङ्गलबार, ०४ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको ४ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

चुनावी खर्चको विवरण नबुझाउनेहरु

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित रहेका छन् । 

यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत रहेका छन् । उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।

गठबन्धन बैठक

प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् । 

दसैँ सुरक्षा योजना

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । 

 चुनाव लड्ने तयारी​

नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।

गोठाटार गोलीकाण्ड

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

१५ वर्षे ‘शिक्षाको सोचपत्र’​

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ वर्षे योजना अघि सारेको छ । ‘शिक्षाको सोचपत्र २०७९’ ले आगामी वर्षभित्रमा शिक्षा क्षेत्रमा के कस्ता कार्ययोजना अघि बढाउने, कस्तो खालको सुधार गर्ने लगायत विषय तय गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उक्त सोचपत्र सार्वजनिक गरेको हो । 

सर्वोच्चको भवन निर्माणमा भ्रष्टाचार

महालेखा परीक्षकको कार्यालयले सर्वोच्च अदालतको भवन निर्माणमा मितव्ययिता नदेखिएको बताएको छ । महालेखा परीक्षक कार्यालयले तयार पारेको विस्तृत प्रतिवेदनमा सर्वोच्च अदालतको भवन निर्माणमा मितव्ययिता नभएको भन्दै अनियमितताको आरोप लगाएको हो । 

समानुपातिकले सहज

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भएका केही क्षेत्रमा सहजता देखिएको छ । सोमबार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि गठबन्धनका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका छन् । गठबन्धनको कार्यदलका एक सदस्यका अनुसार समानुपातिकको बन्दसूचीको केही नाम हेर्दा नेताहरूको क्षेत्र हेरफेरको हुने सम्भावना बढेको छ  । गठबन्धनमा सहमति जुटाउन सबैभन्दा पेचिलो बनेको केही क्षेत्रमा सहमति खोज्न सजिलो दिएको उनको भनाइ छ ।

गोविन्द केसीको अनसन​

धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ । केसीले उपचारको लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

घट्दै कोरोना सङ्क्रमण​

देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप