शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

मङ्गलबार, ०४ असोज २०७९, ११ : ५८
मङ्गलबार, ०४ असोज २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रबिन्द्रबहादुर धानुकले जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् । १५ दिनअघि उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो । सो क्रममा उनलाई पाखुरामा गोली लागेको आशंका गरिएको छ । गोली हान्न आएका सुटरको मोटरसाइकल अनियन्त्रित भएर ढलेपछि लाल भाग्न सफल भएका थिए । त्यसबेला उलने जोरपाटीस्थित अपांग अस्पतलामा उपचार गराए । चिकित्सकले सोधे, ‘गोली लागेको हो ?’ त्यतिबेला लाल मोहम्मदले डाक्टरलाई भने, ‘हैन, लड्दा धसिएर घाउ भयो ।’

सो घटनाको जानकारी उनले प्र्रहरीलाई दिए । तर, फरक तरिकाले । जम्बुडाँडास्थित प्रहरी चौकीमा गएर उनले प्रहरीलाई भनेका थिए, ‘मलाई सुरक्षा खतरा भयो ।’ तर, उनको सूचनालाई प्रहरीले नोट नै गरेन । सुरक्षा खतराको जानकारी प्रहरीलाई गराएको उनकी छोरीले बताएकी छिन् । मोहम्मदले दिएको सूचनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको भए क्षति रोक्न सकिने जानकारहरु बताउँछन् ।

सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर उनको टाउको, दाहिने हात र दायाँ तिघ्रामा गोली हानेर भागेका छन् । २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेको मुद्दामा उनी १० वर्ष जेल बसेर निस्केको थाहा भएको छ । 

बलराम पटुवामाथि गोली प्रहार भएपछि प्रहरीले लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । पटुवालाई गोली हानेको मुद्दामा अर्का आरोपी मुन्ना खान भनिने इल्ताफ हुनेस अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए । भारतीय जाली नोट कारोबारबारे विवाद हुँदा लाल मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

लाल मोहम्मदको कनेक्सन भारतीय जाली नोट कारोबारी बाराका इल्ताफ हुसेन अन्सारी र पूर्वमन्त्री स्वर्गीय सलिमिया अन्सारीका छोरा युनुस अन्सारीसँग देखिएको प्रहरी स्रोतको भनाइ छ ।

पूर्वमन्त्री स्वर्गीय सलिमिया अन्सारीका छोरा युनुस भारतीय नक्कली नोटको पटके कारोबारी हुन् । उनी अहिले जगन्नाथदेवल केन्द्रीय कारागारमा छन् । ईल्ताफ २०७७ मान साढे १५ किलो चाँदी र आधाकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । 

पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर भारतमा पठाउने समूहसँग कनेक्सन देखिएपनि लाल मोहम्मद अहिलेसम्म नक्कली नोट कारोबारमा मुछिएका थिएनन् । ‘धेरै पहिले लाल मोहम्मदले नक्कली भारतीय जाली नोट कारोबार गरेको हुनसक्छ’ पछिल्लो घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘पछिल्लो समय जेलबाट छुटेपछि मोहम्मद आपराधिक गतिविधिमा लागेको सुराक हामिलाई थिएन ।’

पुराना हत्याको पुनरावृत्ति

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका लाल मोहम्मदको हत्या पुराना घटनाहरुसँग मिल्दोजुल्दो देखिएको छ ।इस्लामी संघका महासचिव फैजान अहमदलाई २०६८ असोजमा भारतबाट आएका सुटरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो  । २०७५ असोजमा सुनसरीमा रैयाब बोर्डिङ स्कुल संचालक खुर्सिद अन्सारीको हत्या भएको थियो । सो हत्यामा पनि भारतबाट आएका सुटरको हात रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

२०६६ माघ २४ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडि संचार उद्यमी जमिम शाहको हत्या भयो । आतंकवादी गतिविधि र नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा भारतबाट आएका सुटरले हत्या गरेर भागेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । जमिम हत्यामा संलग्न सुटर अझै पक्राउ परेका छैनन् ।

ती घटनासँग लाल मोहम्मदको घटना मिल्दोजुल्दो देखिएको एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।  

राजनीतिक पार्टीको सदस्यता ! 

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनमाथि बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ गोली प्रहार भएको थियो । घटनास्थलमा ३ जना उपस्थित रहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । मोहम्मदको साथबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भेटिएको छ । विप्लवले हस्ताक्षर गरेर जारी गरेको उनको पार्टी सदस्यको परिचय पत्र फेला परेको हो । परिचयपत्रको आधिकारिकता भने पुष्टि हुन सकेको छैन । 

घटना अनुसन्धानमा परिवारले प्रहरीलाई असहयोग गरेका छन् । मोहम्मदले बोक्ने मोबाइल उनका परिवारले प्रहरीलाई दिन अस्वीकार गरेका छन् । प्रहरीले घटनास्थलबाट पेस्तोल भने बरामद गरेको छ । सिसिटिभी फुटेजमा रातो रङको सर्ट र जिन्स पाइन्ट लगाएका युवकले लखेटेर उनलाई अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ। गाडी वरिपरि भागेका मोहम्मदले केहीबेर प्रतिकारको समेत प्रयास गरेका थिए ।  छोरी दोस्रो तलाबाट हाम्फालेपछि सुटर भागेको दृश्य सिसि क्यामरामा कैद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप