मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका ११ महिला स्थायी समिति सदस्यमध्ये ६ जनाको प्रत्यक्षमा चुनाव लड्ने तयारी

प्रचारका लागि काइँला दाइको अटो बुक गरिसकेँ : चापागाई
मङ्गलबार, ०४ असोज २०७९, १३ : ४८
मङ्गलबार, ०४ असोज २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।

पार्टी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसाल पहिलो संविधान सभा २०६४ सालमा ललितपुरबाटै प्रत्यक्ष चुनाव जितेकी थिइन् । दोस्रो संविधान सभा २०७० सालको चुनाव बहिस्कार गरेकाले निर्वाचन लडिनन् । २०७४ सालको चुनावमा क्षेत्र नम्बर तीनबाटै निर्वाचित भएकी थिइन् । आगामी चुनावमा भुसाल ललितपुरकै सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी छिन् ।

यस्तै अर्की स्थायी समिति सदस्य ओन्सरी घर्ती काठमाडौँ क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । २०७४ सालको चुनावमा सोही क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका थिए । नेपाल रौतहटबाट चुनाव लड्ने तयारी गरेकाले घर्तीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी हुन् । रोल्पा गृह जिल्ला भएकी घर्तीलाई चुनाव लड्ने क्षेत्र नभएपछि काठमाडौँ–२ रोजेकी हुन् । ओन्सरी पहिलो संविधान सभा चुनावमा समानुपातिक थिइन् भने दोस्रो संविधान सभा चुनावमा रोल्पाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन् । ओन्सरी सभामुख भई २०७४ सालको चुनावमा समानुपातिक सांसदमा परिन् । ओन्सरी छोटो अवधिका लागि खेलकुद मन्त्रीसमेत भएकी थिइन् ।

त्यस्तै स्थायी समिति सदस्य रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएपछि शर्माले चुनाव लड्ने तयारी गरेकी हुन् । महरा चुनाव नलड्ने भएपछि पोलिटब्यूरो सदस्य निर्मल आचार्य र शर्मा मुख्य दाबेदार हुन् । शर्मा दोस्रो संविधान सभा २०७० साल र २०७४ सालको चुनावमा समानुपातिक सूचीमा समेटिएकी थिइन् । उनी एक पटक सामान्य प्रशासन मन्त्री हुने अवसर पाएकी थिइन् । अब शर्मा पहिलो पटक दाङ क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारी गरेकी हुन् ।

यस्तै स्थायी समिति सदस्य जयपुरी घर्तीले रोल्पाबाटै प्रतिनिधि सभामा चुनाव लड्ने तयारी गरेकी छिन् । प्रतिनिधि सभा चुनावमा लड्न घर्तीको समेतको नाम जिल्लाबाट सिफारिस भइसकेको छ । उनको क्षेत्र उपमहासचिव वर्षमान पुनको क्षेत्र समेत भएकाले उनले टिकट पाउने सम्भावना कम देखिएको छ । यद्यपि घर्तीले प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्न आफ्नो तर्फबाट गृहकार्य जारी राखेकी छिन् ।

अर्की स्थायी समिति सदस्य कमला रोकाले रुकुम पूर्वबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरेकी छिन् । उनको जिल्लाबाट समेत प्रतिनिधि सभा चुनाव लड्न सिफारिस समेत भई सकेको छ । आफू प्रतिनिधि सभा चुनाव लड्न जिल्लाबाट सिफारिस भए पनि पार्टीले कस्तो निर्णय गर्छ भनेर पर्खेर बसेको बताइन् ।

यस्तै स्थायी समिति सदस्य धर्मशीला चापागाई झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । ‘मैले झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छु । चुनाव प्रचार गर्न गाउँकै एक जना काइँला दाइको अटो बुक गरिसकेकी छु’ रातोपाटीसँग कुरा गर्दै चापागाईले भनिन्,‘अटोवाला काइँला दाइले हुन्छ भनिसक्नु भएको छ । उहाँकै अटो चुनावभरी प्रयोग गर्छु ।’ चुनाव निक्कै खर्चिलो भएकाले गाडी प्रयोग नगरेर अटोमा तीन/चार जना राखेर गठबन्धनको झण्डा राखेर प्रचार गर्ने चागापाईले बताइन् । उनले चुनाव खर्च महँगो भएको जिकिर गर्दै प्रत्येक मतदाताबाट १० रुपैयाँ संकलन गर्ने पनि बताइन् । 'मसँग चुनाव लड्न पैसा छैन । सहयाेग मागेरै चुनाव लड्ने सोचेकी छु,’ उनले भनिन् ।

यी नेतृ चुनाव नलड्ने

स्थायी समिति सदस्य एवम् भूमि सुधार मन्त्री शशी श्रेष्ठ चुनाव लड्ने तयारी गरेकी छैनन् । श्रेष्ठ यो पटकको चुनाव लड्ने तयारी नगरेको उनको सचिवालयले जनाएको छ । उनी २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् । यसअघि स्वास्थ्य राज्य मन्त्री मात्रै भएकी थिइन् । 

अर्की स्थायी समिति सत्या पहाडी यो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छैनन् । पेट सम्बन्धी बिरामी भई दिल्लीमा उपचाररत छिन् । पुरानै रोग बल्झिएकाले पहाडी चुनाव लड्ने योजनामा नभएको उनी निकट नेताहरूले बताएका छन् । पहाडी पहिलो संविधान सभा २०६४ सालको चुनावमा डोल्पाबाट प्रत्यक्ष चुनाव जितिन् । लगतै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् । दोस्रो संविधान सभा २०७० सालको चुनावमा डोल्पाबाट पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद भइन् ।

यस्तै स्थायी समिति सदस्य यशोदा सुवेदी समेत प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छैनन् । पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद थिइन् । अब हुने चुनावमा भने सुवेदी चुनाव लड्ने तयारी नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

यस्तै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले चुनाव लड्ने तयारी नभएको बताइन् । ‘मैले प्रदेश र प्रतिनिधि सभा कतै चुनाव लड्ने तयारी गरेको छैन,’ रातोपाटीसँग कुरा गर्दै सुवेदीले भनिन्,‘पार्टीले चुनाव लड्न आग्रह गरेर लड्न पनि सक्छ । नभए तत्काल चुनाव लड्ने कुनै योजना छैन ।’

सुवेदी पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन । दोस्रो संविधान सभा चुनावमा पराजित भएकी थिइन् भने २०७४ सालको चुनावमा समानुपातिक सूचिमा परेर सांसद भएकी थिइन् ।

यस्तै स्थायी समिति सदस्य अमृता थापा मगरले चुनाव लड्ने तयारी नगरेको बताएको छ । थापा मगरले चुनाव लड्न चर्चा समेत गरेकी छैनन् । उनी पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप