शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सेना अझै बंकरमा, सशस्त्रमा विश्वराज प्रवृत्ति !

मङ्गलबार, ११ माघ २०७८, २० : ४२
मङ्गलबार, ११ माघ २०७८

आज २०७८ माघ ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आयोगको दबाब, राष्ट्रियसभाका १९ सदस्यका लागि भोलि मतदान, राष्ट्रियसभाका १९ सदस्यका लागि भोलि मतदान, नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा, थप १२ हजार ८ जनामा कोरोना संक्रमण, ‘आफ्ना’लाई फाइदा हुने गरी सशस्त्र प्रहरी नियमावली संशोधन प्रस्ताव, गैंडाको मृत्युबारे छानबिन गर्न कार्यदल गठन, दाङबाट फरार कैदीलाई पञ्जाब पुगेर ल्यायो प्रहरीले लगायत छन् ।

१. स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आयोगको दबाब

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई ताकिता गरेको छ । आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दायित्व स्मरण गराउँदै आयोगले मंगलबार विज्ञप्तिमार्फत सरकारलाई यथाशीघ्र निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन पर सार्ने योजना बनाइरहेको चर्चा चलिरहेको समयमा आयोगले भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने गरी आफू तयारी अवस्थामा रहेको भन्दै सरकारलाई मिति तोक्न सुझाएको हो ।


२. राष्ट्रियसभाका १९ सदस्यका लागि भोलि मतदान

राष्ट्रियसभाको १९ सदस्यका लागि बुधबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ सीटका लागि निर्वाचन हुन लागेको हो ।


३. नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा 

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा परेको छ । १८० मुलुक समेटिएको उक्त प्रतिवेदनमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको उल्लेख छ ।


४. थप १२ हजार ८ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २५ हजार ९०९ जनामा गरिएको परीक्षणबाट करिब ५० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् ।


५. सिटामोलको अभाव हुन नदिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सिटामोल औषधिको अभाव हुन नदिन र नागरिकमा सहज उपलब्ध हुने वातावरण बनाउन संघ सरकार र सातै प्रदेशका सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 


६. ‘आफ्ना’लाई फाइदा हुने गरी सशस्त्र प्रहरी नियमावली संशोधन प्रस्ताव

आफ्नो अनुकुलका व्यक्तिलाई महानिरीक्षक बनाउन तथा कतिपय आफ्ना भनिएकालाई अवकाशपछि धेरै सुविधा उपलब्ध गराउन सशस्त्र प्रहरी नियमावली संशोधनका लागि प्रक्रिया थालिएको छ । संशोधनका लागि प्रस्तावित नियमावलीमा यसअघि एसएसपीमा बढुवा हुन ४ वर्ष सेवा गरेको हुनुपर्ने नियमलाई हटाएर अब एसएसपीमा बढुवा हुनका लागि ३ वर्ष सेवा गरेको भए पनि योग्य मानिने व्यवस्था गर्न लागिएको छ । 


७. गैंडाको मृत्युबारे छानबिन गर्न कार्यदल गठन

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ । मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको हो ।


८. नेप्सेमा गिरावट कायमै

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट कायमै रहेको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो ।


९. दाङबाट फरार कैदीलाई पञ्जाब पुगेर ल्यायो प्रहरीले

गत पुस ८ गते दाङको घोराहीबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी यामराज परियारलाई दाङ प्रहरीले ३२ दिनको अथक प्रयासपछि भारतको पञ्जाबमा पुगेर पक्राउ गरी नेपाल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल नेतृत्वको ५ सदस्यीय टोलीले फरार कैदी यामराज परियारलाई भारतको पञ्जाब राज्यमा पर्ने लुधियानाबाट पक्राउ गरी ल्याएको हो ।


१०. नेपाली सेना अझै बंकरमा

माओवादी जनयुद्धका क्रममा देशका विभिन्न भागमा बंकर बनाएर तैनाथ नेपाली सेना अझै बंकरबाट बाहिरिन सकेको छैन । युद्धका क्रममा टेण्ट, टहरा, सुरुङ र स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका ‘बंकर’ विस्थापन गर्ने कार्यक्रम लागु गरिए पनि अझै विस्थापित हुन सकेको छैन ।


११. र यो पनि,

बारामा विवाहको रथले किचेर दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।


चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेल छानबिनमा तानिएका छन् । उनलाई ललितपुर शाखाको जिम्मेवारीबाट हटाएर बानेश्वरस्थित महाशाखामा सरुवा गरेर छानबिन थालिएको हो ।


भारतले लगातार नेपालप्रति ‘हेपाहा प्रवृत्ति’ देखाइरहँदा नेपाल सरकारले ‘आत्मसमर्पणवादी नीति’ लिएको भन्दै सत्तारुढ गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप