बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ‘आत्मसमर्पणवादी नीति’ को विरोध

मङ्गलबार, ११ माघ २०७८, १५ : ४८
मङ्गलबार, ११ माघ २०७८

भारतले लगातार नेपालप्रति ‘हेपाहा प्रवृत्ति’ देखाइरहँदा नेपाल सरकारले ‘आत्मसमर्पणवादी नीति’ लिएको भन्दै सत्तारुढ गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गापारी महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले एक पक्षीय रुपमा तटबन्ध निर्माण गरिरहेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको हो ।

अन्तर्राष्ट्रिय सीमाक्षेत्र नदीमा भारतले तटबन्धको निर्माण कार्य सुरु गर्नुभन्दा अगाडि निर्माणसँग जोडिएका सम्पूर्ण विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने वा जानकारी दिनुपर्नेतर्फ पनि सो पार्टीले ध्यानाकर्षण गराएको छ । ‘सो विवरणको आधारमा भारतले निर्माण गर्न थालेको संरचनाले नेपाललाई के कस्तो असर पर्ने वा नपर्ने हो ? त्यसको निर्क्योल भएपछि नेपालले दिने सहमतिका आधारमा मात्र भारतले त्यो निर्माण कार्य अगाडि बढाउन सक्दछ,’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र महाकाली नदीमा नेपाल तथा भारतले आफ्नो भू–भाग भित्र कुनै भौतिक संरचना निर्माण गर्नु परेमा एकअर्काको मुलुकको सहमति लिनुपर्नेमा अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिइ एकलौटी ढंगबाट संरचना निर्माण कार्य अगाडि बढाएर भारतले अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको ठहर पनि सो पार्टीले गरेको छ ।

‘भारतको हेपाहा प्रवृत्ति’ भन्दै राष्ट्रिय जनमोर्चाले उक्त तटबन्ध निर्माण कार्यलाई तत्काल रोक्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।

भारतले दशकौँदेखि दार्चुलाको कालापानीमा भारतीय सेना तैनाथ गरेको, लिपुलेकस्थित नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण र विस्तार गरिरहेको, दार्चुलाको मालघाट पारी तुइन तरिरहेका बेला भारतीय पक्षबाट नेपाली युवा जयसिंह धामीको हत्या गरिएको, दार्चुलास्थित नेपाली आकाशमा भारतले अनधिकृत तवरबाट हेलिकोप्टर उडाउने काम गरेको स्मरण गराउँदै सो पार्टीले अहिले आएर नेपालको सहमतिबिना तटबन्ध निर्माणको कार्यलाई भारतले अगाडि बढाएको भन्दै आपत्ति जनाएको हो ।

‘यसरी सिलसिलेवार रुपमा भारतले नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दै आएको छ । तर नेपाल सरकारले यी विषयमा दृढतापूर्वक भारतसँग कुराकानी राख्न नसकेकोप्रति पनि हाम्रो दलले सरकारको आत्मसमर्पणवादी नीतिको कडा विरोध गर्दछ,’ राष्ट्रिय जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतले एकलौटी ढंगबाट सुरु गरेको तटबन्ध निर्माण कार्यले नेपाल तर्फ वर्षायाममा हुनसक्ने सम्भावित क्षतिलाई ध्यानमा राखेर सरकारले भारतीय पक्षसँग दृढतापूर्वक प्रस्तुत हुन तथा अविलम्ब तटबन्ध निर्माण कार्य रोक्न पहल गर्नु पर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप