बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनालाई अझै पनि बंकरमा रात कटाउने बाध्यता

‘बंकर टु ब्यारेक’ कार्यक्रमः २ हजार ३९४ ब्यारेक बन्ने प्रक्रियामा
मङ्गलबार, ११ माघ २०७८, १३ : १८
मङ्गलबार, ११ माघ २०७८

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्ष नाघिसक्यो । तर, माओवादीसँग युद्ध लड्न फौज थप गरेर बंकरमा बस्न थालेको सेना अझै बंकरबाट बाहिरिन सकेको छैन । द्वन्द्वको समयमा सुरक्षित रुपमा बस्नका लागि प्रयोग गरिएका बंकर अझै विस्थापित हुन सकेका छैनन् ।

युद्धमा प्रयोग गरिएका टेण्ट, टहरा, सुरुङ र स्थानीय कच्चा पदार्थ प्रयोग गरी ‘बंकर’को नाम दिई सुरक्षित बनाइएको थियो । त्यसलाई विस्थापन गर्ने कार्यक्रम लागु गरिए पनि बंकर अझै विस्थापित हुन सकेको छैन । ती संरचना विस्थापित नहुँदा अझै पनि सैनिकहरु बंकरमै रात कटाउन बाध्य छन् । 

रक्षा मन्त्रालयबाट प्राप्त विवरणअनुसार यस वर्ष ९३ वटा ब्यारेक बन्दैछ । त्यसका लागि २ अर्ब ३३ करोड बजेट निकासा गरिएको छ । आर्थिक वर्ष २०७८–०७९ मा निर्माणाधीन ९६ वटा संरचना बाहेक २ हजार ३९४ संरचना नेपाली सेनाका लागि आवश्यक छ । यसका लागि आवश्यक संरचना बन्ने प्रक्रियामा रहेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाल रातोपाटीलाई बताउँछन् । उनका अनुसार यस वर्ष बन्दै गरेका ९३ संरचनामध्ये ६ वटा परिमार्जन गर्नुपर्ने अवस्थामा छन् । 

२०६७ मा संसद्को राज्य व्यवस्था समितिले सवै सैनिक कर्मचारीका लागि सुरक्षित बासस्थान निर्माण गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि अघि बढेको थियो–‘बंकर टु ब्यारेक कार्यक्रम ।’ राज्य व्यवस्था समितिका सांसदहरुले बंकरको स्थलगत अध्ययन गरेर मानवीय आवश्यकता पुरा हुने संरचना सहितको ब्यारेक बनाउनुपर्ने रिपोर्ट समितिलाई दिएका थिए । त्यसबेला ५ हजार ८५० संरचना आवश्यक रहेको आङ्कलन गरिएको थियो । रक्षा मन्त्रालयबाट प्राप्त विवरण अनुसार ती मध्ये अहिलेसम्म ३ हजार ३ सय ६६ संरचना निर्माण भएका छन् । ‘बंकर टु ब्यारेक’ कार्यक्रम अन्तर्गत अब, २ हजार ३ सय ९४ वटा संरचना बन्न बाँकी छ । संरचना निर्माणका लागि सरकारले बर्षेनी एक अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई निकासा दिने गरेको छ । 

बंकरमा बस्ने सैनिकको रेकर्ड छैन 

योजना आयोगको पञ्चवर्षीय योजना नतिजा खाकाअनुसार यस वर्ष १५० वटा संरचना बन्नुपर्ने थियो । तर, यस वर्ष १०६ वटा मात्रै बन्ने प्रक्रियामा छन् । बजेट थोरै भएर कम संरचना निर्माण भएको रक्षा मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । राष्ट्रिय योजना आयोगको योजना अनुसार आर्थिक वर्ष २०७८–०७८ मा १८० वटा संरचना बनाउनुपर्छ । आर्थिक वर्ष २०८०–०८१ मा २ सय संरचना बनाउने योजना छ । 

२ हजार ३९४ संरचना नेपाली सेनाका लागि आवश्यक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।  तर, कति सैनिक अहिले बंकरमा छन् भन्ने यकिन तथ्याङ्क नेपाली सेना र रक्षा मन्त्रालयसँग छैन । बंकरमा बस्ने सैनिकको सङ्ख्याबारे सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाल भन्छन्–‘यो तथ्याङ्क अहिले मसँग भएन ।’ 

न्यूनतम सुविधा सम्पन्न ब्यारेक बाहिर कति सैनिक छन् भन्ने यकिन तथ्याङ्क सेनाले सङ्कलन नै गरेको छैन । तयार हुन बाँकी रहेका २ हजार ३९४ संरचनाका लागि बजेट बिनियोजन पनि नभएको रक्षा मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

सैनिक जवान र अधिकृत राम्रोसँग सुत्न सकुन् भनेर सुरु गरिएको ‘बंकर टु ब्यारेक’ कार्यक्रमका लाई बजेटको अभाव रहेको रक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् । सेनाले सँधै बजेट माग्ने गरेको छ, तर भने जति बजेट बिनियोजन भएको छैन् । 

माओवादी युद्ध सुरु हुनुअघि ४५ हजार जनशक्ति रहेको सेनामा २०६२–०६३ सम्म पुग्दा करिब ५५ हजार सैनिक थपिएका थिए । तर, सोही अनुपातमा भौतिक पूर्वाधार निर्माण नहुँदा सैनिकहरु अस्थायी संरचनामा बस्न बाध्य छन् । 

अहिलेको जाडो याममा पनि सैनिक जवान कष्टकटर जीवन बिताउन बाध्य छन् । २०६९ मा डोल्पाको समतपुर गुल्ममा कार्यरत जवान मित्रलाल गुरुङको बंकरमा पुरिएर मृत्यु भएको थियो । ‘बंकर टु ब्यारेक’ कार्यक्रम पुरा नहुँदा यस्ता घटना दोहोरिई रहने सैनिक अधिकारीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप