बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : १.९४ प्रतिशत जनसङ्ख्या सङ्क्रमित

एक महिनामै १४० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण
मङ्गलबार, ११ माघ २०७८, १० : ४१
मङ्गलबार, ११ माघ २०७८

कर्णाली प्रदेशमा २०७७ साल जेठ ५ गते पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैलेखको आठबीस नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो लहर न्यून हुँदासम्म कोरोनाका कारण प्रदेशभर ३१ जनाले ज्यान गुमाए । यता दोस्रो लहरमा भने ३८८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो प्रदेशको कुल जनसङ्ख्याको ०.०२ प्रतिशत हो । 

कर्णाली प्रदेशमा अनुमानित जनसङ्ख्या १८ लाख २४ हजार १३१ रहेको छ । हालसम्मको अवधिमा ३५ हजार ३९७ मानिसहरू कोरोनाको चपेटामा परिसकेका छन् । जुन प्रदेशको कुल जनसङ्ख्याको १.९४ प्रतिशत हुन आउँछ ।कोरोना भाइरसको तेस्रो लहर पनि सुरु भइसकेको छ । पछिल्लो साढे एक महिनाको तथ्याङ्कलाई हेर्ने हो भने भने एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । तेस्रो लहरमा हालसम्म कोरोना सङ्क्रमणका कारण कसैले ज्यान भने गुमाएका छैनन् ।

हाल १ हजार ३०१ जना कोरोना सङ्क्रमितहरू विभिन्न स्वास्थ्य संस्थाका आइसोलेसन र होमआइसोलेशनमा बसिरहेका छन् । ओमिक्रोन भेरियन्टको प्रभावले पछिल्लो समय दैनिक सयौँको मात्रामा कोरोना सङ्क्रमितहरू थपिने क्रम जारी छ । 

३८ दिनमा १४० जना स्वास्थ्यकर्मीमा कोरोना 

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार पुस दोस्रो सातादेखि हालसम्म कर्णालीमा १४० जना स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमणबाट प्रभावित बनेका छन् ।

कोरोना सङ्क्रमितको उपचारमै खटिने स्वास्थ्यकर्मी नै सङ्क्रमित हुँदा कोरोना कोरोना रोकथाम र प्रतिकार्यमा जटिलता थपिएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालका मात्रै ५० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै ५६ जना स्वास्थ्य कार्यकर्ताहरूमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसपछि ४२ जना नर्स, १२ जना हेल्पर, एचए ४ जना, डाक्टर ४, कम्प्युटर असिस्टेन्ट २ जना, ल्याब टेक्निसिएन् ५, एक जना सवारी चालक लगायत रहेका छन् । 

फ्रन्टलाईनरहरुको अवस्था

निर्देशनालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट प्रदेशमा हालसम्म २३९४ जना फ्रन्टलाइनरहरु प्रभावित बनेका छन् ।

दोस्रो लहर गत वैशाखदेखि असोज महिनाको अवधिसम्म १४४ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बनेका थिए । यस्तै  कृषिका २४४ जनामा सङ्क्रमण देखिएको थियो । 

त्यसअघिसम्म २३८ जनामा सङ्क्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म फ्रन्टलाइनमा रहेर काम गर्ने २७० जना प्रहरी, ३६६ जना सरकारी कर्मचारी, ११९ जना बैंकर, २०५ जना व्यवसायी ४ जना सेक्रेटरी गार्डहरू, १७ जना पत्रकार लगायत रहेका छन् ।  

युवा बढी प्रभावित 

प्रदेश स्वास्थ्य निर्देशनालयले माघ ४ गतेसम्मको कोरोना सङ्क्रमितको तथ्याङ्कलाई उमेर समूहका आधारमा छुट्याएको छ। उक्त, तथ्याङ्क हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका युवाहरू कोरोना सङ्क्रमणको चोपेटामा परेका छन् । 

यस्तै ३६ देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत रहेका छन् । ४१ देखि ५९ वर्ष उमेर समूहका १२ प्रतिशत ५१ देखि ६० वर्षका ६ र त्यसभन्दा माथिका ३ प्रतिशत रहेका छन् ।

यस्तै ० देखि १० वर्ष उमेर समूहका ४ र ११ देखि २० वर्ष उमेर समूहका १४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप