बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अपरेसन ‘याङ्की’ : पञ्जाब पुगेका फरार कैदी याम परियारलाई यसरी समात्यो प्रहरीले

‘ट्रेसिङ’को डरले फेरेका थिए १० वटा सिमकार्ड
मङ्गलबार, ११ माघ २०७८, १४ : २४
मङ्गलबार, ११ माघ २०७८

गएको पुस ८ गते दाङको घोराहीको फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी यामराज परियारलाई दाङ प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ । ३२ दिनको अथक प्रयासपछि फरार कैदी यामराजलाई भारतीय भूमिबाट नेपाल ल्याउन दाङ प्रहरी सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल नेतृत्वको ५ सदस्यीय टोलीले फरार कैदी यामराज परियारलाई भारतको पञ्जाब राज्यमा पर्ने लुधियानाबाट पक्राउ गरी सोमबार दाङमा सार्वजनिक गरिएको छ ।

यस्तो थियो घटना
आफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका कैदी थिए, यामराज परियार । साबिकको सतबरिया गाविस ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग यामराजको प्रेम थियो । परियारसँगको यौन सम्बन्धपछि हेमा गर्भवती बनेकी थिइन् । गर्भवती भएकै समयमा हेमा २०७१ जेठ २२ गते घरबाट गायब भइन् । लामो अनुसन्धानपछि प्रहरीले २०७१ साल साउन ४ गते यामराजलाई पक्राउ गरेको थियो ।  यौन सम्बन्धपछि गर्भवती बनेकी प्रेमिकाले परियारलाई विवाह गर्न दबाब दिएपछि उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यामराजको पक्राउ लगत्तै उनले घटनामा आफ्नो संलग्नता रहेको र हेमालाई जङ्गलमा मारेर फालेको बताएका थिए । यामराजले अर्का एकजना सहयोगीको साथमा आफ्नै मोटरसाइकलमा राखेर हेमालाई सतबरिया ९ मा रहेको सिमपाखापानी जङ्गलमा हत्या गरेका थिए । प्रहरीसँग साबिती बयान दिएपछि प्रहरीसहितको टोली घटनास्थलमा गएर हेर्दा मानव अवशेष फेला परेको थियो । त्यस लगत्तै प्रहरीले सरकारी वकिलमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

दाङ जिल्ला अदालतले यामराज परियारलाई जन्मकैद अर्थात् तत्कालीन समयको कानुन अनुसार २० वर्षको कैद सजाय सुनाएको थियो । त्यसपछि उनी कारागारमै कैदी जीवन बिताइरहेका थिए ।

जेल बसेको ७ वर्षभन्दा लामो समय भइसकेको र चालचलन पनि राम्रो भएको भन्दै उनी कारागारका नाइके बनेका थिए । नाइके भएपछि उनले बजार जाने आउने, सरसामान किन्न जाने लगायतका सुविधा पाउँथे । त्योबाहेक उनलाई जेल प्रशासनले निजी मोबाइल राख्ने अनुमति समेत दिएको दाबी गरिएको छ । नाइके भएका कारण परियारले जेलर लगायतको मन जितेका थिए र राम्रो चालचलन भएको व्यक्ति भन्दै उनीमाथि खासै निगरानी पनि गरेको थिएन ।

गएको पुस ८ गते यामराज छालासम्बन्धी रोग लागेको भन्दै जँचाउन जाने भन्दै जेलरलाई भेटे । बिदामा बसेका जेलर युवराज परियारले अनुमति पनि दिए । त्यसपछि छाला जँचाउन भन्दै प्रहरी जवान धन बहादुर चौधरीका साथ कैदी यामराज परियार पुस ८ गते बिहान ११ बजे कारागारबाट बाहिरिए । चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर कैदी यामराजलाई अस्पतालतर्फ लगेका थिए । तर अस्पताल जाने भनेका परियार र चौधरी अस्पताल नगई पहिले एक होटलमा पुगे । घोराहीकै एक होटलमा अन्य दुई जना युवती रहेको र उनीहरूसँग यौन सम्पर्क गरेर अस्पताल जाने भन्दै प्रहरी जवान चौधरीलाई परियारले फकाएका थिए ।

युवतीसँग यौनसम्बन्ध राख्ने भनेपछि प्रहरी जवान चौधरीले पनि परियारको योजनामा साथ दिएका थिए । हतकडी नलगाई बाहिर लगिएका परियार र प्रहरी जवान चौधरी होटलमा पुग्दा त्यहाँ पहिले नै दुई जना युवतीहरू कुरेर बसिरहेका हुन्छन् । त्यहाँ खानपिन गरी केही समय कुराकानी पनि हुन्छ । त्यसपछि उनीहरू  खाजा खाएको स्थानबाट बाहिरिएर घोराहीको वीपी चोक नजिकैको एक होटलमा जान्छन् । कैदी याम परियारले एक युवती र प्रहरी जवान चौधरीले अर्की युवती लिएर होटलको रुममा पुग्छन् । दुवै युवतीलाई करिब ५ हजारको दरले रकम दिइएको प्रहरीको दाबी छ । दुवै रकम यामराजले नै तिरेका थिए ।

होटलमा कोठामा पस्नुअघि नै कैदी यामराजले प्रहरी जवानको मोटरसाइकलको साँचो लिएका थिए । उनले साँचो कसरी लिए भन्ने विषयमा अनुसन्धानपछि नै खुल्ने प्रहरीले जनाएको छ । प्रहरी जवान चौधरी युवतीसँग यौनक्रिडामै रहेको समयमा कैदी यामराजले बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीकै मोटरसाइकल लिएर फरार बनेका थिए ।  मोटरसाइकल पछि लमहीको बेलदमार जङ्गलमा फेला परेको थियो ।

सो घटनामा संलग्न भन्दै प्रहरीले प्रहरीकै सई, हवल्दार र जवान, दुई जना युवती र एक बिचौलियालाई पक्राउ गरेको थियो । मिलोमतोको आशङ्कामा कारागारका जेलर युवराज परियारलाई पनि पक्राउ गरिएको थियो । तर कारागार व्यवस्थापन विभागले मुद्दा दर्ता गर्न अनुमति नदिएपछि उनी साधारण तारेखमा छुटेका थिए । युवती लगायतका केही व्यक्तिलाई भने पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

अनि सुरु भयो अपरेसन ‘याङ्की’

डिएसपी मुकुन्द रिजाल​

कारागारमा कैदी जीवन बिताइरहेका एक व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर फरार भएपछि दाङ प्रहरीको सुरक्षा सतर्कताका सम्बन्धमा व्यापक आलोचना भयो । त्यस लगत्तै दाङ प्रहरीले डिएसपी मुकुन्द रिजालको नेतृत्वमा छानबिन समिति र फरारको खोजी सुरु गर्न समिति नै बनायो । समितिको पहिलो चरणमा कैदी कसरी फरार भए र त्यसमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता रहेको भन्दै अनुसन्धान गरी केही व्यक्तिविरुद्ध मुद्दा समेत दर्ता गरायो ।

दोस्रो र महत्त्वपूर्ण जिम्मेवारी भनेको फरार कैदीलाई नेपाल ल्याउनु थियो । त्यसका लागि दाङ प्रहरीले अपरेसन यामराज अर्थात् अपरेसन याङ्की सुरु गर्‍यो । नाटो फोनेटिक कोडमा ‘वाई’ लाई याङ्की भनिन्छ । वाईबाटै नाम आउने यामराजका खोजीका लागि प्रहरीले अपरेसन याङ्की सुरु गरेको थियो ।

प्रहरीले यामराजलाई खोजी गरे पनि उनी नेपालबाट फरार भएको चौथो दिनमै नयाँ दिल्ली पुगिसकेका थिए । त्यस लगत्तै उनी त्यहाँबाट पनि पञ्जाब गएका थिए । केही साथीहरूको सहयोग लिएर दिल्लीबाट यामराज पञ्जाब पुगेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताएका छन् ।

यामराजको खोजीमा जुटेको प्रहरीले प्राविधिक विश्लेषणका आधारमा उनी पञ्जाबमा रहेको पत्ता लाग्यो । उनको मोबाइल नम्बर, कल डिटेल्स, लोकेसन सबै पाएपछि प्रहरी पञ्जाब पुगेरै ल्याउने योजनामा लाग्यो ।

तर नेपाल र भारतबीच सुपुर्दगी सन्धी नभएको कारण पञ्जाबबाट यामराजलाई पक्राउ गरी नेपाल ल्याउन त्यति सहज थिएन । तर प्रहरी सकेसम्म सहज ढङ्गबाट र सम्भव नभए पञ्जाबबाटै उठाएर ल्याउने तयारीमा पुग्यो । प्रहरीले इन्टरपोलमार्फत् भारतीय प्रहरीसँग समन्वय त गर्‍यो तर यामराजलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन भारतीय प्रहरी तयार भएन । पञ्जाबदेखि कुनै व्यक्तिलाई अपहरणको शैलीमा नेपाल ल्याउन त्यति सहज पनि थिएन । र, प्रहरीलाई शङ्कित व्यक्ति यामराज नै हो भन्ने यकिनसमेत थिएन ।

नेपालको कारागारमा हुँदा दाह्री र कपाल काटेका यामराजले पञ्जाबमा पुगेपछि आफ्नो गेटअप (हुलिया) नै बदलेका थिए । छोटो कपाल, फ्रेञ्च कट दाह्री काटेको व्यक्ति यामराज नै हो भनेर छुट्टाउन प्रहरीलाई समेत कठिन थियो । यद्यपि प्रहरीसँग यामराजको हालसालै खिचिएको फोटो थियो । त्यही फोटोका आधारमा प्रहरी शंकितसम्म पुगेको थियो ।

पञ्जाबमा रहेको प्रहरीको ‘खबरी’ले उनी यामराज नै हो भन्ने यकिन गरेपछि गएको माघ ६ गते अपरेसन याङ्कीका कमाण्डर डिएसपी मुकुन्द रिजालसहितको ५ जनाको टोली पञ्जाबको लुधियानातर्फ लाग्यो । रिजालसँगै एक इन्सपेक्टर, एक हवल्दार र दुई जना प्रहरी जवानको टोली पञ्जाबतर्फ लागेको थियो ।

माघ ८ गते राती प्रहरी टोली पञ्जाबको लुधियाना पुग्यो र शंकित रहेको घरमा पुग्यो । मध्यरातमा पुगेको प्रहरीसँग अनुहार र फोटोबाहेक अन्य केही पहिचानका आधार पनि थिए । तीमध्ये दायाँ हात र छातीमा टाटु बनाएको कुरा प्रहरीलाई थाहा थियो । जब प्रहरीले शङ्कितको कपडा खोलेर हेरे, उनी फरार कैदी यामराज नै रहेको पुष्टि गरे । सुरुमा यामराजले आफू अर्कै व्यक्ति भएको जस्तो व्यवहार देखाए पनि केरकारपछि आफू यामराज नै रहेको उनले स्वीकार गरे । मध्यरातमा पुगेको प्रहरीले त्यस लगत्तै यामराजलाई नियन्त्रणमा लियो र माघ १० गते अपराह्न दाङ ल्याइपुरायो । त्यस लगत्तै दाङ प्रहरीको अपरेसन याङ्की सफल भयो ।

यामराजले फेरे १० वटा सिमकार्ड

फरार कैदी यामराजको खोजीमा जुटेको प्रहरीका अनुसार यामराज धेरै चलाखी गरेर नेपालबाट भारत हुँदै पञ्जाब पुगेका थिए । पञ्जाब पुगिसकेपछि पनि आफ्नो पहिचान नखेलोस् र प्रहरीले ट्रेसिङका आधारमा पक्राउ गर्न नसकोस् भनेर एक महिनाकै बीचमा १० वटा सिमकार्ड फेरेको पाइएको छ ।

दाङ प्रहरीका अनुसार पहिले पनि कर्तव्य ज्यानजस्तो गम्भीर अपराध गरेको यामराज धेरै चलाख अपराधी थियो । त्यही चलाखीका आधारमा जसलाई जे भन्दा आफूलाई सहज हुन्थ्यो, त्यही भनेर फकाउने वा मनाउने गर्थ्यो । यामराजले विभिन्न बहाना बनाएर जेलरको मन जितेको, प्रहरीलाई युवती र आर्थिक प्रलोभन देखाएको र जेलभित्रकै कैदीबन्दीलाई पनि विभिन्न प्रलोभन देखाएर फकाउने र आर्थिक संकलन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पुस ८ गते घोराहीबाट भागेका कैदी यामराज पुस ११ गते मात्रै भारत छिरेको पाइएको छ । प्रहरीका अनुसार पुस ८ गते रातभर नै यामराज राप्तीको जङ्गलमा लुकेर बसेका थिए । त्यसपछि अर्को रात उनी पैदल नै हिँडेर जङ्गलको बाटो हुँदै अगाडि बढेका थिए । रातको समयमा मात्रै हिँडेका यामराज दाङकै खाङ्ग्री बोर्डर नजिकैबाट पुस ११ गते भारत छिरेका थिए । त्यहाँबाट दिल्ली हुँदै उनी पञ्जाबसम्म पुगेका थिए ।

उनी पञ्जाबमा रहेको पूर्ण सूचना पाएपछि माघ ६ गते हिँडेको प्रहरी ४ रात नसुती काममा खटिएको र माघ १० गते अपराह्न यामराजलाई नेपाल ल्याउन सफल भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका कैदी यामराज परियारलाई अब थप सजाय हुनेछ ।

परियारको कैद सजाय र अपराध कसुर अनुसार अब उनलाई थप सजायको लागि सम्बन्धित कारागारका जेलरले अदालतमा थप सजायका लागि अर्को मुद्दा लैजानुपर्नेछ । कारागार ऐन, २०१९ को दफा २४ को उपदफा ३ मा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी सजाय हुनेछ भन्ने उल्लेख छ । तत्कालीन समयको कानुन अनुसार जन्म कैद अर्थात् २० वर्ष कैद सजाय सुनाइएका परियारले हालसम्म ७ वर्ष ५ महिना मात्रै कैद सजाय भुक्तान गरेका छन् । उनले अझै १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्नुपर्ने थियो ।

अब जेलबाट भागेर पुन पक्राउ परेकाले परियारमाथि थप ६ वर्ष ३ महिना कैद सजायको माग दाबी गर्दै अदालतमा अर्को मुद्दा लगिनेछ । अनुसन्धानको क्रममा सरकारी कर्मचारी वा अन्यले कैदी भगाउन सहयोग गरेको पुष्टि भएमा उनीहरूलाई पनि कैदको सजाय हुने कारागार ऐनमा उल्लेख छ ।

(दाङबाट पत्रकार निशान भट्टराईको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप