रातोपाटी ब्रिफिङ : चार वर्षमा दुई दर्जन प्रदेश प्रमुख, विवादमा राजनीतिक संयन्त्र (भिडियो समाचार)
आज २०७८ कार्तिक २३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
१. प्रदेश १, कर्णाली र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति गरेकी छिन् । जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भएका छन् । उनीहरुलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चार वर्षमै २४ प्रदेश प्रमुख फेरिए (सूचीसहित) |
२. विवादमा राजनीतिक संयन्त्र
सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । यस्तो संयन्त्र असंवैधानिक हुने एमालेको आरोप छ । सोमबार सत्तारुढ गठबन्धनको बैठकले ५ दल सम्मिलत ११ सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । जसमा सत्ता गठबन्धनका प्रत्येक दलबाट २ जना र एक जना मन्त्री रहने गरी ११ सदस्य हुने बताइएको छ । समितिको संयोजकमा काँग्रेस नेता रामचन्द्र पौडेल छन् ।
३. ब्याज अनुदानमै सवा ९ अर्ब स्वाहा
चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म राज्यकोषबाट सहुलियतपूर्ण कर्जा लिनेको संख्या एक लाख २९ हजार ६८० पुगेको छ । यी ऋणीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट हालसम्म २ खर्ब ३१ अर्ब भन्दा बढी सहुलियपूर्ण कर्जा लगेका हुन् । सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधनसहित) मा भएको व्यवस्थाअनुसार असोज मसान्तसम्म विभिन्न १० शीर्षकमा एक लाख २९ हजार ६८० ऋणीले कुल २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो । केन्द्रीय बैंकका अनुसार एक हजार ८९० ठूला कम्पनीहरूले एक करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लगेका छन् । यी ऋणीहरूले हालसम्म ५५ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लगेका हुन् ।
४. राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । त्यस्तै पार्टीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।
५. प्रधानसेनापति भारतमा
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो ।
६. मोरङ कारागारमा झडप
मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जनालाई जेल सरुवा गरिएको छ । कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि ५ जनालाई सुनसरीको झुम्का र ९ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो । निमित्त जेलर रामप्रसाद पोखरेलले मंगलबारको झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइ नाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको बताए ।
७. ललितपुरको मुटुमा कसरी भयो घटना ?
कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो । अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो । आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो । ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उनका परिवारका चार जनाले दुःखद ज्यान गुमाए । पोस्टमार्टम रिपोर्टअनुसार चारैजनाको जलेर मृत्यु भएको हो ।
८. विद्युतीय सामग्री आयात र प्रयोग बढ्यो
नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको छ । हाल नेपालमा १७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ । विद्युत खपत क्षमता भने १३ सयदेखि १४ सय मेगावाट आसपास हो । यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युतीय व्यवसायी महासंघले अनुसार लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र उपभोग बढेको बताएको छ ।
९. नेप्सेमा ७९ अंकको पहिरो
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।
१०. ५३३ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)