आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ कारागारमा झडप प्रकरण : १४ जनाको सरुवा

मङ्गलबार, २३ कात्तिक २०७८, १७ : २८
मङ्गलबार, २३ कात्तिक २०७८

मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जनालाई जेल सरुवा गरिएको छ । कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि ५ जनालाई सुनसरीको झुम्का र ९ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो । 

निमित्त जेलर रामप्रसाद पोखरेलले मंगलबारको झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइ नाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको बताए ।
 
कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु राईलाई झापा जिल्ला कारागार पठाइएको जेलर पोखरेलले जानकारी दिए । 

चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको पोखरेलले जानकारी दिए ।

 कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन् । चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए । त्यसै विषयमा विवाद हुँदा दुई पक्षबीच मंगलबार झडप भएको थियो । 
निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलित भएका थिए ।
 मोरङ कारागारमा ८९७ जना कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप