सहुलियतपूर्ण कर्जाका नाममा राज्यकोष दोहन : ब्याज अनुदानमै सवा ९ अर्ब स्वाहा !
चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म राज्यकोषबाट सहुलियतपूर्ण कर्जा लिनेको संख्या एक लाख २९ हजार ६८० पुगेको छ । यी ऋणीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट हालसम्म २ खर्ब ३१ अर्ब भन्दा बढी सहुलियपूर्ण कर्जा लगेका हुन् ।
सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधनसहित) मा भएको व्यवस्थाअनुसार असोज मसान्तसम्म विभिन्न १० शीर्षकमा एक लाख २९ हजार ६८० ऋणीले कुल २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार एक हजार ८९० ठूला कम्पनीहरूले एक करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लगेका छन् । यी ऋणीहरूले हालसम्म ५५ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लगेका हुन् ।
कुन शीर्षकमा कति कर्जा प्रवाह ?
राष्ट्र बैंकका अनुसार बिना धितो असार मसान्तसम्म ५ हजार ९९६ ऋणीले ३ अर्ब ६२ करोड १४ लाख रुपैयाँ लगेका छन् भने धितोसहितको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीषकमा अधिकतम ५३ हजार ७८५ ऋणीले कुल एक खर्ब ४९ अर्ब ३१ करोड ८५ लाख २१ हजार रुपैयाँ कर्जा उपभोग गरेका छन् ।
यस्तै, शिक्षित युवा स्वरोजगार कर्जा शीर्षकमा १४८ ऋणीहरूले ७ करोड ७८ लाख ४३ हजार, विदेशबाट फर्केका युवा परियोजना कर्जामा ९२८ ऋणीले ७६ करोड ४२ लाख ४९ हजार, महिला उद्यमशील कर्जामा ७३ हजार ७८ ऋणीले ७६ अर्ब २८ करोड ३७ लाख ९३ हजार, दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा एक हजार ७४ ऋणीले ७३ करोड ९४ लाख ६२ हजार रुपैयाँ लगेको बैंकले जनाएको छ ।
यसैगरी उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा शीर्षकमा १३८ ऋणीले ४ करोड ५८ लाख २६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लगेका छन् । भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा असार मसान्तसम्म कुल २२८ ऋणीले ७ करोड ५५ लाख ८० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लगेका छन् ।
सो अवधिमा कपडा उद्योग सञ्चालनको लागि २८२ ऋणीले ४ अर्ब ११ करोड ९६ लाख ९१ हजार रुपैयाँ र प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थानबाट प्रदान गरिने तालिमका लागि दुई जना ऋणीलाई ४ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रदान गरिएको बैंकले जनाएको छ ।
यता, युवा वर्ग स्वरोजगार कर्जातर्फ भने जम्मा १७ ऋणीले ८३ लाख रुपैयाँ लगेको बैंकले जानकारी दिएको छ । यी सबै शीर्षकमा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएकोमा हाल एक खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार रुपैयाँ कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जा तथ्याङ्क :
रकम हजार (०००) मा

स्रोत : नेपाल राष्ट्र बैंक
ब्याज अनुदानमै सवाँ ९ अर्ब खर्च !
राष्ट्र बैंकका अनुसार हालसम्म जारी सहुलियतपूर्ण कर्जामा राज्य कोषबाट ९ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका १० वटा शीर्षकमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट वितरण भएको कुल कर्जामा राज्यकोषबाट ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ ब्याज अनुदान दिइसकिएको छ ।
सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधन सहित) ले महिला उद्यमीकर्जा बाहेक सबै खाले सहुलियतपूर्ण कर्जामा अधिकतम ५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । महिला उद्यमशील कर्जा शीर्षकमा भने सरकारले अतिरिक्त १ प्रतिशत थपेर ६ प्रतिशत प्रदान गरेको छ ।
यसमा बैंकहरूले आफ्नो प्रिमियम ब्याजदर थपेर कर्जा लगानी गर्छन् । तर, यसरी थपिने ब्याजदर ऋणीलाई दुई देखि ३ प्रतिशतभन्दा बढी नपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।
कृषि विकास बैंकबाट सबैभन्दा बढी कर्जा प्रवाह
राष्ट्र बैंकबाट प्राप्त सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेमा सरकारी स्वामित्वकै कृषि विकास बैंक अघि देखिएको छ । बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा अधिकतम १३ हजार ५२ ऋणीलाई कुल २४ अर्ब ६८ करोड ३१ लाख ३३ हजार ५९५ रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । जसमध्ये २१ अर्ब ९५ करोड ७१ लाख ४० हजार रुपैयाँ हाल कर्जा बक्यौता रहेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले ३ हजार १५६ ऋणीहरूमा १७ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १० हजार ५५० ऋणीहरूमा १२ अर्ब ५५ करोड, ग्लोबल आईइमई बैंकले ४ हजार ७१० ऋणीहरूमा ११ अर्ब ७७ करोड, प्राइम कमर्सियल बैंकले ४ हजार ४३ ऋणीहरूमा ११ अर्ब १६ करोड, सिद्धार्थ बैंकले ३ हजार ७८१ ऋणीहरूमा १० अर्ब १९ करोड र एनएमबी बैंकले ५ हजार ६४१ ऋणीहरूमा १० अर्ब ११ करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरू ‘ख’वर्गका विकास बैंकहरू, ‘ग’ वर्गका फाइनान्स र ‘घ’ वर्गका लघुवित्तहरूले यस्तो कर्जा प्रवाहको सुविधा पाएका छन् । जसमध्ये ५५ वित्तीय संस्थाहरूले सहुलियतपूर्ण कर्जा लगानीमा भाग लिएका राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
