शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्ह पूजाको नमिठो सम्झना : परिवारका चारजना चुँडिएको त्यो साँझ

ललितपुरको मुटुमा कसरी भयो घटना ?
मङ्गलबार, २३ कात्तिक २०७८, १२ : १७
मङ्गलबार, २३ कात्तिक २०७८

कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो । अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो । आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो ।  

ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उनका परिवारका चार जनाले दुःखद ज्यान गुमाए । पोस्टमार्टम रिपोर्टअनुसार चारैजनाको जलेर मृत्यु भएको हो ।

भाइटीकाको अघिल्लो साँझ म्ह पूजा गर्दा ज्यान गुमाउनेमा लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रजना ताम्राकार र नाति निर्जल छन् । पोष्टमार्टमपछि परिवार र आफन्तले उनीहरूको दाहसंस्कार गरेका छन् । लक्ष्मीकृष्णको जेठा छोरा कतारमा थिए । उनी काठमाडौँ फर्केका छन् ।

लक्ष्मीकृष्णको घर इट्टा र माटोले बनेको थियो । पुरानो स्वरूपको एकनाले घरको चौथो तलामा रहेको भान्सामा उनीहरू पूजा गरिरहेका थिए । तेस्रो तला दनदनी बलेको कसैले वास्तै गरेनन् । छिमेकका बालबालिकाहरूले कोठाबाट धुवाँ आइरहेको भनेपछि लक्ष्मीकृष्णकी पत्नी दौडेर तल झरिन् र बिजुलीको मुख्य स्वीच अफ गर्न भ्याइन् । आगोको ज्वालाले भेटेर सामान्य घाइते भएकी उनी भने बाँच्न सफल भएकी छिन् ।

त्यस बेला घरमा ११ जना थिए । आगो लागेको सूचना आएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त मंगलबजारका इन्स्पेक्टर रामकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले ५ जनाको उद्धार गरेको थियो । लक्ष्मीकृष्णको कान्छा छोरा नीरज र छोरी सिर्जना झ्यालबाट हाम फालेर बाँच्न सफल भएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

नीरज ताम्राकार आफू हाम फालेर बाँचे । तर, उनले पत्नी रजना र छोरा निर्जललाई गुमाएका छन् । 

दमकल पुग्नै समस्या

घटनास्थलमा प्रहरी पुगेको करिब ५ मिनेटमा दमकल पनि पुग्यो तर, निकै कठिनताका साथ दमकल पुगेको थियो । किनकि मंगलबजार चोकबाट भित्र जाने सडक निकै साँघुरो छ । पसल अघि हुने भीडभाड र सवारी साधनको चापका कारण त्यहाँ पैदल हिँड्न पनि सकस हुन्छ । भित्री सडकबाट करिब एक सय मिटर भित्र रहेको चक्रवहिल, नबाहालस्थित लक्ष्मीकृष्णको घरसम्म दमकल पुग्न सक्ने अवस्था थिएन ।

करिब १ सय मिटर पर दमकल राखेर अग्नि नियन्त्रकहरूले आगो निभाएका थिए । आगो निभाएर भित्र जाँदा चारजना जलिसकेका थिए । ‘त्यहाँ दमकल सहज रूपमा आवतजावत गर्न समस्या थियो,’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्य भन्छिन्–‘एकै परिवारको चार जनाको दुःखद मृत्यु भयो । तर, असहजताका बिचमा पनि स्थानीयसँगको समन्वयमा आगो आसपासको घरमा फैलिन भने दिएनौँ ।’

पोस्टमार्टम रिपोर्ट : ‘जलेर मृत्यु’

मृतक चारजनाको पोस्टमार्टम रिपोर्ट आएको छ । पाटन अस्पतालमा गरिएको पोष्टमार्टमअनुसार चारै जनाको ‘जलेर मृत्यु’ भएको चिकित्सकहरुले रिपोर्ट दिएका छन् । जलेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको एसएसपी बज्राचार्यले रातोपाटीलाई बताइन् । आगलागीमा परेर लक्ष्मीकृष्ण र बुहारीको पुरै शरीर जलेको थियो भने नाति र छोरी अन्जनाको शरीरको अघिल्लो भाग जलेको थियो । 

तस्बिर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप