बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सर्वोच्चद्वारा माधवलाई राहत, गतिहीन बन्यो देउवा शासन !

मङ्गलबार, २९ भदौ २०७८, २० : ०८
मङ्गलबार, २९ भदौ २०७८

आज २०७८ भदौ २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका प्रमुख समाचारहरुमा देउवा शासनका ६० दिन, मन्त्रिपरिषद् बैठकका निर्णय, सहसचिवहरुको सरुवा, पशुपतिमा अख्तियार लगायत छन् ।

१‍. देउवा शासनका ६० दिन

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज दुई महिना पुगेको छ । काँग्रेस सभापतिसमेत रहेका देउवाले सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते पाँचौँ पटक मुलुकको कार्यकारी प्रधानमन्त्री पद सम्हाल्न पुगेका हुन् । जिम्मेवारी सम्हालेको दुई महिना बित्दासमेत प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । यसले पाँच दलीय गठबन्धन र गठबन्धन सरकारको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्न पुगेको छ ।

२. एकैपटक ८५ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

३. माधवलाई राहत

सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुले दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।​

४.झापा पुगेर ओलीको कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे । ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।

​५. पशुपतिमा अख्तियार

हिन्दूहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथमा अहिले अख्तियार पसेको छ । मन्दिरमा सुनको जलहरी बनाउँदा करिब ११ किलो सुन घोटाला भएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।​ २०७८ असार २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘जलहरी बनाउँदा ९७ किलो मात्र सुन खपत भएको निर्माण सम्पन्न मुचुल्कामा उल्लेख गरिएको छ । तर, भोलिपल्ट राष्ट्रपतिद्वारा गरिएको उद्घाटन कार्यक्रममा १०८ किलो सुन लागेको भनेर सार्वजनिक गरिएको थियो ।’

​६. भावी मुख्यमन्त्रीको नाम टुंग्याउन सकस

प्रदेश १ मा दसैँअघि नै आफ्नो नेतृत्वमा सरकार बनाउन लागिपरेका विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुङ्ग्याउन सकस परेको छ । प्रदेश १ मा गठबन्धन दलभित्र पनि नेकपा (एकीकृत समाजवादी) र नेपाली काँग्रेसले सरकारको नेतृत्वमा दाबी गरेका छन् । केन्द्रीय गठबन्धनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय नगर्दा प्रदेशमा रहेका गठबन्धन घटक दलहरु अलमलमा परेका हुन् ।

​७. थप १५६२ जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । 

​८. विनियोजन विधेयक बहुमतले स्वीकृत

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप