शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नो मास्क नो सर्भिस’ अभियान घोषणामै सीमित, मुख्यमन्त्री र मन्त्रीहरु नै लगाउँदैनन् मास्क

मङ्गलबार, २९ भदौ २०७८, १९ : ३१
मङ्गलबार, २९ भदौ २०७८

  

जनकपुर । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै ‘नो मास्क नो सर्भिस’ अभियान सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियान सञ्चालनको घोषणा गरेको भोलिपल्टै मुख्यमन्त्रीदेखि मन्त्रीहरु नै मास्कबिना सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणमा जनचेतना जगाउन ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने निर्णय गरेको थियो । लगत्तै उक्त अभियान सञ्चालन भएको घोषणा गरियो ।

प्रदेश २ मा कोभिड–१९ संक्रमितको संख्यामा कमी आएसँगै मास्कको प्रयोगमा सर्वसाधारणले हेलचक्य्राई गर्न थालेको ठहर गर्दै सरकारले सरकारी कार्यालयहरूमा समेत सो अभियान चलाउने निर्णय गरेको थियो । मास्क प्रयोगमा सर्वसाधारणलाई सचेतनाका लागि सञ्चारमाध्यमहरुमार्फत विज्ञापन प्रसारण तथा प्रकाशन गराउने निर्णयसमेत गरिएको थियो ।

अभियान सुरु गरिएको एक दिन नबित्दै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्रीहरुसम्मले बिना मास्क सार्वजनिक समारोह तथा कार्यालयको औपचारिक कार्यक्रममा सहभागिता जनाएको पाइएको छ ।

प्रदेश सरकारका मुख्य जिम्मेवार व्यक्तिहरु नै सार्वजनिक तथा कार्यालयको काममा मास्क नै नलगाई सहभागी भएपछि सो अभियान घोषणामै सीमित भएको टिप्पणी गर्न थालिएको छ ।

मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र अर्थमन्त्री शैलेन्द्र साह लगायतका मन्त्रीहरुले नै सो अभियानलाई बेवास्ता गर्दै मास्क नलगाई सार्वजनिक कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।

मुख्यमन्त्री राउत एउटा वैवाहिक कार्यक्रममा मास्क नलगाई सहभागी भएका छन् भने प्रदेश सरकारको जनता आवास शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र उनीसँगै सहभागी अन्य पदाधिकारीले समेत मास्क लगाएका थिएनन् ।

शिलान्याश कार्यक्रमको अध्यक्षता गरेका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले सार्वजनिक स्थलमा मास्क प्रयोग गर्नुपर्ने विषय मन्त्री र सरकारका पदाधिकारीहरुले आफै सोच्नुपर्ने बताए । उनले अभियान सञ्चालनकर्ताहरुले नै त्यसको पालन नगर्नु अशोभनीय रहेको टिप्पणी गरे ।

‘कोरोना संक्रमणले कसैलाई चिन्दैन, जो कोहीलाई पनि संक्रमण हुन सक्छ,’ उनले भने, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सार्वजनिक कार्यक्रममा मास्क नलगाउनु भनेको लापरवाही हो ।’

भौतिक पूर्वाधार विकास मन्त्री यादवले ‘नो मास्क नो सर्भिस’ अभियानप्रति आफू गम्भीर रहेको बताए । ‘हामी गम्भीर छौँ, तर कार्यक्रममा बोल्नु पर्दा मास्क खोलेर बोल्नुपर्ने हुन्छ । हामी सचेत भएरै मास्क खोलेर कार्यक्रममा सरिक हुने गरेका छौँ ।’

त्यस्तै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई बधाइ दिन खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले आयोजना गरेको कार्यक्रममा ती दुवै मन्त्रीले मास्क लगाएका थिएनन् ।

सरोकारवाला निकाय सामाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठले ‘नो मास्क नो सर्भिस’ अभियान कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागिमात्र नभई सबैका लागि सञ्चालन गरिएको बताए । उक्त अभियान जनतामा चेतनाको अभिवृद्धिसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारिताका लागि सञ्चालन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप