शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो छ सामसङको फोल्ड गर्न मिल्ने नयाँ फोन ?

‘जी–फोल्ड ३’ र ‘फ्लिप ३’ फोनलाई २ लाख पटक फोल्ड गर्दा पनि समस्या देखिएन : निर्देशक प्रणयरत्न स्थापित
मङ्गलबार, २९ भदौ २०७८, १४ : २९
मङ्गलबार, २९ भदौ २०७८


सामसङ इलेक्ट्रोनिक्सले नेपालमा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गरिसकेको छ । फोन सार्वजनिक गरेलगत्तै कम्पनीले प्रि–अर्डरसमेत सुरु गरिसकेको छ । फोल्ड गर्न मिल्ने नयाँ प्रविधियुक्त फोन नेपाल भित्रिएसँगै यसले पाएको रेस्पोन्स र फोल्डेबल फोनका विषेशताका विषयमा रातोपाटीले सामसङ इलेक्ट्रोनिक्सका निर्देशक प्रणयरत्न स्थापितसँग गरेको कुराकानी :

नेपालमा भर्खरै सामसङको फोल्ड गर्न मिल्ने ‘जी–फोल्ड ३’ र ‘फ्लिप ३’ फोन लन्च भएको छ । फोनसँग अरू के–के लन्च गर्नुभयो ?

नेपालमा भर्खरै लन्च भएका दुईवटा फोन सामसङको ‘थर्ड जेनेरेसन’का फोल्डेबल फोन हुन् । यसअन्तर्गत हामीले ग्यालेक्सी ‘जी–फोल्ड ३’ र ‘फ्लिप ३’ गरी दुईवटा मोडलका फोन सार्वजनिक गरेका छौँ । यी दुईवटै फोन सामसङको ‘लेटेस्ट टेक्नोलोजी’ युक्त फोन हुन् । यी दुईवटै फोनमा नयाँ फिचर (विशेषता) छन् । हामीले यो फोन ग्लोबल रूपमा लन्च भएको केही दिनमै नेपालमा ल्याएका हौँ । विश्व बजारमा सार्वजनिक भएलगत्तै नेपाल भित्र्याउन हामी सफल बन्यौँ ।

अहिले हामीले यी दुईवटा फोनबाहेक ‘ग्यालेक्सी वाच ४’ सिरिज पनि नेपालमा लन्च गरेका छौँ । यो सामसङले बनाएको स्मार्ट वाच हो । ‘ग्यालेक्सी वाच ४’ र ‘ग्यालेक्सी वाच ४ क्लासिक’ गरी दुईवटा मोडल छ । योबाहेक सामसङको हेडफोन पनि ल्याएका छौँ । समग्र रूपमा भन्दा हामीले दुईवटा मोबाइल, घडी र हेडफोन एकै साथ लन्च गरेका छौँ । यी तीनैवटा प्रडक्ट लेटेस्ट टेक्नोलोजीयुक्त हुन् ।

नेपालमा सामसङ वा अन्य कुनै कम्पनीको फोल्डेबल फोन यसअघि पनि भित्रिएको छ ?

यसअघि हामीले गत वर्ष २०२० मा नै हामीले फोल्डको जी–फोल्ड २ लन्च गरेका थियौँ । अहिले जी–फोल्ड ३ लन्च भएको छ । गत वर्ष ल्याएको मोबाइलको निरन्तरता दिँदै फोल्ड ३ ल्याएका छौँ । विश्वको पछिल्लो प्रविधियुक्त फोन नेपालमा पहिलो पटक सामसङले नै ल्याएको हो । कतिपय कम्पनीहरूले विश्वव्यापी रूपमा पनि फोल्डेबल फोन लन्च गर्न सकेको छैन । रिसर्च र इनोभेसनमा सामसङको लगावका कारण फोल्डेबल फोनको सम्भव भएको हो ।

सामसङले पहिलोचोटि सन् २०११ मा फोल्डेबल डिस्प्ले सार्वजनिक गरेको थियो । तर त्यो कमर्सियल थिएन । त्यसलाई कमर्सियल गर्न धेरै वर्ष लाग्यो र अब पूर्ण कमर्सियल उत्पादन सुरु भइसकेको छ । यसलाई पहिलो पटक सामसङले सन् २०१९ मा पहिलो पटक ग्यालेक्सी जी–फोल्ड नामक फोल्डेबल फोन सार्वजनिक गरेको थियो ।

फोल्डेबल फोनको मूल्य कति छ ? सामान्य फोनको तुलनामा फोल्डेबल फोनको मूल्य महँगो हो ?

फोल्डेबल फोन आउनु सामसङको निरन्तर प्रयासबाट आएको प्रतिफल हो । यो टेक्नोलोजीमा अहिलेसम्म सामसङ लिडर नै हो । यसको मुख्य फिचर भनेको फोल्ड गर्न मिल्नु नै हो । सामसङले गरेको यो सुरुवात हो । आगामी दिनमा सबै फोन फोल्डेबल आउन पनि सक्छ । यो फोल्डेबल भएपछि यसबाट धेरै काम गर्न सकिन्छ ।

ट्रेडिसनल स्मार्टफोन र फोल्ड गर्न मिल्ने फोनमा धेरै कुरा फरक नै हुन्छ । त्यसैले अनुभव र प्रविधिका आधारमा यो फोन फरक हुन्छ नै । फ्लिपको मूल्य १ लाख २४ हजार ९९९ रुपैयाँ पर्छ । यसमा ८ जीबी ¥याम र २५६ जीबी रोम हुन्छ । यस्तै, जी–फोल्डमा दुईवटा मोडल छन् । एउटामा १२ जीबी र्याम र २५६ जीबी रोम छ । यसको मूल्य २ लाख १९ हजार ९९९ रुपैयाँ छ । यस्तै, १२ जीबी र्याम र ५१२ जीबी रोम भएको जी–फोल्डको मूल्य २ लाख २९ हजार ९९९ रूपैयाँ पर्न आउँछ ।

तपाईंहरूले कस्ता ग्राहकलाई टार्गेट गर्नुभएको छ ? र, यसका विशेषता कस्ता छन् ?

यी दुई मोडलका फोन फरक फरक ग्राहकलाई टार्गेट गरेर डिजाइन गरिएको हो । जी–फोल्ड मोडलले त्यस्ता ग्राहकलाई टार्गेट गर्छ जो मोबाइलकै माध्यमबाट आफ्नो प्रडक्टिभिटी बढाउन चाहन्छन् । यी ग्राहकलाई फोल्ड डिजाइन गरिएको हो । यो फोनको माध्यमबाट सहजै रूपमा अफिसका काम गर्न सकिन्छ । यसको डिस्प्लेमा एकै पटक तीन वटासम्म एप्स चलाउन सकिन्छ । जी–फोल्ड ३ बाट अफिसको काम सहजै रूपमा गर्न सकिन्छ । यसमा राखिएको ठूलो स्क्रिनले गर्दा यस्तो सुविधा सम्भव भएको हो ।

यस्तै यो फोनमा बाहिर र भित्र गरेर दुईवटा स्क्रिन छ । यो फोनलाई अनफोल्ड गरेपछि ७.६ इन्चको पूर्ण ट्याब्लेटका रूपमा काम गर्छ । यसमा अन्डर डिस्प्ले क्यामेरा (फोटो खिच्नेबेला मात्र देखिने), टिकाउ, एयरक्राफ्ट ग्रेडको अल्मर अल्मुनियम प्रयोग गरिएको छ । यो फोनलाई पानीले बिगार गर्दैन । यसैगरी मुभी हेर्न र गेम खेल्न पनि यसमा सजिलो हुन्छ ।

यस्तै फ्लिप चाहिँ धेरै मानिससँग कनेक्ट भइराख्ने मानिसलाई लक्षित गरिएको छ । सानो स्क्रिन भएको फोल्डेबल फोन खोज्नेलाई फ्लिपले सम्बोधन गर्छ । यसमा पनि धेरै प्रकारका फिचर छन् । फोल्ड गरेकै अवस्थामा यसमा फोन रिसिभ गर्न सकिन्छ । सोही अवस्थामा यसबाट फोटो खिच्न पनि सकिन्छ । यसलाई ट्राइपोटबिनै टेबलमा राखेर भिडियो कलमा जोइन हुन सकिन्छ ।

यसका साथै एक पटक फुल चार्ज गरेपछि एक दिनभरिलाई ब्याट्रीले काम गर्छ । धेरै एप्स चलाउँदा चार्ज घट्ने समस्या अन्य मोबाइलमा हुन्छ । तर यसमा त्यस्तो समस्या छैन ।

नेपालमा लन्च गर्ने वित्तिकै प्रि–अर्डर खुलाउनु भयो । यसको रेस्पोन्स कस्तो आउँदै छ ? प्रि–अर्डर नगरेका ग्राहकले कहिलेदेखि फोन किन्न पाउनुहुन्छ ?

हामीले नेपालमा लन्च गर्ने वित्तिक्कै यी दुईवटा फोनको प्रि–अर्डर खुलायौँ । गत साताको आइतबार (५–२० सेप्टेम्बर) यसको पि–अर्डर खुलाएका हौँ । १५ दिनका लागि भनेर जी–फोल्ड र फ्लिपको प्रि–अर्डर खोलेकामा त्योभन्दा अगाडि नै हाम्रो लक्ष्य पूरा हुने स्थितिमा पुगिसकेको छ । त्यसैले यो फोनमा देखिएको ग्राहकको आकर्षणले नयाँ प्रविधिको स्वागतमा नेपालीहरू उत्साहित हुनुहुन्छ भन्ने प्रमाणित भएको छ ।

यसअवधिमा धेरै प्रि–अर्डर आइसकेको छ । प्रिअर्डर नगरेका ग्राहकले २२ सेप्टेम्बरदेखि सामसङका फोल्डेबल फोनहरू देशभरका हाम्रा आधिकारिक बिक्रेताबाट किन्न पाउनुहुने छ । यस्तै प्रि–अर्डर गरिसक्नुभएका ग्राहकलाई १३ सेप्टेम्बरदेखि डेलिभरी गर्न सुरु गरिसकेका छौँ ।

यो फोन चलाउँदा प्रयोगकर्ताले के–कस्ता सुविधा पाउँछन् ?

यसको फिचरका विषयमा मैले माथि नै बताइसकेको छु । त्योबाहेक हामीले नेपाली प्रयोगकर्तालाई मध्यनजरमा राखेर अन्य सुविधा ल्याएका छौँ । फोल्डेबल फोन अन्य फोनभन्दा प्रिमियम फोन हो । हामीले ल्याएको फोल्डेबल फोन बोक्न चाहने ग्राहकलाई लक्षित गरेर किस्तामा फोन किन्न मिल्ने व्यवस्था गरिएको छ । यसका लागि हामीले ११ वटा कमर्सियल बैङ्कसँग सम्झौता गरेका छौँ । किस्तामा फोन किन्दा शून्य प्रतिशत ब्याजदर हुन्छ ।

विभिन्न बैङ्कमार्फत ग्राहकले ९, १२ र १८ महिनाको किस्तामा बिनाब्याज फोन लिन सक्नुहुन्छ । यसका साथै जुनसुकै कम्पनीको पुरानो फोन साटेर फोल्डेबल फोन लिने व्यवस्थासमेत गरिएको छ । यस्तै योबाहेक १ वर्षको ब्रेकेज इन्स्योरेन्सको व्यवस्थासमेत छ । यस्तै बक्समा नआए पनि फोल्डेबल फोन किन्ने ग्राहकलाई पेन र कभर उपलब्ध गराइन्छ ।

यसैगरी प्रि–अर्डर गर्ने ग्राहकलाई जी–फोल्ड ३ मा २५ हजार ५०० मूल्य पर्ने हेडफोन र फ्लिप किन्ने ग्राहकलाई १७ हजार ९०० पर्ने हेडफोन उपहार स्वरूप दिन्छौँ । योबाहेक ग्राहकले आफ्नो चाहनाअनुसार अन्य सुविधा पनि लिन पाउनुहुन्छ ।

अन्त्यमा, प्रयोगकर्ताले फोनलाई पटक–पटक फोल्ड गर्दा फोल्ड गर्ने प्रविधिमै समस्या आउँछ कि ?

मैले माथि पनि भनिसकेको छु । सामसङले २०११ मै फोल्डेबल फोनको आविष्कार गरेको थियो । त्यसमा रहेका कमीकमजोरी सुधार गर्न लामो समय लाग्यो । फोल्डेबल फोनमा प्रयोग गरिएको फोल्ड हुने फोल्ड हुने वस्तु (हिन्ट) एकदमै विशेष छ । यो मोबाइललाई बिना कुनै आड जुनसुकै पोजिसनमा फोल्ड गर्न सकिन्छ । यसरी फोल्ड गर्दा कुनै पनि समस्या आउँदैन ।

फोल्डेबल फोनमा प्रयोग भएको फोल्ड हुने स्थानको वस्तुलाई जतिपटक फोल्ड गरे पनि स्क्र्याच हुने लगायतका अन्य समस्या आउँदैन । एउटा स्वतन्त्र एजेन्सीले गरेको अध्ययनले फोल्डेबल फोनलाई २ लाख पटक फोल्ड गर्दा पनि समस्या देखिएन् । यसको अर्थ यो फोनलाई पटक पटक फोल्ड गर्दा पनि समस्या नआउने पुष्टि भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप