कर्णालीमा कोरोनाभन्दा आत्महत्या विकराल
केही समयअघि पश्चिम सुर्खेतको पञ्चपुरीकी विमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरिन् । वीरेन्द्रनगरमा बस्दै आएकी उनले जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
१९ बर्षीया ती किशोरीले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले फेला पारेको थियो । उनको त्यो ‘सुसाइड नोट’ मा आत्महत्याको बाटो रोज्नुको मुख्य कारण परीक्षा बिग्रिएको भनिएको थियो ।
विमलाले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजिन् ।
उनको आत्महत्या गर्नुको मुख्य कारण नै लकडाउनका कारण पढाईको तयारी पूरा नहुनु थियो । जसका कारण उनी मानसिक तनावमा थिइन् । तनावलाई व्यवस्थापन गर्न नसक्दा उनले आत्महत्याको बाटो रोजिन् ।
गत फागुन २४ गते सोमबार देशभर १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै थियो । सहरका ठुला होटलदेखि स्थानीय सरकारका सदरमुकाममा समेत महिला हिंसा कम गर्न महिलाहरु ‘प्लेकार्ड’ बोकेर दिवस मनाइरहेका बेला पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवाल चार सन्तानसहित कर्णाली नदीमा हेलिइन् ।
चरम गरिबी त्यसमाथि पनि दिनहुँ श्रीमानले मदिरा सेवन गरेर कुटपिट गरी पारिवारिक कलह बढेपछि विक्षिप्त भएर उनले आत्महत्याको बाटो रोजिन् ।
श्रीमानको दिनहुँ किचलोबाट विक्षिप्त बनेकी उनले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोज्न विवश भइन् । जसको मुख्य कारण गरिबी थियो ।
यी दुईवटा घटना प्रतिनिधिमुलक मात्र हुन् । कर्णालीमा बर्सेनि सयौँ व्यक्तिले चरम गरिबी, घरेलु हिंसा र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विगत ५ वर्षको अवधिमा प्रदेशमा एक हजार ३६२ जनाले आत्महत्या गरेका छन् । तीमध्ये २८५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै ७० जनाले विष सेवन, एक जनाले हातहतियार प्रयोग गरेर र ६ जनाले नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा १३३ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमध्ये विगत एक वर्ष (०७७–७८) मामात्रै ४७ जना बालबालिकाले आत्महत्याको बाटो रोजेका छन् ।
कर्णालीमा विगत एक आर्थिक वर्षमा ३६२ जनाले विभिन्न कारण आत्महत्याको बाटो रोजेका छन् ।
प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ अथवा हालसम्मको अवधिसम्म आईपुग्दा ३६२ जनाले आत्महत्या गरेका छन् । जुन यसअघिको आर्थिक वर्षको तुलनामा एकदमै धेरै हो ।
गत आर्थिक वर्षमा कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा १२८ जनाले आत्महत्या गरेका छन् भने हिमाली जिल्ला डोल्पामा आत्महत्यासम्बन्धी कुनै घटना भएको छैन ।
कर्णालीमा आत्महत्या बढ्नुको मुख्य कारण
प्रदेश प्रहरी कार्यालयका डीएसपी गणेशबहादुर बम आत्महत्या गरेकामध्ये ९० प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको बताउँछन् । आत्महत्या गर्ने बालबालिकामध्ये पनि अधिकांशले मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ ।
कर्णालीमा झण्डै ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । जसका कारण पनि कर्णालीमा धेरैले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
यस्तै, महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
डीएसपी बम कर्णालीमा घरेलु हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग र दीर्घरोगका कारण आत्महत्याका घटना बढेको बताउँछन् ।
पछिल्लो दुई आर्थिक वर्षमा कर्णालीमा कोरोना महामारीका कारण आत्महत्याका घटनामा वृद्धि भएको प्रहरीको निष्कर्ष छ ।
प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी व्यक्तिलाई निराशापनले आत्महत्याको बाटो रोज्ने गरेको बताउँछन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना वृद्धि हुँदै गएको बताउँछन् ।
बदलिँदो जीवनशैली, बढ्दो सहरीकरण र तीव्र इच्छाशक्तिका कारण पनि मानसिक समस्या बढ्दै गएको उनको भनाइ छ ।
कोरोनाभन्दा आत्महत्या विकराल
कोरोनाभाइरस (कोभिड–१९)को प्रकोपले हरेक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोरोना भाइरसका कारण कतिपयले गर्न चाहेका र सोचेका काम गर्न पाएनन् । आफ्नो नियमित दिनचर्यामा अभ्यस्त मान्छे कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण घरमै थुनिएर बस्नुप¥यो । घरमै बिनाकाम समय बस्नुपर्दा अर्को तनाव थपियो ।
आफ्नो भविष्य खोज्न तम्सिएकाहरु घरमै खाली बस्नुपर्दा चिन्ता हुनु, शारीरिक छटपटी, हृदयगति बढ्नु, उकुसमुकुस, स्मरणशक्तिमा कमी र पर्याप्त निन्द्रा नलाग्नुजस्ता मानसिक समस्याहरु बल्झिए । जसका कारण धेरैले मानसिक समस्याका कारण गत आर्थिक वर्षमा आत्महत्याको बाटो रोजेको देखिन्छ ।
कर्णालीमा पहिलो पटक ०७७ जेठ ५ गते दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको थियो । त्यसयता गत असार ३१ गते (एक वर्ष) सम्म कोरोना संक्रमणका कारण ३३९ जनाले ज्यान गुमाएका छन् ।
तर प्रदेशममा उक्त अवधिमा ३६२ जनाले आत्महत्या गरेका छन् । मानवीय क्षतिका आधारमा कोरोनाभन्दा पनि आत्महत्या भयावह देखिएको हो ।
तुलनात्मक रुपमा सुर्खेतमा आत्महत्ययाका कारणभन्दा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या धेरै भए पनि अन्य जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढी छ ।
आत्महत्या न्यूनीकरणमा के–कस्ता गतिविधि भए ?
विगतमा कर्णालीमा आत्महत्या न्यूनीकरणका लागि खासै गतिविधि भएको पाइँदैन । यद्यपि, चालु आर्थिक वर्षदेखि भने एकीकृत नीतिमा जोड दिइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले एकीकृत नीतिमा जोड दिने बताएको थियो ।
यता प्रदेश सरकारले पनि मनोपरामर्श तालिम दिने गरेको छ । सामाजिक विकास मन्त्रालयले एक वर्षको अवधिमा साढे ३ सय बढीलाई यो तालिममा समावेश गरेको जनाएको छ ।
यस्तै जाजरकोट, सुर्खेत र सल्यानका एकसय २० जना नागरिकलाई कोरोनासँग सम्बन्धित प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।
सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा १७ जना नागरिकलाई मानसिक स्वास्थ्य तालिम दिइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाही बताउँछन् ।
यस्तो छ आत्महत्या र कोरोनाबाट भएको मानवीय क्षतिको तथ्याङ्क
स्रोत : प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश र स्वास्थ्य सेवा निर्देशनालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त