शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नेपाल पक्षलाई आममाफी दिने एमालेको निर्णय, काँग्रेसप्रति ओलीको कटाक्ष

बिहीबार, ०७ साउन २०७८, २३ : ३९
बिहीबार, ०७ साउन २०७८

आज २०७८ साउन ७ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा माधव नेपाल पक्षलाई आममाफी दिने एमालेको निर्णय, अपमान सहेर पार्टीमा बस्न नसकिने माधव नेपालको निष्कर्ष, निर्वाचन आयोगले बोलायो जसपाको कार्यकारिणी समितिका सदस्यहरुलाई, प्रधानमन्त्री देउवाले पार्टीको बैठक बालुवाटारमा नराख्ने, काँग्रेसप्रति ओलीको कटाक्ष– देश छाडेर हिँडेका राजालाई फर्कायो, गण्डकीमा माओवादीले टुङ्गो लगायो ३ मन्त्रीको नाम लगायत छन् ।

१. माधव नेपाल पक्षलाई आममाफी दिने एमालेको निर्णय
नेकपा एमालेले माधवकुमार नेपालसहितका नेताहरुलाई आममाफी दिने निर्णय गरेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ‘बाटो बिराएका नेताहरुलाई’ पार्टी एकताका लागि भन्दै आममाफी दिने निर्णय गरेको हो । ओली पक्ष नरम भएसँगै केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भइरहेको एमाले संसदीय दलका नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।​

 

 



२. निर्वाचन आयोगले बोलायो जसपाको कार्यकारिणी समितिका सदस्यहरुलाई
जसपा नेपालको आधिकारिकता सम्बन्धी दाबीमाथि सुनुवाई गरिरहेको निर्वाचन आयोगले सो पार्टीका ५१ जना कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित बोलाएको छ । साउन ११ गते उनीहरु आयोगमा उपस्थित हुनुपर्ने छ । जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएको हो । उनीहरुको सनाखतपछि आयोगले आधिकारिकता सम्बन्धमा फैसला गर्ने भएको हो ।

 

 



३. अपमान सहेर पार्टीमा बस्न नसकिने माधव नेपालको निष्कर्ष
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीमा बस्न नसकिने प्रस्ट पारेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीलाई घरको संज्ञा दिँदै कोही पनि आफ्नो घरबाट त्यसै ननिस्कने बताए । यसैबीच उनले बिहीबार नै ‘पिपुल्स भोलेन्टियर’ नामक संगठनको घोषणा गरेका छन् । आफू निकट युवा संघ नेपालको मातहत रहने गरी उनले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’को घोषणा गरेका हुन् । 

 

४. प्रधानमन्त्री देउवाले पार्टीको बैठक बालुवाटारमा नराख्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक राख्ने गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिप्पणी हुँदै आएको सन्दर्भमा काँग्रेसकै केही नेताले पार्टीको बैठक बालुवाटारमा राख्न उपयुक्त नहुने सुझाव दिएका थिए । उक्त सुझावलाई ग्रहण गर्दै प्रधानमन्त्री देउवाले पार्टीको बैठक बालुवाटारमा नराख्ने निर्णय गरेका हुन् । यसको सुरुवात शुक्रबारबाटै हुने भएको छ । शुक्रबार देउवाले पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आफ्नो निजी निवास बूढानीलकण्ठमा राख्ने भएका हुन् ।

 


५. काँग्रेसप्रति ओलीको कटाक्ष : देश छाडेर हिँडेका राजालाई फर्कायो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रवादी भनिएको नेपाली काँग्रेसभित्र अझै पनि राजतन्त्रका बारेमा विवाद रहेको टिप्पणी गरेका छन् । उनले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देश छाडेर हिँडेका राजालाई काँग्रेसले नै फर्काएको जिकिर गरे । उनले आफ्नो पार्टी एमाले काँक्राको चिचिलाजस्तो कसैले आँखा लगाउँदैमा नझर्ने दाबीसमेत गरे ।

६. सडकमा गाडी तेर्स्याएर यातायात व्यवसायीले गरे प्रदर्शन

बिहीबार काठमाडौंका सडकमा गाडी तेर्स्याएर यातायात व्यवसायीले सात बुँदे मागप्रति ध्यानाकर्षण गर्ने उद्देश्यले प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाईमा प्रदर्शन गरिएको हो ।


७. गृहमन्त्रीलाई भेटेर बधाई दिन कार्यकर्ताको ओइरो
गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर बधाई दिन ललितपुरको हरिहर भवनस्थित मन्त्री क्वार्टरमा कार्यकर्ताहरूको घुइँचो लाग्ने गरेको छ । बधाई दिनेहरूको लर्को लागेपछि मन्त्री खाँणले मन्त्री क्वार्टरको आँगनमै सामूहिक रुपमा भेट गर्दै बधाई तथा शुभकामना ग्रहण गर्ने गरेका छन् ।


८. नेप्से परिसूचक छलाङ मार्दै 
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजारले छलाङ मार्दै नेप्से परिसूचक तीन हजार अंकभन्दा माथि पुगेको छ । साताको सुरुवातदेखि नै उकालो लागेको सेयर कारोबार मंगलबार अस्थिर देखिए पनि बिहीबारसम्म आइपुग्दा उकालो यात्रालाई कायम राखेको हो ।


९. दुई हजार ७१४ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने एक हजार २८८ जना संक्रमणमुक्त भएका छन् । यसैबीच चीनबाट थप आठ लाख डोज कोरोनाविरुद्धको खोप नेपालमा ल्याइएको छ । सरकारले खरिद गरेको उक्त खोप बिहीबार दिउँसो काठमाडौं आइपुगेको हो ।


१०. र, यो पनि 
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तारको गृहकार्य थालेका छन् । माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा जानेहरुको सूची बुझाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको बताइएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले २४ घण्टे स्पष्टीकरणको जवाफ पठाएको छ । माधवकुमार नेपाल पक्षका सांसद मेटमणि चौधरीका अनुसार बिहीबार सबैजसो नेताले स्पष्टीकरणको जवाफ बुझाएका छन् । 


ऊर्जामन्त्री पम्फा भुसालले बूढीगण्डकी जलविद्युत आयोजनालाई गति दिन आयोजना प्रमुख लगायत अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले वैदेशिक हस्तक्षेपको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा बिहीबार राजधानीमा प्रदर्शन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप