नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन
नौ बज्नै लागेको थियो । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद कृष्णकुमार राईलाई टेलिफोन गरें । दुईपटक टेलिफोन गर्दा पनि ‘रिसिभ’ भएन । त्यसपछि म्यासेज पठाएँ । ‘रेस्पोन्स’ भएन ।
भोलिपल्ट पुनः कल गरें । सांसद राईले काटे । पछि कल गर्छु भन्ने ‘म्यासेज’ पठाए । नभन्दै अपराह्न चार बजेतिर सांसद राईले कल गरे । कसैसँग कुराकानी चलिरहेकाले मैले काटें । उनले पुस १÷२ गते भेटौं भने । कुराकानी सकिएपछि ‘कलब्याक’ गरें । आजै भेट्न सकिन्न भनेर सोधें । उनले कान्तिपथको होटल यल्लो पेगोडामा बोलाए । सहकर्मी विजु महर्जन र पंक्तिकार तोकिएको समयमा त्यहाँ पुग्यौं ।
भेटघाट भयो । पुख्र्यौली घर संखुवासभा भए पनि उनी काठमाडौंको जोरपाटीमै जन्मे । तात्कालिक जोरपाटी गाविस उपाध्यक्षको भूमिका निर्वाह गरे । सहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कृष्णकुमार राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतया नेपाली खाना मन पर्छ । दालभात तरकारी नै स्वादिलो लाग्छ । त्योबाहेकका खानेकुरा मीठो लाग्दैन भन्न खोजेकोचाहिँ होइन । सबै मीठै लाग्छन् । खानकै लागि भनेर रेष्टुरेन्ट जान्न । फुर्सद पनि हुँदैन । रेष्टुरेन्ट पुगिहाल्दा छिटोमिठोका लागि मःमः र चाउमिन माग्छु । पाकशिक्षाबारे जानकार छु । समय अनुकूल हुँदा भान्छामा पस्छु । सानैदेखि खाना पकाउँथें । मंसिर २१ पछि भान्छामा पस्न पाएको छैन ।
मेरो पोसाक
औपचारिकता पेस गर्नुपर्ने पेसा व्यवसायमा नरहेकाले आफूलाई सजिलो हुने (क्याजुअल ड्रेस) कपडा रोजाइमा पर्छन् । पाइन्ट २ र जुत्ता ३ हजार रुपैयाँमा राम्रै पाइन्छन् । कोट अलि महँगो पर्छ । लगाउनेमा त्यति सोख नभए पनि सफा चाहिन्छ । सालिन्दा २०–२५ हजारसम्मको कपडा किन्छु । कपडा किनेर सिलाउनुभन्दा रेडिमेड बढी हुन्छ । कपडाको ब्रान्डप्रति सचेत रहे पनि आर्थिक स्रोतलाई ध्यानमा राख्नुपर्ने बाध्यता छँदै छ । म भादगाउँले र ढाकाटोपी लगाउँछु ।
मेरो फिटनेस
केही समयपहिले योगा गर्थें । व्यस्तताले छाडें । मर्निङवाकसमेत नियमित छैन । डाइटिङ गर्दिनँ । त्यति विश्वास पनि लाग्दैन ।
मेरो अध्ययन
बजारमा चर्चामा आएका किताब पढ्ने गर्छु । नेपालमा मदन पुरस्कार पाएका किताबको अलि बढी चर्चा गरिन्छन् । ती किताब पढ्ने जाँजर चल्छ । त्योभन्दा धेरै राजनीतिक दस्तावेज पढ्छु । पहिलेपहिले म्याक्सिम गोर्की धेरै पढियो । मन पराइयो । गोर्कीजस्ता मन पर्ने लेखक धेरै छन् । नेपाली लेखक त्यत्तिकै छन् ।
पार्टीको सांगठनिक जीवनमा आइपर्ने कुरा लेख्नु त छँदै छ । त्यसबाहेक म गजल लेख्छु । मेरो निजी पुस्तकालयमा चार सय बढी किताब होलान् । किताबमा वार्षिक यति नै खर्च हुन्छ गर्छु भन्ने छैन ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । तर, समय अभावले योजनाबद्ध घुमफिरमा निस्केको छैन । नेपालका ५० बढी जिल्ला टेकेको छु । दुई÷चार देश पुगेको छु । धार्मिक तथा ऐतिहासिक स्थल घुम्न पाए हुन्थ्यो भन्ने लोभ छ ।
मेरो फुर्सद
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअघि पनि व्यस्त थिएँ । निर्वाचित भएपछि व्यस्तता झन् बढेको छ । जति धेरै व्यस्त भए पनि थकाइ लाग्दैन । कहिलेकाहीं त आराम पनि गरौं सोच्नै सोच्दिनँ । म जुन कर्ममा छु, त्यसले बाँधेको छ ।
फुर्सद पाइहालेमा किताब पढ्ने, टेलिभिजन हेरेर समय सदुपयोग गर्छु । घरको काममा टहलिन्छु । घरपरिवारलाई समय दिन पाएको छैन । परिवासहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्न जाने समय कमै जुर्छ ।
मेरो खेलकुद
विद्यालय तहसम्म भलिबल खेलें । आफ्नो समयमा फुटबलको राम्रो खेलाडी मानिन्थें । एकताका मनाङ–मस्र्याङ्दीको ‘फ्यान’ थिएँ । विदेशी टिममा चेल्सी मन पर्छ ।
मेरो मोबाइल
जिओनीको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको ३२ हजार ५०० रुपैयाँ परेको हो । मोबाइलका अधिकांश एप्लिकेसन्स प्रयोग गर्छु । मोबाइलमा गेम पनि खेल्छु ।
मेरो टेलिभिजन
टीभी हेर्दा समाचार र ‘टक शो’ हेर्न मन पर्छ । राजनीतिसम्बन्धी ‘टक शो’ हेर्न जाँगर चल्छ । फुटबल पनि हेर्छु । टीभी हेर्ने साइत बेलुका जुर्छ । घरमा ३२ इन्चको सोनीको लिड टीभी छ ।
मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘छक्कापन्जा’ फिल्महलमै हेरेको थिएँ । टीभी, भिसिडीमा पनि चलचित्र हेर्ने सुविधा भए पनि प्रयोग गरेको छैन । हेरेकामध्ये ‘छक्कापन्जा’, ‘जीवनरेखा’ ‘राजनीति’, ‘नायक’ लगायत असाध्यै मन पर्यो । लैलामजनुजस्ता चलचित्रसमेत रुँदै हेरेको थिएँ ।
चलचित्रभन्दा रंगमञ्चबाट आएका कलाकार मन पर्छन् । सुनील पोखरेल, हरिहर शर्मा, दयाहाङ राईलगायत कलाकारको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
ज्यानलाई आधा सन्चो आधा बिसन्चो छ । अहिलेसम्म दुई÷चारपटक होलबडी चेकअप गराएको छु ।
मेरो भाषणशैली
राजनीतिमा लागेपछि भाषण गर्नैपर्छ । भाषण गर्दा विषयवस्तुलाई अलि बढी व्याख्या गर्छु रे भन्ने शुभचिन्तकको सकारात्मक आलोचना छ । भाषण गर्दा थेगोभन्दा उखानटुक्का प्रयोग गर्न रुचाउँछु । परिस्थिति हेरेर भाषण गनुपर्ने हुन्छ । तर पनि शालीन भाषण गर्ने बानी छ । भाषण गरेकै आधारमा विवादमा पर्नु सम्बन्धित नेताले भाषण गर्दाताकाका श्रोतामा भर पर्छ । हिजोआज सञ्चारमाध्यममा हेडलाइन पढिन्छ, सुनिन्छ । समाचार पढिँदैन । त्यसो भएपछि मन नपरेकाको उछित्तो काढ्ने नेपालीको आमचरित्र छ । तसर्थ, भाषण गर्दा विवेक पुर्याउनुपर्छ । म पनि त्यसै गर्छु ।
मेरो मापसे
सभा–समारोहविशेषमा मादक पदार्थ खाने गर्छु । खाँदा एक/दुई पेगसम्म लिन्छु ।
मेरो संगीत
गीत संगीत सुन्न असाध्यै मन लाग्छ । गायक नारायण गोपाल, राजेशपायल राई, रामकृष्ण ढकाल, अरूणा लामा र कुन्ती मोक्तानको स्वर कर्णप्रिय लाग्छन् । म गीत पनि गाउँछु ।
मेरो भूल
मान्छे हो, जीवनमा जानअन्जानमा भूल गर्नु अस्वाभाविक होइन । त्यो ममा पनि लागू हुन्छ । मैले गरेका कतिपय भूल स्मरणीय छन् । राजनीतिककर्मीको सन्दर्भमा भूल नगरी पाइने सजाय कति हुन्छन् कति ।
मेरो घर
म बस्दै आएको घर संवत् २०६० मा बनेको हो । घरको डिजाइन सामान्य छ । वास्तुशास्त्र हेराउने कुरा चले पनि नहेराइ घर बनाइयो । त्यतिबेला झन्डै ३५ लाखमा घर ठडिएको थियो ।
मेरो राशी
मेरो राशी मिथुन हो । निर्वाचनअघि ग्रहदशा हेराउन ज्योतिषीहरूले डाक्नुभएको थियो । म गइनँ । ग्रहदशामा विश्वास छैन । परिवारले झुक्याएर एकपटक गराएकोबाहेक ग्रहशान्ति गराएको छैन ।
मेरो सौन्दर्यचेत
कपालमा केही लगाउँदिनँ । फेसियल गर्ने बानी छैन । कपाल काट्न जाँदा, हजामले तपाईंसँग समय छ के हो भनेर कहिलेकाहीं ख्यालठट्टामै फेसियल गरिदिएकोबाहेक गरेको छैन । ‘पफ्र्युम युज’ गर्छु । कहिलेकाहीं साउनाबाथ, स्टीम बसेको छु । बडिमसाज गराएको छु ।
मेरो प्रेम
हाम्रो मागीबिहे भएको हो । कोही मसँग प्रेम गर्न चाहन्थे मैले चाहिनँ । कसैलाई चाहन्थें, उसले मलाई प्रेम गरेन ।
मेरो सपना
राजनीतिक चेतसहित राजनीतिमा संलग्न हुँदादेखि समाजवादको सपना देख्न छाडेको छैन । राजनीतिको अन्तिम बिन्दु कहाँ हुन्छ भन्ने यकिन हुँदैन । तर, जनताका छोराले पुग्न सक्ने सबैभन्दा उच्च पदको भूमिका निर्वाह गर्ने अभीष्ट छ ।
मेरो मृत्यु
मानिसका पाँच इन्द्रिय उमेरसँग कमजोर बन्दै जान्छन् । त्यसलाई पहिलेकै अवस्थामा फर्काउन असम्भव छ । इन्द्रिय कमजोर बन्दै गएपछि एक दिन मर्नैपर्छ । तर, मृत्युसँग डर लाग्दैन । केही समयअघि अराजक समूहले आक्रमण गर्दा ज्यान जोगाउन सफल भएँ । त्यो घटना सानोतिनो थिएन । राजनीतिक कर्मको सबैभन्दा ठूलो कर्म भनेकै मलामी हो । मैले नदेखे पनि मेरा मृत्युमा धेरै मलामी आऊन् भन्ने इच्छा छ । बुवाआमा जीवित रहँदा मेरो मृत्यु भएमा उहाँहरूले रुन नपरोस् ।
यो जीवनकथा पनि पढ्नुहोस्
रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ
‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत
गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो
पत्रकार देवप्रकाश त्रिपाठीको जीवन : किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ
काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक
अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन
कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु
धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल
सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड
काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ
मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित
प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’
कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्
नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध
अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें
साहित्यकार खगेन्द्र संग्रौलाको जीवन : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें
लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता