शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

सोमबार, ०६ भदौ २०७९, २० : ५५
सोमबार, ०६ भदौ २०७९

आज २०७९ साउन भदौ ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल; एमालेको ३७ बुँदे सुझाव, सिट बाँडफाँटबारे गठबन्धनमा छलफल; भोलि फेरि बैठक, गठबन्धनप्रति ओलीको कटाक्ष– कालापानी, लिपुलेक नेपालको हो भन्न डराए, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा घोषणापत्र बनाउने, प्रदीप गिरिको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित, पार्टी अनुशासन तोड्नेलाई कारबाही ः प्रचण्ड, नेपाली नर्स बेलायतमा रोजगारीका लागि जाने बाटो खुल्यो लगायत छन् ।

१. निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल; एमालेको ३७ बुँदे सुझाव
निर्वाचन आयोगले सोमबार निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित बनाउने उद्देश्यले आचारसंहिता जारी गर्ने तयारीमा रहेको आयोगले त्यसबारे छलफल गरेको हो । यस क्रममा नेकपा एमालेले आयोगलाई ३७ बुँदे सुझाव दिएको छ ।

​२. सिट बाँडफाँटबारे गठबन्धनमा छलफल; भोलि फेरि बैठक
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटबारे सोमबार छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन । आसन्न निर्वाचनमा गठबन्धनभित्र कसरी सिट बाँडफाँट गर्ने भन्नेबारे छलफल भएको हो ।

३. गठबन्धनप्रति ओलीको कटाक्ष– कालापानी, लिपुलेक नेपालको हो भन्न डराए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु कालापानी, लिपुलेक नेपालको हो भन्न डराएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारको पनि कडा आलोचना गरे । 

४. माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा घोषणापत्र बनाउने
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा घोषणापत्र बनाउने भएका छन् ।

५. प्रदीप गिरिको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सोमबार संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । गिरिको गत शनिबार राति निधन भएको थियो ।

६. पार्टी अनुशासन तोड्नेलाई कारबाही : प्रचण्ड 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अनुशासन तोड्नेलाई कारबाही हुने जनाएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीभित्र भएको अन्तरघातको सन्दर्भमा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

७. नेपाली नर्स बेलायतमा रोजगारीका लागि जाने बाटो खुल्यो
नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

८. न्यायाधीश नियुक्तिमा सर्वोच्चकै नजिरको उपेक्षा
सर्वोच्च अदालतले आरक्षणका सम्बन्धमा गरेको एक आदेशकै खिलाफ हुने गरी जिल्ला न्यायाधीशका लागि सिफारिस र नियुक्ति भएको पाइएको छ ।  

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी नेताहरु आफ्नो चुनाव क्षेत्र सुरक्षित तुल्याउने अभियानमा छन् । यसै क्रममा तनहुँ–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस नेता रामचन्द्र पौडेललाई गठबन्धनबाट टिकट पाउन नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठको दाबीले मात्र नभइ कांग्रेसकै अन्य दुई आकांक्षीका कारण पनि समस्या हुने देखिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि प्रहरीलाई साना हतियार अपुग हुने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने तयारी थालेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप