शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

ओलीको कटाक्ष : ६ महिने चटके मन्त्री हिरो बन्न खोज्ने ?

सोमबार, ०६ भदौ २०७९, १० : ००
सोमबार, ०६ भदौ २०७९

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शान्ति प्रक्रियाका नाममा पीडितलाई थप पीडा दिन लागिरहेको भन्दै गठबन्धन सरकारप्रति कटाक्ष गरेका छन् । उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगले कानुन संशोधन गर्न खोजेको आरोप लगाउँदै शान्ति प्रक्रिया देश र जनताका लागि टुंग्याउनुपर्नेमा जोड दिए । 

‘शान्ति प्रक्रिया टुंग्याउछु भन्दै पीडितमाथि पीडा थपेर दमन गरेर एउटा मन्त्री कुदिरहेको देख्छु । पीडितहरुलाई बोलायो दिनभरी पर्खायो, अपमान गरेर फर्कायो । कस्ता अनाडी सरकारमा पुगेका छन् ?’, ओलीको प्रश्न छ । उनले पीडितलाई रुवाएर कसैले घोषणा गर्दैमा शान्ति प्रक्रिया नटुंगिने दावी गरे । 

‘पीडा र आँसुमाथि मजाक उडाउँदै अट्टहास गर्दै शान्ति प्रक्रिया पुरा हुन्छ ? परिपुरण दिनुपर्यो, सत्य निरुपण खोइ ? चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुन खोज्ने ?’ओलीको प्रश्न छ । उनले शान्ति प्रक्रियाबारे प्रमुख प्रतिपक्षसँग एक वचन सल्लाह समेत नगरेको बताए । ‘मनपरी विधेयक भनेको छ ल्याएको छ, पीडितलाई थप पीडा दिएको छ’, ओलीको भनाइ छ । 

उनले माओवादी लडाकुलाई प्रचण्डले भ्रममा पारेर युद्धको मैदानमा होमेको भन्दै उनले युवाको दुरुपयोग गरेर कतिका परिवार छिन्नभिन्न बनाएको बताए । उनले जनयुद्धमा गोली खाएकाहरुलाई प्रचण्डले भेट्नै छाडेको भन्दै एमालेमा आए उनीहरुका शरिरमा रहेको गोली एमालेले झिकिदिने बताए ।  

ओलीले जाँड खाएर मरेका मान्छेको सालिक बनाउँदै हिँडेको आरोप पनि लगाए । ‘जाँड खाएर मरेका मान्छेको सालिक बनाउँदै हिँडेका छन् । सहिदको बनाउनुपर्छ कि पर्दैन ? सहिदका परिवार चिन्नु नपरेको र भेटेन समेत नपरेको’, उनले भने, ‘प्रचण्ड त ऐस आराम र बेग्लै जमानामा छन् ।’

उनले प्रचण्ड परिवारवादबाट मुक्त हुन नसकेको भन्दै सात पुस्ता नातागोताबाहेक अन्त नगएको बताए । ‘सम्धीका सम्धीको....सबै सप्रेका छन् । युरिया हालेजस्तै’, ओलीको भनाइ छ ।  उनले चुनावबाट गठबन्धन भाग्न नसक्ने भन्दै गठबन्धनका नेताहरु भागबण्डा गरेर बसेको तर जनताले भागबण्डेलाई देखाइदिने बताए । उनले सिन्धुपाल्चोकबाट २ जना प्रतिनिधिसभा र चारजना प्रदेश सांसद एमालेले जित्नेमा आफु विश्वस्त रहेको बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप