शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सी–आश्वा शुल्क घट्ने : कुन बैंकको शुल्क कति ?

सोमबार, ०६ भदौ २०७९, १५ : ०९
सोमबार, ०६ भदौ २०७९

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने तयारी थालेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुनः संशोधन गर्दै बोर्डले सी–आश्वा शुल्क ५ रुपैयाँ झार्ने तयारी गरेको हो । 

धितोपत्र बोर्डको आइतबार बसेको बोर्ड बैठकले उक्त निर्देशिका संशोधनको प्रस्ताव गरेको अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । यसअघि धितोपत्र खरिद (दोस्रो संशोधन) निर्देशिका, २०७३ ले धितोपत्र निष्कासन तथा सी–आश्वा सेवा प्रदान गरे बापत सेवा प्रदायकले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । 

धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ को परिच्छेद ४ मा विविध शीर्षक अन्तर्गत सेवा शुल्क लिन सक्ने व्यवस्थाको बुँदा नम्बर १२ को उपदफा (१) मा बैंक वा वित्तीय संस्थाले निर्देशिका बमोजिम धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँसम्म सेवा शुल्क लिन सक्नेछन् भन्ने व्यवस्था गरेको छ । 

सोही व्यवस्थालाई पुनः संशोधन गर्दै बोर्डले सी–आश्वा शुल्कलाई ५ रुपैयाँमा झार्न लागेको हो । यदी सोही बमोजिम निर्देशिका संशोधन भए बैंक तथा वित्तीय संस्थाहरूले ५ रुपैयाँ भन्दा बढी सी–आश्वा सुल्क लिन पाउने छैनन् । यसले धितोपत्र बजारमा थप लगानीकर्ताहरू आकर्षित हुने देखिन्छ ।

हाल बैंकहरूले सी–आश्वा शुल्क बढी लिइरहँदा आईपीओ नपर्नेहरूका लागि शुल्क मात्र बुझाएर हैरान भएर आईपीओ भर्न छाडेका लगानीकर्ताहरू सो व्यवस्था भए पुनः सेयर बजारमा आकर्षित हुने देखिन्छ । 

हाल कुन बैंकले कति लिइरहेका छन् सी–आश्वा शुल्क ?

हाल कायम २६ वटा वाणिज्य बैंकहरू मध्ये तीन वटा बैंकले निःशुल्क सी–आश्वा सेवा प्रदान गरिरहेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकले विना शुल्क नै सेवाग्राहीहरूलाई सी–आश्वा सुविधा प्रदान गरिरहेका छन् । 

तर, बाँकी २३ वटा बैंकहरूले भने न्यूनतम १० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म सी–आश्वा शुल्क लिने गरेका छन् । 

१० रुपैयाँ शुल्क लिने बैंकहरू

दुई वटा सरकारी बैंकसहित ६ वटा निजी बैंकले सी–आश्वा सेवा प्रदान गरेबापत १० रुपैयाँ शुल्क लिने गर्छन् । जसमा नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू (बीओके), एनसीसी बैंक, माछापुच्छ्रे  बैंक, प्राइम बैंक र सिद्धार्थ बैंक रहेका छन् । 

१५ रुपैयाँ शुल्क लिने बैंक,

सी–आश्वा शुल्क १५ रुपैयाँ लिने बैंकमा एक मात्र ग्लोबल आईएमई बैंक रहेको छ ।

२० रुपैयाँ शुल्क लिने बैंकहरू,

८ वटा वाणिज्य बैंकहरूले सी–आश्वा सेवा बापत २० रुपैयाँ शुल्क लिने गर्छन् । सानिमा बैंक, एनएमबी बैंक, सिटिजन बैंक, हिमालयन बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सिभिल बैंकले प्रति आश्वा २० रुपैयाँ सेवा शुल्क लिने गर्छन् । 

अधिकतम १०० रुपैयाँ सी–आश्वा शुल्क लिने एक मात्र स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकले सी–आश्वा सेवा प्रदान गरे बापत प्रति सेवाग्राही एक पटकमा १०० रुपैयाँसम्म शुल्क लिनेगर्छ । जुन सबैभन्दा महँगो हो ।

बैंक अनुसार सी–आश्वा शुल्क

हालको व्यवस्था अनुसार बैंकहरूले लिने शुल्क मध्ये सिडिएस एण्ड क्लियरीङले २ रुपैयाँ र  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउने व्यवस्था रहेको छ । त्यसभन्दा माथि भने स्वयम् सी–आश्वा सेवा प्रदायक कम्पनीले नै राख्ने गरेका थिए ।  

तर, अब बन्ने नयाँ व्यवस्थाले आईपीओ निष्काशनका लागि कम्पनीले नियुक्त गरेको बिक्री प्रबन्धकलाई १ रुपैयाँ मात्र प्रदान गरेर १ रुपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले पाउने छ । बाँकी ३ रुपैयाँसम्म सेवाप्रदायक कम्पनीले राख्न सक्नेछन् । तर, कम्पनीले सो शुल्क समेत नलिएर पाँच रुपैयाँ भन्दा घटीमा पनि सी–आश्वा सुविधा प्रदान गर्न सक्ने धितोपत्र बोर्डले जनाएको छ । 

पछिल्लो समय धितोपत्र बजारमा निष्कासन हुने एक कम्पनीको आईपीओमा नै २५ लाख माथिले सी–आश्वा भर्न थालेपछि ठूलो सङ्ख्यालाई ख्याल गर्दै बोर्डले शुल्क घटाउने तयारी गरेको हो । 

सिडिएससीका अनुसार हालसम्म अनलाइन, मेरो सेयर खाता खोल्ने सेवाग्राहीहरूको सङ्ख्या ५३ लाख ३७ हजार ७७० पुगिसकेको छ भने क्रियाशील प्रयोगकर्ताहरूको सङ्ख्या ४४ लाख ३२ हजार ५४७ रहेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप