शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा कुन दलबाट को–को छन् आकांक्षी ?

सोमबार, ०६ भदौ २०७९, १० : ५३
सोमबार, ०६ भदौ २०७९

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमात्र नभएर त्यसपछि बन्ने सरकारको जोडघटाउमा समेत राजनीतिक दलहरुले ध्यान केन्द्रित गर्न थालेका छन् । सोही क्रममा दलहरुले आसन्न निर्वाचनपछि कस्तो समीकरण बन्ला र प्रदेश सरकारको नेतृत्व कसले गर्ला भन्नेबारे पनि आन्तरिक लेखाजोखा गर्न थालेका छन् ।

आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आफ्नो जित हुने आकलन गर्दै सोही अनुसारको तयारी गर्न थालेका छन् । २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमाले अहिले प्रमुख प्रतिपक्षमा छ । लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल हाल प्रमुख प्रतिपक्षका नेता छन् । उनी अब प्रदेशसभामा नआउने निश्चित भइसकेको छ । उनले प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारी गरेका छन् ।

त्यसैले पनि एमालेले आसन्न निर्वाचनमा भावी मुख्यमन्त्रीका रुपमा कसलाई मैदानमा उतार्छ भन्नेबारे धेरैको चासो छ । कार्यकर्तापंक्तिमा भने एमालेका तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा तीन जनाको नाम चर्चामा आएको छ ।

हाल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरी, प्रदेशको सार्वजनिक लेखा समितिको सभापति विष्णु पन्थी र एमाले केन्द्रीय सदस्य  तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेको नाम भावी मुख्यमन्त्रीका रुपमा चर्चामा छ । स्रोतका अनुसार पाण्डेले प्रतिनिधिसभाका लागि दाबी गरिरहेका छन् । तर सोही क्षेत्रबाट कोमल वलीले पनि प्रतिनिधिसभामा दाबी गरेका कारण पाण्डेलाई भावी मुख्यमन्त्रीका रुपमा प्रदेशसभामा उतारेर प्रतिनिधिसभातर्फ वलीलाई उम्मेदवार बनाउने तयारीमा पार्टीका महासचिव शंकर पोखरेल जुटेको स्रोत बताउँछ ।

यता, हाल संसदीय उपनेता बैजनाथ चौधरी पनि एमाले नेतृत्वको सरकारमा सरकारको प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री थिए । उनले प्रदेशसभामै उम्मेदवार बनेर भावी मुख्यमन्त्रीका रुपमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको उनी निकट कार्यकर्ता बताउँछन् ।

यस्तै लुम्बिनी प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीलाई पनि एमालेका तर्फबाट भावी मुख्यमन्त्रीको सम्भावित दाबेदार मानिएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीमा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ भने एमाले यतिबेला चुनावी तयारीमा जुटेको तर मुख्यमन्त्री या संसदीय दलको नेता कसलाई बनाउने भन्ने पार्टीभित्र अझैसम्म छलफल नभएको बताउँछन् ।

उनले भने, ‘अझै त्यस विषयमा छलफल भएको छैन, अहिले आएका पात्र दोहोरिने कि नयाँ आउने भन्ने कुरा टिकट वितरण गर्ने बेलासम्म स्पष्ट हुन्छ ।’

कांग्रेसमा को को छन् मुख्यमन्त्रीका आकांक्षी ?

एमालेमा जस्तै नेपाली कांग्रेसमा पनि  मुख्यमन्त्री बन्ने सपना पालेका नेताहरु छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी भावी मुख्यमन्त्रीको दाबेदार हुन् ।

कनौडिया सत्तारुढ गठबन्धनबीच भएको भद्र सहमतिअनुसार अहिले नै आलोपालो नेतृत्व अन्तर्गत मुख्यमन्त्री बन्ने आशमा थिए । तर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्दा अन्य प्रदेशमा पनि असर पर्ने केन्द्रका नेताहरुको बुझाईपछि उनको मुख्यमन्त्री बन्ने सपना अधुरो रहेको हो । आसन्न निर्वाचनपछि आफूले नै गठबन्धन सरकारको नेतृत्व पाउने उनको आश छ ।

नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको दाबी गर्ने अर्का नेता अमर सिंह पुन पार्टीको प्रदेश सभापति भएका नाताले पनि मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वाभाविक रुपमा रहने बताउँछन् । ‘केन्द्रमा स्वाभाविक रुपमा पार्टी सभापतिले सरकारको नेतृत्वका लागि दाबी गर्ने भएकाले प्रदेशमा पनि मुख्यमन्त्रीमा प्रदेश अध्यक्षको दाबीलाई अस्वाभाविक मान्नु हुँदैन,’ उनले भने ।

उनी रोल्पाबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । रोल्पाको प्रतिनिधिसभा सिटतर्फ नेकपा माओवादी केन्द्रका वर्षमान पुन सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यसैले प्रदेशसभाको एउटा सिटमा कांग्रेसका प्रदेश अध्यक्ष पुनले दाबी गरेका छन् । उनको प्रदेशसभा निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा माओवादीका दिपेन्द्र पुनले जितेका थिए ।

नेपाली कांग्रेसभित्र मुख्यमन्त्री दाबी गर्ने अर्का नेता सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी पनि हुन् । पार्टी सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध रहेका चौधरी पनि मुख्यमन्त्रीका दाबेदार बन्न सक्ने केही नेता बताउँछन् ।

माओवादीभित्र को को आकांक्षी ?

लुम्बिनी प्रदेशमा भावी मुख्यमन्त्रीका रुपमा माओवादीबाट चार नेता आकांक्षी छन् । हालका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सभामुख पूर्णबहादुर घर्ती मगर, माओवादीका लुम्बिनी प्रदेश सहइन्चार्ज जोग बहादुर महरा भावी मुख्यमन्त्रीका आकांक्षी छन् ।

हालका मुख्यमन्त्री कुलप्रसाद केसी फेरि मुख्यमन्त्री बन्ने अवस्थामा मात्र प्रदेशसभामा जाने अन्यथा राष्ट्रियसभा या अन्य भूमिकामा जाने मनस्थिति बनाएको उनी निकट केही कार्यकर्ताहरु बताउँछन् ।

पूर्व मन्त्री बराल पनि प्रदेश अध्यक्ष भएका कारण मुख्यमन्त्रीका रुपमा उनको स्वाभाविक दाबी रहने कार्यकर्ताहरु बताउँछन् ।

माओवादीभित्र रोल्पाका जोग बहादुर महराको नाम पनि भावी मुख्यमन्त्रीका रुपमा चर्चामा छ । मुख्यमन्त्री बन्ने योजना अनुसार नै उनी पार्टीको सहइन्चार्जको भूमिकामा आएको कतिपय कार्यकर्ताको बुझाइ छ । यस्तै, सभामुख पूर्णबहादुर घर्ती पनि मुख्यमन्त्री बन्न आफू निकटका नेताहरुसँग लबिङ गरिरहेको स्रोत बताउँछ । उनी मुख्यमन्त्री नपाउने अवस्थामा आफू अब प्रदेशसभा छाडेर राष्ट्रिय सभातिर जान इच्छुक देखिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप