बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रचण्ड–बाबुरामको पुनर्मिलन, प्रहरी समायोजन अलपत्र​

मङ्गलबार, ३१ साउन २०७९, २० : ४३
मङ्गलबार, ३१ साउन २०७९

आज २०७९ साउन ३१ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

प्रचण्ड–बाबुरामको पुनर्मिलन

२०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम भट्टराई पुनः हँसिया–हथौडा चुनाव चिह्न लिएर लड्न सहमत भएका छन् । एउटै चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ता गर्नका लागि दुई दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रहरी समायोजन अलपत्र​

प्रहरी समायोजन ऐन बनेको करिब ३० महिना हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन हुन सकेको छैन । प्रहरी समायोजन प्रक्रिया अघि नबढाएको भन्दै मधेस प्रदेश सरकार आन्दोलनमा उत्रिएको छ । एक वर्षअघि मधेस प्रदेशसभाबाट प्रहरी समायोजन हुनुपर्छ भनेर सार्वजनिक महत्त्वको प्रस्ताव पास गरिएको थियो । तर, मधेस सरकारले जति नै दबाब दिए पनि केन्द्रीय गृह मन्त्रालयका अधिकारी र प्रहरी प्रधान कार्यालयले प्रहरी समायोजनमा चासो देखाउन छाडेका छन् ।

चुनाव लड्ने तयारीमा २७ नेतृ​

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि महिला नेतृहरु दबाबसहित लबिङमा छन् । उनीहरूले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे ध्यानाकर्षण गराएका छन् ।

पूर्व सैनिक र पूर्व लडाकु मिलेर लुटपाट​

कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ​

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । 

धनकुटामा चुनावी ब्याटल​

धनकुटा नेपाली काँग्रेसका नेता सुनिल थापाको गृह जिल्ला हो । उनी धनकुटाबाटै चुनाव लड्दै आएका छन् । उनले यस पटक पनि धनकुटा नछोड्ने बताएका छन् । यता, धनकुटालाई एमालेको गढ मानिन्छ । त्यसैले यहाँ यस पटक सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

असार महिनामा बजार महँगी ८ प्रतिशत रह्यो​

नेपाल राष्ट्र बैंकले गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत मात्र रहेको जनाएको छ । आर्थिक वर्ष मौद्रिक नीति मार्फत बैंकले औसत मुद्रास्फीति ६.५ प्रतिशत रहने प्रक्षेपण गरेपनि वर्षको अन्तसम्ममा ८.०८ प्रतिशतसम्म पुगेको हो ।​

थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि​

पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२१ जना जिल्ला न्यायाधीश सिफारिस​

न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

टोपबहादुरलाई टक्कर​

२०६४ सालदेखि लगातार अर्घाखाँचीबाट चुनाव जितेका टोपबहादुर रायमाझी अहिले पुनः मैदानमा जाँदैछन् । विगतमा नेकपा माओवादीबाट मैदानमा रहेका रायमाझी अहिले भने एमालेबाट भोट माग्ने अवस्थामा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप