बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्व सैनिक र पूर्व लडाकु मिलेर कीर्तिपुरबाट २९ तोला सुन लुटपाट

मङ्गलबार, ३१ साउन २०७९, १६ : ५७
मङ्गलबार, ३१ साउन २०७९

कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३८ वर्षका राम सिंह तामाङ र मकवानपुर घर भएका ३८ वर्षीय दिल बहादुर सिङतानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । चन्द्रागिरि नगरपालिका–३ घर भएका रोशन तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको मध्येका मेलम्ची नगरपालिका–७ तालामाराङका राम सिंह तामाङ पूर्व सैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनी २०६४ देखी २०७४ सम्म जेल बसेको देखिन्छ ।

कीर्तिपुर लुटमा संलग्न अर्का आरोपी मकवानपुरका दिल बहादुर सिङतान पूर्व लडाकु हुन् । जनयुद्धमा सहभागी सिङतान जोरपाटीमा बस्छन् । जनयुद्ध पछि डाँका गर्न थालेका सिङतान खुन डाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् । ललितपुरको झरुवारासीमा श्रवण खड्कालाई हत्या गरेर लुटेका मुद्दामा उनी जेल परेका हुन् ।

जेलमा चिनजानपछि बन्यो ‘डकैत समूह’

कीर्तिपुर लुटमा संलग्न ६ जना थिए । तर, सो समूहमा १० जना लुटेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । सो समूहमा संलग्न बाबुलाल थिङ ‘सुशील’ लाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया घर भएर जोरपाटी बस्ने ३५ वर्षीय बाबुलाल काठमाडौँको शंखरापुरमा भएको लुटमा संलग्न थिए ।

असार १२ मा शंखरापुर–९ स्थित सुशीला थापाको घरमा धारिलो हतियार देखाएर बाबुलाल सहितको समूहले लुटेका थिए । बाबुलाल थिङलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बौद्धमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराले रातोपाटीलाई बताए । उनले भने–‘बाबुलाल कीर्तिपुरको घटनामा संलग्न देखिएनन् ।’

सो समूहले असार २० मा काभ्रेको बनेपा स्थित सलाम सिंह लामाको घरमा लुटेका थिए । सलामसिंहको घरमा लुटेको आरोपमा मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मिलनलाई इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।

उपत्यकाको खतरनाक ‘लुटेरा समूह’ भनेर चिनिएका १० जना मध्ये ५ जना पक्राउ परेका छन् । ५ जना फरार छन् । अधिकांश लुटेराहरूको चिनजान जेलमा भएको थियो । नख्खु कारागारमा बस्दा उनीहरूको बिचमा चिनजान भएर समूह बनाएको अनुसन्धानमा संलग्न डिएसपी किरण न्यौपानेले बताए । डिएसपी न्यौपाने भन्छन्–‘समूहका १० जनामध्ये ७ जना पटके आरोपी छन्, ३ जना मात्रै नयाँ सदस्य थपिएको देखिन्छ ।’

सो समूहले शंखरापुर नगरपालिका–९ स्थित खुलालटारमा पनि लुटेको अनुसन्धानबाट थाहा भएको छ । असार ६ मा खुलालटार स्थित लाल बहादुर थापाको घरमा पसेर हतियार देखाएर उनीहरूले नगद र सुन लुटेर भागेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप