शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा गठबन्धनबाट थापा, भण्डारी र चेम्जोङको हानथाप, एमालेबाट तीन जना आकाङ्क्षी

मङ्गलबार, ३१ साउन २०७९, १७ : ०७
मङ्गलबार, ३१ साउन २०७९

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएलगत्तै देशभर चुनावको माहौल तात्न थालेको छ । सोही क्रममा धनकुटा जिल्लामा निर्वाचनको चहलपहल सुरु भएको छ ।

धनकुटा नेपाली काँग्रेसका नेता सुनिल थापाको गृह जिल्ला हो । उनी धनकुटाबाटै चुनाव लड्दै आएका छन् । उनले यस पटक पनि धनकुटा नछोड्ने बताएका छन् । यता, धनकुटालाई एमालेको गढ मानिन्छ । त्यसैले यहाँ यस पटक सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेपाली काँग्रेस धनकुटाका सभापति दिनेश राईले गठबन्धनको तर्फबाट संघीय संसद्‍मा सुनिल थापा निर्विवाद उम्मेदवार हुने बताए । ‘हाम्रो गठबन्धनको तर्फबाट सुनिल थापा संघीय सांसदको निर्विवाद उम्मेदवार हो,’ उनले भने, ‘दलीय मतको हिसाबले पनि र सिनियरिटीको हिसाबले पनि उहाँलाई सबैले सहयोग गर्नुपर्छ ।’

थापा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितिको सदस्य पनि हुन् ।

​यता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारीले धनकुटामा आफ्नो पार्टीले पनि दाबी गर्ने बताए । ‘अघिल्लो पटक पार्टीका नेताहरूले धनकुटामा माओवादीलाई शून्य सिटमा राखेका थिए,’ भण्डारीले भने, ‘यस पटक हामीले संघीय संसद्‍मा दाबी गरेका छौँ, पार्टीले यो पटक पनि अघिल्लो पटककै जस्तो शून्य सिटमा राख्ने कुरा ग¥यो भने हामी पार्टीको निर्णयकै विरुद्धमा जान्छौँ ।’

संघीय संसद्‍मा यस पटक आफूले चुनाव लड्ने उनको भनाइ छ । ‘गठबन्धनबाट माओवादीले पाउनुपर्छ र त्यसका लागि पार्टीले मलाई अगाडि सार्नेमा म ढुक्क छु,’ भण्डारीले भने । उनले यहाँ गठबन्धनको जनमत निकै बलियो रहेको पनि बताए । ‘यहाँ एमालेको भन्दा गठबन्धनको मत बलियो छ । स्थानीय तहको निर्वाचनमा पनि यहाँ गठबन्धनबाट धेरै पालिका जितेका छौँ’, उनले भने ।

जसपाका नेता रकम चेम्जोङले पनि आफू संघीय संसद्को उम्मेदवार बन्न इच्छुक रहेको बताए । ‘राजनीति गर्ने मान्छेले चुनावमा नउठ्ने भन्ने नै हुँदैन नि’, उनले भने, ‘अहिले गठबन्धनको कार्यदलमा म पनि सदस्य छु, कार्यदलले छलफल गरिरहेको छ, धनकुटा कसको भागमा पर्छ भन्ने कुराले मेरो विषय पनि प्रस्ट हुन्छ ।’

चेम्जोङ अघिल्लो निर्वाचनमा सुनिल थापालाई सघाएको कारण यस पटक आफूलाई थापाले छोड्ने विश्वास व्यक्त गरे । ‘मैले यस विषयमा सुनिल थापासँग कुरा गरेको छैन,’ उनले भने, ‘तर, अघिल्लो पटक चुनाव लड्दा नै हामीले उहाँलाई सघाएका हौँ, यस पटक उहाँले सघाउनु हुन्छ भन्ने विश्वास छ ।’

यता, एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले एक्लाएक्लै लड्दा एमालेले सजिलै जित्ने दाबी गरे । ‘स्थानीय तहमा आएको लोकप्रिय मतका आधारमा एमाले पहिलो दल हो, विगतमा पनि हामी तीनवटै निर्वाचन क्षेत्रमा विजयी भएका हौँ,’ पराजुलीले भने, ‘यस पटक पनि हामी जित निकाल्नेमा ढुक्क छौँ ।’

उनले सत्तारुढ दलहरू गठबन्धन गरेर आएको खण्डमा कडा प्रतिस्पर्धा हुने भए पनि जित आफूहरूले निकाल्ने दाबी गरे । ‘सत्ता गठबन्धनका दलहरू मिलेर आएको खण्डमा प्रतिस्पर्धाचाहिँ हुन्छ,’ पराजुलीले भने, ‘प्रतिस्पर्धाका बीचमा पनि हामी नै जित्छौँ, किनकि गठबन्धन दलको लोकप्रिय मत हामीहरूको भन्दा केही सय मात्रै बढी छ ।’

उम्मेदवार बन्न होडबाजी

धनकुटामा नेपाली काँग्रेसबाट थापाले प्रतिनिधिसभा उम्मेदवार बन्ने बताइसकेका छन् । काँग्रेसबाटै नेताहरू विजयी सन्तोषी राई, आनन्द सन्तोषी राई, लीला सुब्बा, कमोट फागो लगायतको नाम प्रदेशसभामा उम्मेदवार बन्न चर्चामा छ । यस्तै माओवादी केन्द्रबाट भण्डारीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने बताएका छन् ।

प्रदेशसभामा भने ऋषिराम ढुङ्गाना, कुसुम कुमारी श्रेष्ठ र डिल्लीराम राई लगायतको नाम चर्चामा छ । ढुङ्गाना माओवादी केन्द्र प्रदेश १ का सहसचिव हुन् भने श्रेष्ठ प्रदेश १ की बहालवाला समानुपातिक सांसद हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका नेता धर्मराज पौडेलले पनि प्रदेशसभामा गठबन्धनको तर्फबाट दाबी गर्ने तयारी गरेका छन् । उनी जिल्ला विकास समितिका पूर्व सभापति पनि हुन् । यता, जनता समाजवादी पार्टीबाट संघीय सांसदका लागि रकम चेम्जोङले पनि जोड दिइरहेका छन् भने प्रदेशसभामा बलबहादुर राई, र पार्वती राईले आकाङ्क्षा राखेका छन् ।

नेकपा एमालेबाट भने हालका संघीय सांसद, केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्रकुमार राई, एमालेका प्रदेश १ उपाध्यक्ष टीकाराम चेम्जोङ, धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीलगायतले प्रतिनिधिसभामा उम्मेदवारी दिने इच्छा राखेका छन् । स्रोतका अनुसार संघमा राजेन्द्र र प्रदेशमा पुनः पराजुली र चेम्जोङलाई एमालेले टिकट दिने सम्भावना छ । पराजुली प्रदेशसभामा निर्वाचित वर्तमान सांसद हुन् भने चेम्जोङ नयाँ अनुहार हुन् ।

आकाङ्क्षा राख्नेहरुमा भने एमालेका जिल्ला सचिव निरन राई (हालका प्रदेश सांसद), केन्द्रीय सदस्य तथा धनकुटाकी सहइन्चार्ज शकुन्तला बस्नेत पनि छन् । बस्नेत धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख पनि हुन् ।

स्थानीय तह निर्वाचन २०७९ को अवस्था

यसैबीच सत्ता गठबन्धनका चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच धनकुटामा मिलेर चुनाव लड्दा एमालेसँग प्रतिस्पर्धामा आउने देखिन्छ । एकल चुनाव लड्दा तुलनात्मक रूपमा निकै बलियो रहेको नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन दलहरूको मतभन्दा केही कममात्रै मत पाएको देखिन्छ ।

उक्त निर्वाचनमा काँग्रेसले २८ हजार १८२, माओवादी केन्द्रले ५ हजार ४५८, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र जनता समाजवादी पार्टीले २ हजार २९२ मत ल्याएका छन् । सबैको मत जोड्दा ३७ हजार ६६० पुग्छ ।

यता एमाले एक्लैको मत ३६ हजार ३३६ छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सोही मत कायम हुने सम्भावना भने कम छ । किनकि गठबन्धन दलहरूले सबै वडामा उम्मेदवारी दिएका थिएनन् भने एमालेले सबै वडामा उम्मेदवारी दिएको थियो ।

स्थानीय तह निर्वाचनमा एमालेले ६० वटा वडामध्ये धनकुटाका ३१ वडामा जित निकालेको छ । काँग्रेसले २६, माओवादीले २ र जसपाले १ वडामा जित निकालेको छ । यस्तै ७ वटा पालिकामध्ये ३ पालिकामा एमाले र ४ पालिकामा नेपाली काँग्रेसले जितेका छन् । स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

२०७४ सालको निर्वाचनमा दुई गठबन्धन

२०७४ सालको निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्रकुमार राईले ३७ हजार ३३३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस, तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन गरेर निर्वाचनमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले २६ हजार ८७४ मत ल्याएका थिए । थापा हाल नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् ।

यस्तै धनकुटाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ वाट वाम गठबन्धनका उम्मेदवार एमालेका निरन राईले २० हजार ८८ मत ल्याएर विजयी हुँदा राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरमसँग मिलेर उठेका नेपाली काँग्रेसका मनोहर नारायण श्रेष्ठले १३ हजार ४४२ मत पाएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट पनि वाम गठबन्धनबाट एमालेका इन्द्रमणि पराजुली २० हजार ६५२ मत ल्याएर विजयी भएका थिए । उनले संघीय समाजवादी फोरम नेपालका अर्जुन थापालाई पराजित गरेका हुन् । थापा काँग्रेस, राप्रपा (प्रजातान्त्रिक) र तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट संयुक्त उम्मेदवार बनेका थिए । उनले ८ हजार २१३ मतमात्रै पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप