शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा २७ नेतृ

मङ्गलबार, ३१ साउन २०७९, ०७ : ३३
मङ्गलबार, ३१ साउन २०७९

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि महिला नेतृहरु दबाबसहित लबिङमा छन् । उनीहरूले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा महिला र पुरुषको समान प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ । ०७४ को निर्वाचनमा काँग्रेसले ९ जना महिलालाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो ।

१४५ क्षेत्रमा पुरुषले टिकट पाउँदा प्रत्यक्षतर्फ महिला ९ सिटमा सीमित भएका थिए । पहिलो चरणमा नेपाली काँग्रेसबाट खोटाङकी सरस्वती बजिमय र बागलुङ क्षेत्र नम्बर १ बाट चम्पा खड्काले मात्र प्रत्यक्षतर्फ टिकट पाएका थिए ।

दोस्रो चरणमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी डीना उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणालाई काँग्रेसले प्रत्यक्षतर्फ मैदानमा उतारेको थियो । यद्यपि उनीहरु सबै पराजित भएका थिए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा काँग्रेसबाट दुई दर्जन नेतृ प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । ०७४ मा उम्मेदवार बनेका ९ जना स्वाभाविक रुपमा यसपटक पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दौडमा छन् ।

काँग्रेसका यी महिला नेतृ प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षी

नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा छिन् । गृह जिल्ला मकवानपुरको दुई नम्बर क्षेत्रबाट चुनाव लड्ने उनको तयारी छ ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य अञ्चली श्रेष्ठ चितवनबाट प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा छ भने काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले काठमाडौं–२ बाट चुनाव लड्ने योजना बनाएकी छन् । ०७० को संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं–२ मा तत्कालीन एमालेका उम्मेदवार माधवकुमार नेपालसँग गौतम प्रतिस्पर्धामा उत्रिएकी थिइन् । अहिले नेपालले काठमाडौं–२ छोडेर रौतहट–१ मा उम्मेदवारी दिने चर्चापछि गौतम प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा जुटेकी छन् ।

 

 

 


यस्तै काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले पनि काठमाडौं–३ बाट चुनाव लड्ने आकांक्षा राखेकी छन् । पूर्वमन्त्री बस्नेत ०७४ मा पनि काठमाडौं–३ मा उम्मेदवार बनेकी थिइन् । काठमाडौं ८ बाट सपना राजभण्डारी जोशी चुनाव लड्ने तयारीमा छिन् । 

यस्तै केन्द्रीय सदस्य नानु बास्तोला काठमाडौं–९ बाट चुनाव लड्ने चर्चा छ । उपसभामुख पुष्पा भुसाल पनि काँग्रेसबाट प्रत्यक्षतर्फ भिड्ने तयारीमा छिन् । उनी अर्घाखाँचीबाट चुनाव लड्ने योजनामा छिन् । यसअघि ०६४ र ०७० मा पनि भुसाल प्रत्यक्षतर्फको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएकी थिइन् । ०७४ मा समानुपातिकमा बसेकी उनी यसपटक प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छिन् ।

काँग्रेस बाँकेकी पूर्व जिल्ला सभापति किरण कोइराला पनि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छिन् । उनी बाँकेबाट चुनाव लड्ने चर्चा छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य शिला खड्का र नेतृ सुशीला चौधरी पनि दाङ–१ बाट चुनाव लड्ने होडमा छन् । खड्का काँग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काकी पत्नी हुन् भने चौधरी ०७४ मा उम्मेदवार भएकी थिइन् । तत्कालीन वाम गठबन्धनका उम्मेदवार मेटमणि चौधरीसँग पराजित सुशीलाले यसपटक पनि उम्मेदवार हुने इच्छा देखाएकी छन् ।

यस्तै काँग्रेस नेतृ सीता देवकोटा पाल्पाबाट उम्मेदवारका लागि लबिङ गरिरहेकी छन् भने नेतृ विमला योगीले दाङ–२ बाट चुनाव लड्ने सोच बनाएको पाइन्छ । यस्तै सिरहाबाट प्रत्यक्षतर्फ चुनाव लड्न तीन जना नेतृको कसरत छ । काँग्रेस नेतृ चित्रलेखा यादव, सीतादेवी यादव र मन्जु खाणले सिरहाबाट चुनाव लड्ने तयारी थालेका छन् ।

चित्रलेखा र सीतादेवी काँग्रेसको पूर्व कोषाध्यक्ष हुन् भने खाण काँग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् । चित्रलेखा संसदीय दलको प्रमुख सचेतक र पार्टीको केन्द्रीय सदस्य छिन् ।

सीतादेवीले भने १४ औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा समेत भाग लिएकी थिइनन् । महिला संघकी निवर्तमान महासचिव मञ्जु खाण हाल पार्टीका केन्द्रीय सदस्य छिन् ।

यस्तै महोत्तरीबाट केन्द्रीय सदस्य नागिना यादव र पूर्व केन्द्रीय सदस्य किरण यादवले प्रत्यक्षतर्फ चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । यादव पहिलो पटक प्रत्यक्षतर्फ सिट लिने दौडमा छिन् भने किरणले ०७४ मा महोत्तरी–२ बाट उम्मेदवारी दिएकी थिइन् ।

काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छिन् । गुरुङले तेह्रथुमबाट उम्मेदवार बन्ने गरी लबिङ थालेको बुझिएको छ । उनी ०७४ मा पनि तेह्रथुमबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला पनि प्रत्यक्षतर्फ चुनाव लड्ने योजनामा छिन् । २०६४ मा सुनसरी क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी सुजाता यसपटक मोरङ– २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् । काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले मोरङ २ मा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।

 

 

 

यस्तै काँग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले झापा २ मा चुनाव लड्ने तयारी गरेकी छन् । ०७४ मा प्रत्यक्षतर्फ चुनाव नलडेर राष्ट्रियसभा रोजेकी प्रसाईँ यसपटक भने प्रतिस्पर्धामा उत्रिने मुडमा छिन् ।

काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने मुड बनाएकी छन् । उनी मोरङबाट उम्मेदवार बन्न लबिङ गरिरहेको चर्चा छ ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा यसपटक पनि प्रत्यक्षतर्फकै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छिन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु कैलाली–५ बाट चुनाव लड्ने पक्काजस्तै छ । उनी ०७४ मा पनि सोही क्षेत्रबाट चुनाव लडेकी थिइन् ।

काँग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने पनि चुनावी तयारीमा छिन् । ०७४ मा कैलाली–१ बाट उम्मेदवार बनेकी उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्न खोजेको चर्चा छ ।

बाग्लुङ १ बाट केन्द्रीय सदस्य चम्पादेवी खड्का फेरि पनि उम्मेदवार बन्ने चर्चा छ । ०७४ मा पनि उनी प्रत्यक्षतर्फ सोही क्षेत्रबाट चुनाव लडेकी थिइन् ।

खोटाङबाट काँग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयले पनि चुनावी प्रतिस्पर्धामा उत्रिन चाहेकी छन् । संविधानसभा सदस्य समेत भएकी बजिमय ०७४ मा खोटाङबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन् ।

काँग्रेस नेतृ सरस्वती गुरुङ र विन्दादेवी राना मगरले कास्कीबाट चुनाव लड्न चाहेको चर्चा छ । काँग्रेस केन्द्रीय सदस्य कान्तिका सैजुवालले जुम्लाबाट चुनाव लड्ने इच्छा जाहेर गरेकी छन् भने दैलेखमा सीता रानाको चर्चा छ । यस्तै जानकी सिंहले सुर्खेत र रंगमती शाहीले हुम्लाबाट चुनाव लड्न लबिङ गरिरहेको चर्चा छ ।

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप