कसरी सम्भव भयो प्रचण्ड–बाबुरामको पुनर्मिलन ?
साउन २० गते शुक्रबार नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको मोबाइलमा ‘नो कलर आईडी’ नम्बरबाट फोन आउँछ । त्यो फोन थियो– नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को ।
फोन उठाउने बित्तिकै शर्माले पाण्डेसँग आफ्नो प्रस्ताव सुनाउन थाल्छन् । ‘धेरै कोसिस गरियो, बाबुरामजीलाई मनाउनै सकिएन । उहाँले तपाईंको कुरा सुन्नुहुन्छ । मेरो एउटा प्रस्ताव छ, तपाईंले कन्भिन्स गर्ने प्रयास गर्नुहोला ।’
शर्माले पाण्डेसँग दुई पार्टीबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकता गरेर अघि बढ्ने प्रस्ताव राख्छन् । ‘चुनावको मुखमा पार्टीको नाम फेर्ने, चुनाव चिह्न फेर्ने प्रक्रिया अप्ठ्यारो हुन्छ । त्यसैले चुनावसम्म दुई पार्टीबीच एकता गरेर जाऔँ । बरु चुनावपछि समाजवादी केन्द्र बनाउने मिति नै घोषणा गरेर लिखित सहमति गरौँ,’ शर्माले आफ्नो प्रस्ताव सुनाउँछन् ।
शर्माको प्रस्ताव सुनेपछि पाण्डेले डा. बाबुराम भट्टराईलाई फोन गरेर एउटा प्रस्ताव आएको कुरा सुनाउँछन् र भेट्ने समय माग्छन् । त्यही दिन नै पाण्डेले भट्टराईलाई भेटेर शर्माबाट आएको प्रस्ताव राख्छन् ।
तर भट्टराई भने सो प्रस्ताव प्रति सकारात्मक हुँदैनन् । ‘यो त आत्मसमर्पण नै हुन्छ,’ प्रस्तावप्रति भट्टराईको पहिलो प्रतिक्रिया थियो । पाण्डेले फेरि भट्टराईलाई सुझाव दिन्छन्, ‘यो त सुरुवाती प्रस्ताव हो । यसमा अझै छलफल गर्न सकिन्छ । तपाईं सम्बन्ध नै राख्दिनँ भन्नुहुन्छ भने च्याप्टर यहीँ क्लोज गरौँ । हैन भने फेरि एकपटक छलफल गरौँ ।’
यति भनेपछि पाण्डेले शर्मालाई फोन गरेर भेटघाटको समय मिलाउँछन् । तर, त्यतिबेलासम्म शर्मा एउटा कार्यक्रमका लागि पातलेवन पुगिसकेका हुन्छन् ।
शर्माले भट्टराईलाई त्यहीँ बस्ने गरी आउन प्रस्ताव गर्छन् । तर, भोलिपल्ट पार्टीको केन्द्रीय कमिटी बैठक भएकाले भट्टराईले कलङ्की आसपास भेट्न आग्रह गर्छन् । कुरा बाझिएपछि पाण्डेले दुवैको मध्यविन्दु हुने भन्दै चन्द्रागिरिमा भेट्ने तय गर्छन् ।
साँझ ७ बजे भट्टराई, पाण्डे र शर्मा चन्द्रागिरि पुग्छन् । भेटमा शर्माले बाबुरामसँग ‘तपाईं र प्रचण्ड एक ठाउँमा उभिनुभयो भने कार्यकर्तामा एक खालको उत्साह जाग्ने र यसले विचारको साथ साथै सांगठनिक रूपमा पनि राम्रो हुने र समाजवादी आन्दोलनलाई सही ढंगबाट अगाडि बढाउन सकिने’ कुरा राख्छन् ।
जवाफमा बाबुरामले भन्छन्, ‘माओवादबाटै अब अघि बढ्न सकिँदैन भन्ने हामी सबै सहमत छौँ । त्यसो भए फेरि माओवादीमा आएर समाजवादी केन्द्रतिर जानु घुमाउरो बाटो हुन्छ । बरु एकता संयोजन समिति बनाऔँ । कार्यगत एकता गरेर चुनावमा जाऔँ । चुनावपछि सकिन्छ भने माधव नेपालहरूलाई पनि ल्याऔँ । उहाँहरूलाई ल्याउन सकिँदैन भने पनि नाम परिवर्तन गर्ने दिन एकता घोषणा गरौँ ।’
यता शर्माले भने तत्काल एकता घोषणा गरौँ भनेर भट्टराईलाई मनाउन खोजिरहन्छन् । करिब डेढ घण्टाको छलफल सकारात्मक रूपमा अघि बढे पनि ठोस निर्णय नभई टुङ्गिन्छ ।
शर्मा हिँडेपछि पाण्डेले भट्टराईलाई सुझाव दिन्छन्, ‘तपाईंसँग अब दुई–तीन वटा बाटोमात्र छ । एउटा भनेको तपाईं वैकल्पिक शक्तिमात्र भनेर हिँड्नुपर्‍यो । जो–जो तपाईंसँग बस्छन्, बस्छन् । नसक्ने छाडेर हिँड्छन् । तर जसको लागि तपाईंले वैकल्पिक राजनीति भनिरहनुभएको छ, उनीहरू तपाईंसँग हात मिलाउन आउँदैनन् । जति गरे पनि तपाईंलाई वैकल्पिक मान्दैनन् । अर्को भनेको ‘कम्प्रमाइज’को बाटोमा जानुपर्छ । यसमा एमालेसँग विचार वा कुनै पनि हिसाबले कुरा मिल्दैन । मिल्ने भनेको कि जसपासँग हो कि त माओवादीसँग हो । उपेन्द्रजीसँग नमिलेर भर्खरै छुट्टिएका छौँ । अब मिल्ने भनेको स्वतः माओवादीसँगै हो । सक्नुहुन्छ भने प्रचण्डजीलाई तपाईंको मोडलमा मनाउन खोज्नुहोस् । हैन भने बीचको बाटो खोजौँ ।’
अझै पनि बाबुराम माओवादीमै फर्कन भने तयार थिएनन् ।
०००
त्यो दिनको छलफलपछि भोलिपल्ट भट्टराई र पाण्डेले शर्माको प्रस्तावबारे गंगा श्रेष्ठसँग छलफल गर्छन् । छलफलमा तीन नेताले चुनावअघि एकता नै भन्दा पनि एकता समायोजन समिति बनाएर कार्यगत एकता गर्ने गरी जाने सहमति गर्छन् । र, माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि ठोस कुरा गर्ने निर्णय गर्छन् ।
०००
प्रचण्ड जापानबाट फर्किने दिन साउन २५ गते नेताहरू फेरि साझा धारणा बनाउन जुट्छन् । बैठकमा नेसपाबाट भट्टराई, श्रेष्ठ र पाण्डे, माओवादीबाट शर्मा सहभागी हुन्छन् । त्यो छलफल पनि चुनाव अघि एकता कि चुनाव पछि एकता गर्ने विषयमै रुमलिन्छ ।
साँझ प्रचण्ड जापानबाट फर्किएपछि दुई पार्टीबीच छलफल गर्ने मिति तय हुन्छ । त्यसपछि हात्तीवनमा भएको भेटमा प्रचण्ड र भट्टराईसहित अन्य नेता पनि सहभागी हुन्छन् । तर सो छलफल बिना निष्कर्ष सकिन्छ ।
०००
यसरी धेरै जना बसेर छलफल गर्नेभन्दा पनि दुई अध्यक्ष ‘वान टू वान’ बसेर पहिला छलफल गर्न नेताहरूले दुई अध्यक्षलाई सुझाव दिन्छन् । त्यसै अनुरूप भोलिपल्ट खुमलटारमा प्रचण्ड र भट्टराईमात्र छलफलमा जुट्छन् ।
छलफलमा प्रचण्डले सुरुमै भट्टराईलाई प्रस्ताव राख्छन्, ‘मैले पनि एमालेसँग एकता गरेर एउटा प्रयास गरेँ । तपाईंले पनि वैकल्पिक शक्ति भनेर एउटा अभ्यास गर्नु भयो । दुवै असफल भइयो । अब पाठ सिकेर नयाँ तरिकाले सँगै अगाडि बढौँ । अहिले चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर जाऔँ । चुनावपछि नाम परिवर्तन गरौँला, समाजवादी बाटोमा लागौँला ।’
प्रचण्डले नै यसरी प्रस्ताव गरेपछि भट्टराई पनि त्यो कुरामा सहमत हुन्छन् । अनि भावुक हुँदै हात मिलाएर त्यहाँबाट छुट्टिन्छन् ।
०००
योसँगै २०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम भट्टराई पुनः हँसिया–हथौडा चुनाव चिह्न लिएर लड्न सहमत भएका छन् । एउटै चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ता गर्नका लागि दुई दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।