शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावी ब्याटल– को कति पानीमा ? माओवादीको चुनावचिह्नमा चुनाव लड्दै बाबुराम

संघीय सरकारविरुद्ध मुख्यमन्त्रीसहित मधेस प्रदेशका मन्त्रीहरुको धर्ना
आइतबार, २९ साउन २०७९, २१ : ००
आइतबार, २९ साउन २०७९

आज २०७९ साउन २९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा माओवादीको चुनाव चिह्न लिएर बाबुराम मैदानमा उत्रिने, संघीय सरकारविरुद्ध मुख्यमन्त्रीसहित मधेस प्रदेशका मन्त्रीहरुको धर्ना, चुनावी ब्याटल : को कति पानीमा ?, अब सम्पत्ति विवरण बुझाएपछि मात्र उम्मेदवारी दर्ता, नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुन्छ : ओली, कर्णाली प्रदेश सरकारद्वारा अदालतको आदेश अटेर, अन्तर्घातमा माओवादीका केन्द्रीय नेताको संलग्नता नदेखिएको छानबिन समितिको निष्कर्ष लगायत छन् ।

१. माओवादीको चुनाव चिह्न लिएर बाबुराम मैदानमा उत्रिने 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच चुनावी तालमेलबारे सहमति भएको छ । सहमति अनुसार बाबुराम भट्टराईसहित उनको दलले माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ । माओवादी छाडेको ७ वर्षपछि बाबुरामले माओवादीकै चुनाव चिह्न लिएर निर्वाचनको मैदानमा उत्रिने निधो गरेका हुन् ।

​२. संघीय सरकारविरुद्ध मुख्यमन्त्रीसहित मधेस प्रदेशका मन्त्रीहरुको धर्ना
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरुले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो ।

 

३. चुनावी ब्याटल : को कति पानीमा ?
चुनावको मिति घोषणासँगै उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन क्षेत्रतिर केन्द्रित हुन थालेका छन् । यस क्रममा कतिपय क्षेत्रमा सत्तारुढ गठबन्धनभित्रै उम्मेदवारीका लागि हानथाप हुने देखिएको छ । 

 

४. अब सम्पत्ति विवरण बुझाएपछि मात्र उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताए ।

 

५. नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए । 

 

६. कर्णाली प्रदेश सरकारद्वारा अदालतको आदेश अटेर
अदालतको आदेशलाई अटेर गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मन्त्रिपरिषद समावेशी बनाउन अदालतले आदेश दिए पनि प्रदेश सरकारले महिलाको प्रतिनिधित्व शून्य रहने गरी मन्त्रिपरिषद विस्तार गरेको हो ।

 

७. अन्तर्घातमा माओवादीका केन्द्रीय नेताको संलग्नता नदेखिएको छानबिन समितिको निष्कर्ष
स्थानीय तह निर्वाचनमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको समितिले आफ्नो काम पूरा गरेको छ । समितिले अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । 

८. अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीहरूको पुनरागमन
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि पुनरागमन गरेका छन् ।

९. मिलन पाण्डेले गरे रवीन्द्र मिश्रको आलोचना
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पूर्वअध्यक्ष रवीन्द्र मिश्रको चर्को आलोचना गरेका छन् । उनले  मिश्रले पार्टी स्थापनाको मर्मविपरित ल्याएको दस्तावेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी भएको उल्लेख गरेका छन् । 

१०. र यो पनि,
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबारसम्म लिइसक्नुपर्ने छ । 

काठमाडौं उपत्यकामा गएराती भारी वर्षा भयो । रातभरको वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ ।

आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने सोनालीकुमारी सिंह उर्फ निहारिका राजपुतको मुद्दा यतिबेला फेरि बहसमा आएको छ ।

 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप