शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा बसेर संघीय सरकारविरुद्ध आन्दोलन गर्नु नाटक हो–  लोसपा

आइतबार, २९ साउन २०७९, १५ : ५३
आइतबार, २९ साउन २०७९

मधेश सरकारले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ ।  मधेश सरकारका प्रदेश प्रमुखको कार्यालय अगाडि सुरु भएको धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु पनि सहभागी छन् । प्रहरी समायोजनको विषयलाई लिएर उनीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । 

सोही क्रममा मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले धर्नालाई नौटंकीको संज्ञा दिएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध गरेको आन्दोलन नाटकीय रुपमा भइरहेको दावी गरे । 

उनले भने, ‘यदि यो संघीय सरकार विरुद्धको आन्दोलन हो भने काठमाडौँ आएर प्रधानमन्त्री कार्यालय अगाडि धर्ना बस्नुपर्ने हो, राष्ट्रपति कार्यालय अगाडि धर्ना बस्नुपर्ने हो, सिंहदरबारलाई घेराउ गर्नुपर्ने हो तर मधेशी जनतालाई भ्रममा पार्नका लागि मधेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु धर्ना बसिरहेका छन् ।’

मधेश सरकारमा रहेका सबै दल संघीय सरकारमा सहभागी छन् । काँग्रेसबाट प्रधानमन्त्री नै छन् । जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्रका पनि मन्त्रीहरु केन्द्रमा छन् । तर त्यही दलका मधेश प्रदेशमा रहेका मन्त्रीहरु संघीय सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

‘मधेश प्रदेश सरकारले यो आन्दोलन गरेको होइन, मधेशी जनतालाई भ्रममा राख्ने काम गरेको छ’ अध्यक्ष सोनलले भने ।  जनकपुरमा बसेर आफ्नै सरकारको विरुद्धमा आफै आन्दोलन गर्नेलाई जनताले स्वीकार नगर्ने उनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप