कालिकोटमा माओवादी ढुक्क, एमाले मौकाको खोजीमा
कर्णाली प्रदेशको कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रको बलियो जनाधार छ । दोस्रो संविधानसभा निर्वाचन होस् वा ०७४ को स्थानीय, संघ र प्रदेशको चुनाव, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन नै किन नहोस्, यहाँ माओवादी केन्द्र नै प्रमुख राजनीतिक शक्ति केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि माओवादीले आफ्नो वर्चश्वलाई कायम राख्ने रणनीति अपनाएको देखिन्छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको या जिल्लामा प्रतिनिधिसभातर्फ आफूले गठबन्धनका तर्फबाट उम्मेदवार दिनेमा माओवादी केन्द्र ढुक्कजस्तै छ ।
यस्तै, प्रदेश सभातर्फ (क) एकीकृत समाजवादी र (ख) काँग्रेसको भागमा पर्न सक्ने नेताहरुको आकलन छ । यद्यपि (ख) माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीको क्षेत्र भएकाले प्रतिनिधिसभा र प्रदेश सभा (ख) माओवादीले आफैसँग राख्ने र (क) मा काँग्रेसलाई मिलाउन सक्ने पनि देखिन्छ । यसो भएमा नेकपा एकीकृत समाजवादीलाई समानुपातितर्फ भागबण्डा मिलाउन सक्ने स्थिति रहन्छ ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला भएकाले पनि यहाँ माओवादी केन्द्रको दबदबा छ । कालिकोटका नौ पालिकामध्ये प्रदेशसभा (क) मा खाँडाचक्र र तिलागुफा नगरपालिका तथा शुभकालिका र महावै गाउँपालिका पर्दछन् । (ख) मा रास्कोट नगरपालिका, नरहरीनाथ, पलाता, पचालझरना, सान्नी त्रिवेणी पाउँपालिका पर्दछन् ।
को–को छन् आकांक्षी ?
कालिकोटबाट प्रतिनिधिसभातर्फ माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही उम्मेदवार बन्ने तयारीमा छन् । कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री उनी यो पटक प्रतिनिधिसभातर्फ जाने तयारीमा छन् । माओवादीबाट कालिकोटमा उनको विकल्पमा अरु नेता देखिएका छैनन् ।
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका शाही ०७४ मा मुख्यमन्त्री बन्ने भएपछि प्रदेशमा लडेका थिए । संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी संविधान निर्माणपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा ८३ दिन ऊर्जा मन्त्री भएका थिए ।
काँग्रेसबाट प्रतिनिधसभाका लागि भुपेन्द्र जङ्ग शाही सम्भावित उम्मेदवार हुन् । उनी यसअघि दुई पटक पराजित भइसकेका छन् । ०७४ मा माओवादीका दुर्ग बहादुर रावतसँग ४ हजार ४०७ मतान्तरले पराजित उनी पार्टीले टिकट दिए फेरि उम्मेदवार हुने योजनामा छन् । उनले रातोपाटीसँग भने, ‘कालिकोटमा जनमत मेरो पक्षमा छ, काँग्रेसबाट प्रतिनिधिसभामा म नै उम्मेदवार हो ।’
गठबन्धन भएको खण्डमा पनि कालिकोटको प्रतिनिधिसभा क्षेत्र काँग्रेसले पाउनुपर्ने उनको तर्क छ । काँग्रेसभित्र संस्थापन इतर पक्षका उनको पनि कालिकोटमा संगठन विस्तारमा ठुलो योगदान छ भने युवाहरुमाझ लोकप्रिय नै छन् । यद्यपि यो पटक कर्णालीमा काँग्रेस संस्थापन पक्षको वर्चश्व छ । उनी यसअघि पार्टीभित्र प्रदेशको सभापतिमा समेत पराजित भएका थिए । उनको विकल्पमा हर्ष बम, हिक्मत विष्ट लगायतका नेताहरु पनि सम्भावित उम्मेदवार हुन् ।
एमालेमा भने केन्द्रीय सदस्य एवं कालिकोट इञ्चार्ज नगेन्द्र शाही (नेशनल) र पूर्वमन्त्री प्रेम सिंहको नाम चर्चामा छ । सिंह भर्खरैमात्र एमालेमा प्रवेश गरेको हुनाले नेशनल शाहीनै एमालेबाट बलियो उम्मेदवार हुन् । सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी ०७८ चैत्रमा एमालेमा समाहित भएको थियो । सिंहलाई समानुपातिकमा भागबण्डा मिलाएर शाहीलाई नै एमालेले उम्मेदवार बनाउने प्रवल सम्भावना रहेको एमाले नेताहरुको भनाइ छ ।
तर, सत्तारुढ गठबन्धन एक ढिक्का भएमा यहाँ एमालेलाई ठुलो चुनौती मिल्न सक्छ । त्यसैले गठबन्धनभित्र गडबड हुने मौकाको खोजीमा एमाले देखिन्छ ।
प्रदेशसभा तर्फ
प्रदेशसभा (क) तर्फ काँग्रेसबाट वर्तमान पार्टी सभापति अम्म शाही, टेकराज शाही, मनराज शाही, नन्दबहादुर सिंह लगायतका नेताहरुको नाम चर्चामा छ । प्रतिनिधिसभातर्फ आकांक्षी देखिएका भुपेन्द्रजंग शाही पनि भागबण्डामा प्रतिनिधिसभा माओवादीलाई परेमा प्रदेशसभा (क) मा उम्मेदवार बन्न सक्ने सम्भावना छ ।
माओवादीबाट (क) मा पार्टीका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाइँ, केन्द्रीय सदस्य यशोदा न्यौपाने, गंगा खड्काको नाम चर्चामा छ । तीन जनामध्ये बलियो उम्मेदवार यशोदा न्यौपाने हुन् । एमालेबाट भने जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे सम्भावित उम्मेदवार हुन् । उनी ०७४ मा खाडाचक्रको मेयरमा जितेका थिए भने गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।
यता प्रदेशसभा (ख) मा काँग्रेसबाट युवा नेता दमन शाही सम्भावित उम्मेदवार हुन् । प्रदेश कमिटीको प्रवक्तासमेत रहेका शाही कालिकोटमा आशलाग्दा नेताको रुपमा परिचित छन् । उनको विकल्पमा नारायण भट्टराई, कालिबहादुर सहकारी, मोतिराज बम, हिक्मत विष्टको नाम चर्चामा छ । सहकारी र विष्ट पुराना नेता भए पनि उनीहरुलाई समानुपातिकतर्फ मिलाएर शाही नै चुनाव लड्न सक्ने देखिन्छ । सहकारी ०७४ मा माओवादी नेता महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । माओवादीबाट भने पूर्व राष्ट्रियसभा सदस्य जीवन बुढा र विष्णु विक ‘विकल्प’ को नाम चर्चामा छ ।
एमालेबाट (ख) का लागि रमेश शाही, दक्षिणा शाही लगायतको नाम चर्चामा छ । यद्यपि महिला नेतृ शाही समानुपातिकतर्फ जाने सम्भावना प्रबल रहेको एमाले नेताहरुको बुझाई छ ।
यता, नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभा (क)मा कुर्मराज शाही र (ख)मा विश्वराज बम सम्भावित उम्मेदवार हुन् ।
यस्तो थियो स्थानीय तहको निर्वाचन परिणाम
नौ वटा स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा पाँच स्थानीय तहमा प्रमुख÷अध्यक्ष र ६ मा उपप्रमुख÷उपाध्यक्ष जितेको माओवादीले ३४ वटा वडामा वर्चश्व कायम गरेको थियो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पाँच वटै पालिकाकाको नेतृत्व माओवादीले जितेको छ । यस्तै, चार वटामा उपप्रमुख÷उपाध्यक्षसहित ४८ वटा वडामा माओवादी विजयी भएको छ ।
काँग्रेसले यहाँ जम्मा दुई वटा पालिकामा नेतृत्व पाएको छ । दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । दुई स्वतन्त्रमध्ये खाडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाही एकीकृत समाजवादी निकट हुन् भने सान्नीत्रिवेणी गाउँपालिकाका मोहनबहादुर केसी माओवादी निकट हुन् । उनीहरु अहिले आ–आफ्नो पार्टीमा फर्किसकेको अवस्था छ ।
पालिका प्रमुख/अध्यक्षको मतपरिणाम
नोट : दुई जना स्वतन्त्र प्रमुख÷अध्यक्ष पार्टीमा फर्किएको अवस्थामा उनीहरुको मत सम्बन्धित दलकै मत संख्यामा जोडिएको छ ।
स्थानीय तहको मतपरिणाम हेर्ने हो भने माओवादीको मत काँग्रेसको भन्दा पाँच हजारले बढी छ भने एमालेको भन्दा झण्डै साढे ८ हजार बढी छ । काँग्रेसले जितेको तिलागुफा नगरपालिकामा काँग्रेसले एमालेको समर्थन पाएको थियो । एमालेले एउटै पालिका नजिते पनि प्रमुखमा १० हजारभन्दा बढी मत पाएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले झण्डै ७ हजार मत पाएको छ ।
यस्तो छ ०७४ को निर्वाचन परिणाम
०७४ मा प्रतिनिधिसभातर्फ माओवादीका दुर्ग बहादुर रावत २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए । प्रदेशसभातर्फ भने वाम गठबन्धनबाट (क) मा एमालेका कुर्मराज शाही ११ हजार ९३५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका टेकबहादुर शाहीले ४ हजार ४८९ मत प्राप्त गरेका थिए । अहिले कुर्मराज नेकपा एकीकृत समाजवादीमा छन् ।
(ख) मा माओवादीका महेन्द्रबहादुर शाही १२ हजार १५३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कालिबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए ।