मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव लड्न बर्दियाबाट बाँकेतिर काँग्रेस सहमहामन्त्री, अरू को–को छन् आकांक्षी ?

आइतबार, २९ साउन २०७९, १७ : ४८
आइतबार, २९ साउन २०७९

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर  साविकको  निर्वाचन क्षेत्र बर्दिया–२ छाडेर छाडेर बाँके आउने चर्चा व्यापक छ । बर्दियाको राजापुर  क्षेत्र छाडेर राठौर अहिले बाँकेको क्षेत्र नम्बर ३ मा आउने चर्चा चर्चा चुलिएको हो । बाँके–३ का सभापति नक्की  खाँले  राठौरको यो क्षेत्रमा आउने चर्चाको पुष्टि गरे ।  

गठबन्धन दलहरूबिच सहमति भएको  बाँके–१ मा माओवादी बाँके–२ मा जसपा र बाँके–३ मा नेपाली काँग्रेस पर्ने सहमति गर्ने र सोहीअनुसार आउन राठौर  प्रयासरत रहेको कार्यकर्ताहरूबिच चर्चा छ ।
सभापति देउवासँग लामो समयदेखि नजिक रहेका राठौर त्यहीअनुसार केन्द्रमा  आफू निकट नेताहरूसँग छलफलमा जुटेको कार्यकर्ताहरू बताउँछन् । यता नेपाली काँग्रेस बाँके जिल्ला सभापति नारायणप्रसाद गौडलले यस विषयमा आफूलाई जानकारी नभएको तर केन्द्रीय नेताहरू चाहेका लड्न सक्ने रातोपाटीलाई बताए । 

बाँके मूलधार पार्टीमा रहेका धेरै नेताहरू भएको जिल्लामा पर्दछ । अहिले सरकारमा दुई बहालवाला मन्त्री नै यही जिल्लाका रहेका छन् । सत्तारुढ दलहरू नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र गठबन्धनको बलमा एमाले उम्मेदवारलाई पराजित गर्ने गरी गृहकार्यमा जुटेका छन् । 

२०७४ सालको चुनावमा बाँके–१ बाट तत्कालीन नेकपाबाट माओवादीका  महेश्वरजंग गहतराज, बाँके–२ बाट जसपाका (तत्कालीन फोरम) मोहम्मद इस्तियाक राई र बाँके–३ बाट एमालेका नन्दलाल रोकायाले जितेका थिए । गहतराज र राई अहिले मन्त्री छन् । उनीहरू पुनः उम्मेदवार हुने तयारीमा छन् । 

मन्त्रीद्वयको दाबी आफ्नो जितेको ठाउँबाट गठबन्धन उम्मेदवार बनाउनु पर्ने रहेको देखिन्छ । यस्तै बाँके–३ मा एमालेका नन्दलाल रोकायाले अहिले उमेरका कारणले निर्वाचनको मैदानमा जाने सम्भावना कम रहेको एमालेका कार्यकर्ताहरू बताउँछन् । त्यो ठाउँमा एमालेबाट अहिले कृष्ण कुमार कक्षपति, रत्न खत्री, मानबहादुर रुचालको नाम चर्चामा छ । 

कुन निर्वाचन क्षेत्रमा को को आकांक्षी ?
बाँके प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभातर्फ ६ क्षेत्र रहेको जिल्ला हो । काँग्रेसका पूर्व सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला रहेको यहाँ नेपाली काँग्रेस, एमाले, राप्रपा र जसपा माओवादीको आआफ्नो क्षेत्रमा मजबुत सङ्गठन छ । धेरै विकल्पमा मत राख्ने अवसर मतदातालाई रहेकाले यहाँको  निर्वाचन रोचक बन्ने गर्दछ  ।

क्षेत्र नम्बर १ 
बाँकेको १ नम्बर क्षेत्रबाट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री गहतराज नै उम्मेदवार हुने चर्चा छ । यस्तै माओवादीबाट हाल प्रदेश सांसद कृष्णा केसीको पनि चर्चा छ । यसपाली पाए सङ्घमा जाने मनसाय केसीले बनाएको केही कार्यकर्ताहरू बताउँछन् । 

त्यस्तै, एमालेबाट सूर्य ढकाल, देवराज भाटको धेरै चर्चा छ । यस्तै नेपाली काँग्रेसबाट जिल्ला सभापति नारायणप्रसाद गौडेलले  पार्टीले टिकट दिएमा मैदानमा जाने बताउँदै आएका छन् ।  उता पूर्व क्षेत्रीय सभापति माधवराज खत्रीको पनि चर्चा छ ।  तर यहाँ गठबन्धन हुँदा विगतमा माओवादी जितेको क्षेत्र भएकाले माओवादीले पाउने सम्भावना धेरै छ । 

क्षेत्र नम्बर २ 
२ नम्बर क्षेत्रमा यस पटक पनि इस्तियाक राई नै अगाडि सर्ने तयारीमा देखिन्छन् । राई अहिले सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्री छन् । विगतमा यो क्षेत्र स्व. सुशील कोइरालाको क्षेत्र भएको नेपाली काँग्रेसले पाउनुपर्ने आवाज उठे पनि  जसपाले यहाँ आफूहरूको राम्रो पकड भएकाले अन्य क्षेत्रबाट भन्दा यही क्षेत्र नै सुरक्षित रहेको ठानेको छ । यहीबाटै  राईलाई मैदानमा उतार्ने गरी गठबन्धनभित्र दबाब दिने जसपाका जिल्लस्तरका नेताहरू बताउँछन् ।
यो क्षेत्रमा नेपाली काँग्रेसबाट पूर्वमन्त्री गजेन्द्र हमालको चर्चा छ । शेरबहादुर देउवाले  गैरसांसदलाई मन्त्री बनाएको भन्दै आलोचना खेपेका हमाल चुनावी मैदान जाने तयारी गरेको कार्यकर्ताहरू बताउँछन् । 

यस्तै नेपाली काँग्रेस पूर्व जिल्ला सभापति किरण कोइरालाको उस्तै चर्चा र दाबी छ । कोइराला परिवारको पार्टी इतिहाससँगै सम्बन्ध जोडिएकाले गठबन्धनबाट यो क्षेत्र काँग्रेसले पाउने माग पनि उठाएका कार्यकर्ताहरू बताउँछन् । 
उता यस क्षेत्रबाट एमालेबाट नेपालगन्जको मेयर उठेका पशुपति दयाल मिश्रको चर्चा छ । उनी यस अघि पनि संसदीय चुनावको मैदानमा गएका नेता हुन् । यस्तै एमालेबाटै नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, यस अघिको निर्वाचनमा उपमेयरको उम्मेदवार बनेकी शान्ति ढकालको नाम पनि चर्चामा छ । 

यस्तै यस पटक राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर धवल शमशेर राणा मैदानमा जाने तयारी पहिलेदेखि  गरेका छन् । उनी मेयर छाडेर सङ्घीय सांसदमा जाने भन्दै तयारी गरेर बसेको राप्रपाका कार्यकर्ताहरू बताउँछन् । उनको नेपालगन्जमा राम्रो पकड भएकोले क्षेत्र नम्बर २ का बलिया उम्मेदवार रहेको कतिपयको विश्लेषण छ । 

क्षेत्र नम्बर ३  
यो क्षेत्रमा गत निर्वाचनमा एमालेका नन्दलाल रोकाया विजयी भएका थिए । तत्कालीन  नेकपाको साथ  पाएपछि जितेका उनी अहिले उमेरका कारणले मैदान  नजाने मनसाय बनाएका छन् । यहाँ एमालेबाट जिल्ला अध्यक्ष किस्मत कक्षपति  सचिव रत्न खत्री, बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष मानबहादुर रुचालको  नाम चर्चामा छ । 

गठबन्धनबाट लाइन मिलाएर आएका  नेपाली काँग्रेसका सहमहामन्त्री  किशोर सिंह राठौर, यस्तै यस अघिकै उम्मेदवार बादशाह कुर्मी, महासमिति सदस्य मेघराज वलीको नाम पनि चर्चामा छ । यो क्षेत्रमा माओवादी केन्द्रबाट पूर्वउपसभामुख पूर्णा कुमारी सुवेदी, प्रदेश सांसद इन्द्रप्रसाद (आईपी) खरेलको पनि  चर्चा छ । यस्तै यो क्षेत्रमा एकीकृत समाजवादीको अन्य क्षेत्रमा भन्दा सङ्गठन राम्रो भएको मानिन्छ यहाँ  नेकपा एकीकृत समाजवादीबाट दलबहादुर सुनारको चर्चा छ ।

स्थानीयमा यस्तो थियो नतिजा
बाँके क्षेत्र नम्बर १ बाट गत निर्वाचनमा माओवादी केन्द्रबाट महेश्वरजंग गहतराजले  जितेका हुन् । यहाँ गठबन्धवाट उनले पुनः टिकट पाएमा एमालेसँग प्रतिस्पर्धा हुनेछ । १ नम्बर क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छन् । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा  नेपाली काँग्रेस आगडि देखिन्छ । नेपाली काँग्रेसका वडाध्यक्षहरूले पाएको मत २८६१९ रहेको छ भने एमालेका वडाध्यक्षले २५३१० मत पाएका छन् । यस्तै माओवादीको १७११० मत रहेको छ । यहाँ राप्रपा ४७८९, जसपा ३९५१, नेकपा एस ६२३, लोसपाको ३६१ रहेको छ । यस आधारलाई मान्दा गठबन्धन बलियो देखिन्छ । 

क्षेत्र नम्बर २ मा गत निर्वाचनमा इस्तियाक राई २१ हजार ५७५ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनले समर्थन गरेका पशुपति दयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरेका थिए । दयाल एमालेमा प्रवेश गरेर नेपालगन्जको मेयरमा उठेका थिए तर पराजित भएपछि फेरी सङ्घीय सांसदमा उठ्ने तयारी गरेका छन् । 

नेपालगन्ज उपमहानगरसहित पर्ने यो क्षेत्रमा हालै वडाध्यक्षहरूले पाएको मत आधारमा नेपाली काँग्रेस अगाडि देखिन्छ । नेपाली काँग्रेसको १८०३७ मत रहेको छ भने एमालेको १५४७८ मत रहेको छ । यस्तै जसपा १३८०९, राप्रपा ८४९४, माओवादी ६८५९, नेकपा एस ८२१, लोसपा ५६४ मत आएको थियो । 

त्यस्तै, ३ नम्बर क्षेत्रमा गएको निर्वाचनमा एमालेका नन्दलाल रोकायाले ३१ हजार ६०१ मत ल्याउँदै काँगेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए । कुर्मीले  २५ हजार ६१७ मत ल्याएका थिए । कुर्मी अहिले पनि उम्मेदवारको दाबेदारमा पर्छन् । यहाँ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षहरू काँग्रेस २५६८९, एमाले २२१५९, माओवादी १४८१८, राप्रपा ४६४१, जसपा ४१९९, एस २३४८, लोसपाले १०३७ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप