शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब जर्मन नागरिक पाँडेको सल्लाहमा चल्नेछ एन्फा नेतृत्व !

आइतबार, २९ साउन २०७९, १७ : १९
आइतबार, २९ साउन २०७९

नेपाली फुटबल विगत दुई महिनादेखि विवादमा तानियो । त्यसको मुख्य कारक थिए, जर्मन नागरिक नविन पाँडे । पाँडेकै कारण यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमिति पनि विवादमा तानिएको थियो । 

पाँडेले एन्फाको विदेश विभाग प्रमुख पहिलेको कार्यसमिति हुँदा एक वर्षभित्र छोड्नु पर्यो भने अहिले दुई महिनामै । पाँडे पटक पटक विवादमा तानिँदै आएका छन् ।  वर्तमान कार्यसमितिबाट नियुक्तिको पहिलो दिनबाट विवादमा आएका पाँडेलाई एन्फाको दोस्रो कार्यसमिति बैठकले निर्णय गरेर ‘बर्खास्त’ गर्यो । 

उनलाई विदेश विभागबाट हटाएर एन्फाले अहिले अध्यक्षको प्रमुख सल्लाहकारमा नियुक्त गर्यो । चुनाव ताका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सघाएका पाँडेले धन्यवादस्वरुप विदेश विभाग प्रमुखको पद पाएका थिए । उतैको नागरिकता लिएर प्रायः जर्मनीमै बस्ने पाँडेको नेपाली फुटबल विकासका लागि शुन्य योगदान छ । तर, अध्यक्षले पाँडेलाई एन्फाको कुनै न कुनै जिम्मेवारीमा राखि राख्न चाहन्छन् । 

विदेश विभाग मात्र सम्हाल्ने जिम्मेवारीबाट टाढा भएका पाँडेले अब एन्फा नेतृत्वलाई नै सल्लाह दिनेछन् । उनले दिने सल्लाहअनुसार नै अबको एन्फा नेतृत्व चल्नेछ । पाँडेलाई आफ्नो सल्लाहअनुसार नयाँ नेतृत्व चलाउन भने सहज छैन । एन्फाको तीनधारे राजनीतिले उनलाई सहज बनाउने छैन । तीनधारे राजनीतिले नै उनी बर्खास्तीमा परेका हुन् । 

​अहिले एन्फा नेतृत्वमा आएकामध्ये पाँडेलाई रुचाउने सूचीमा एन्फा अध्यक्ष नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष दावा लामा मात्र हुन् । उनीहरुकै आँटमा अहिले पाँडे एन्फामा अध्यक्षकै प्रमुख सल्लाहकार पद पाए । एन्फाको प्रमुख सल्लाहकार पद एन्फाको विधानमा नपर्ने भएकाले थापा पक्ष र शेर्पा पक्ष चुप लागेर बसेको छ । 

थापा पक्षको बहुमत सदस्यहरुको हस्ताक्षरमा पाँडेको विदेश विभाग प्रमुखको पद खोसिएको हो । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का अहिले पाँडे रहेको पदमा कुनै विधानले असर नगर्ने बताउँछन् । उनी एन्फा अध्यक्षको प्रमुख सल्लाहकार भएको र त्यो पद एन्फाको कुनै सेवा सुविधा नलिएर काम गर्ने भएको बताए । 

‘एन्फा अध्यक्षको प्रमुख सल्लाहकारको पदमा हुनुहुन्छ, त्यो पदमा विदेशी नागरिक नहुने भन्ने लेखेको छैन । उहाँले एन्फाको कुनै पनि सेवा सुविधा लिनुहुन्न,’ खड्काले रातोपाटीसँगको कुराकानीमा भने । 
खड्काले अध्यक्षलाई दिने सल्लाहको आफूहरुले निगरानी गर्ने बताए । अध्यक्षलाई सकारात्मक सल्लाह दिने कुरामा आफूहरु आशावादी भएको बताए । 

‘उहाँले के कस्तो किसिमको सल्लाह दिनुहुन्छ भन्ने कुरामा हामी निगरानी नै गर्नेछौं । हामीलाई आशा छ, उहाँले अध्यक्षज्यूलाई राम्रो सल्लाह दिनुहुनेछ,’ उनले भने । 

किन एन्फाबाट अलग हुन चाहन्नन् पाँडे ? 
पाँडे नेपाली फुटबलमा आइरहने नाम हो । विवादको कुरा होस् या चर्चाको कुरा पाँडे नेपाली फुटबलमा छुट्दैनन् । उसो त उनले नेपाली फुटबल विकासका लागि भनेर खासै ठूलो योगदान दिएका छैनन् । तर, उनी कुनै न कुनै पदमा बसेर एन्फा, एएफसी लगायतको कुरामा आफूलाई बलियो सावित गर्न चाहन्छन् । 

उसो त अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको विषयमा ब्याख्यान गर्न पाँडेको भूमिका सकारात्मक नै होला । तर, पाँडे नै किन ? भन्ने प्रश्न उब्जिन सक्छ । पहिलो कार्यकालमा शेर्पालाई निर्वाचन जित्न सहयोग गरेका पाँडेले उपहारस्वरुप विदेश विभाग प्रमुखको पद पाएका थिए । सोही सिलसिला अहिलेको अध्यक्षमा पनि लागू भयो । शेर्पाको पालामा पुनः नियुक्त हुने पाँडेलाई कुनै वातावरण मिलेन । 

सोही समयमा पाँडे नियुक्तिको अहिलेका अध्यक्ष नेम्वाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले नै विरोध गरेका थिए । तर उनीहरुले आफ्नो नेतृत्वको पहिलो बैठकमा नै अहिले उनलाई उपहार दिए । 
तर, एन्फामा बहुमत नपुगेका नेम्वाङलाई अहिले पाँडेलाई हटाउनुपर्ने बाध्यता भयो । आफूलाई अध्यक्ष जिताउन महत्वपूर्ण भूमिका खेलेको सम्झने नेम्वाङ पाँडेलाई साथमा लिएर जान चाहन्छन् । 

​त्यसैको फलस्वरुप अहिले पाँडे पुनः अध्यक्षका प्रमुख सल्लाहकार भएर बलियो बनेर फर्किए । चाहे जसको नेतृत्व फुटबलमा आओस्, पाँडेलाई एन्फाको कुनै न कुनै पदमा बसिरहन मन छ । 
पाँडे तत्कालीन अध्यक्ष शेर्पाको पालामा एक वर्ष भित्रमा नै विदेश विभाग प्रमुख पदबाट बाहिरिए । उनीसँगै बाहिरिएका थिए दावा लामा । त्यसपछि उनीहरु नेम्वाङसँगै परिवर्तनको धारमा लागे । पाँडे एन्फाको दुई चुनावमा खटिएर लागे । भलै उनको एक मत पनि थिएन । तर, पाँडेले भनेको मान्ने एन्फा नेतृत्वमा केही व्यक्ति छन् । 

तत्कालीन अध्यक्ष शेर्पालाई चुनाव जिताउने समयमा पाँडेको पहिलो डिल थियो, एन्फाको विदेश विभाग प्रमुख पद । एन्फाको अन्य पदमा नियुक्ति दिँदा विवाद आउने भएका कारण विदेश विभाग प्रमुख बन्दा विदेशी नागरिकलाई केही असर पर्दैन भन्ने उनको सोच थियो । 

अहिले नेम्वाङ नेतृत्वमा आउँदा पनि पाँडेले पहिलो डिल गरेका थिए, विदेश विभाग प्रमुखको पद । उनी सफल पनि भए । पाँडेलाई विदेश विभाग प्रमुख दिँदा बहुमतले मान्छन् भन्ने थियो नेम्वाङलाई । तर, धार विभाजित भयो । पाँडे अझै पनि विदेश विभाग प्रमुख पदमा रहेर एन्फामा आफूलाई बलियो सावित गर्न चाहन्छन् । विदेशमा हुने क्रियाकलापमा पनि आफ्नै उपस्थित चाहन्छन् उनी । किनकि एन्फाले विदेशी मुलुकहरुमा समन्वय गर्दा विदेश विभाग प्रमुखकै मुख्य भूमिका हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप