शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रचण्डलाई चुनाव लड्न चार ठाउँबाट प्रस्ताव, एमालेको तीन एजेण्डा

गठबन्धनले बनायो कार्यदल, नारायणकाजी र वामदेव मौका हेर्दै
शुक्रबार, २० साउन २०७९, २२ : २१
शुक्रबार, २० साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ ।

१. दल दर्ता आह्वान

निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले  प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

‘संवत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम संवत् २०७९ साल श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्ति पथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

​२. प्रचण्डलाई चुनाव लड्न चार ठाउँबाट प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् ।

पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् 

​यसैबीच काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले काँग्रेस र माओवादीले दुनियाँ ढाँटेर हिँडिरहेको टिप्पणी गरेका छन् । शुक्रबार सम्पर्क कमिटीको भेलामा बोल्दै अध्यक्ष ओलीले काँग्रेस र माओवादीको सरकाले चितवन एक घण्टामा पुग्ने व्यवस्था गरेको भनेर दुनियाँ ढाँटिरहेको आरोप लगाएका हुन् ।

३. एमालेका तीन एजेण्डा

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ  । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने  बताए ।

​४. गठबन्धनले कार्यदल बनायो

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने भुसालले बताए ।

​५. संसदको म्याद कहिलेसम्म ?

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाले कहिलेसम्म काम गर्न पाउने भन्ने प्रश्न उब्जिएको छ । संसदीय अभ्यासका जानकार तथा संविधानविद्हरु यो प्रश्नमा विभाजित देखिन्छन् ।

संसदीय अभ्यासका जानकार एवं पूर्व सभामुख दमननाथ ढुंगाना पुरानो अभ्यासलाई छाडेर नयाँ अभ्यासमा अग्रसर भएपछि यो विवाद उठेको बताउँछन् । तर, उनी संविधानमै प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भनेर किटान गरिसकेको अवस्थामा यसबारे थप विवाद र बहस गरिरहन आवश्यक नरहेको तर्क गर्दछन् ।

​नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने भनेर तोकेका कारण संसदले पाँच वर्षसम्म काम गर्न पाउने तर्क गर्दछन् । निर्वाचन घोषणा भयो भन्दैमा प्रतिनिधिसभाको कार्यकाल घटाउन नमिल्ने उनले प्रस्ट पारे ।

​६. चुनावबारे वामदेव र नारायणकाजी

आम निर्वाचनको मिति घोषणासँगै नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । यस्तैमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने चुनावी मैदानमा होमिने कि चुपचाप राष्ट्रियसभामै बस्ने भन्नेमा अलमलमा देखिएका छन् । राष्ट्रियसभा सदस्यकै भूमिकामा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मौका मिले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा जुटिरहँदा गौतम भने अलमलमा परेका हुन् ।

​७. जसपामा राईलाई पहिलो वरीयता

जनता समाजवादी पार्टी नेपालमा वरियताक्रमको पहिलो नम्बरमा अशोक कुमार राईलाई राखिएको छ । अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै उनलाई वरीयताको पहिलो नम्बरमा राखिएको हो ।  यसअघि उनको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो । केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । यसअघि डा.बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो ।

​८. सेयर बजारमा गिरावट

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा ३४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ३४.६१ अंकले घट्दै २१ सय १३.५५ अंकमा झरेको हो । यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत ५‍.८० अंकले घट्दै ४०६.४५ अंकमा झरेको छ ।

​९. मेलिनाको ब्रेकअप

चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ ।

१०. र, .यो पनि ...

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गर्यो । सोही बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ ।

​पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । 

​सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका(३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका(८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

​लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ । तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।

​नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप