बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित
शुक्रबार, २० साउन २०७९, १२ : ३१
शुक्रबार, २० साउन २०७९

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चिरण पुनले रातोपाटीलाई बताए । ‘हामीले चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा निर्णय गरेका छैनौँ । पार्टीको मूल स्प्रीट चुनावमा भाग नलिने भन्ने छ’ पुनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठक बसेर चुनावबारे निर्णय गर्ने छौँ ।’ 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने बताए । ‘आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने कुनै तयारी छैन । स्थानीय चुनाव बहिस्कार गरेकाले प्रदेश र प्रतिनिधि सभामा जाने सम्भावना छैन,’ गजुरेलले भने, ‘यसरबारे आधिकारिक रूपमा केन्द्रीय समिति बैठकबाट निर्णय गरेर जान्छौँ ।’ 

अरू स–साना कम्युनिस्ट घटकहरूले पनि स्थानीय चुनाव समेत बहिस्कार गरेकाले प्रदेश र प्रतिनिधि सभा चुनावमा जाने सम्भावना कम देखिएको छ । 

बहिस्कारको असर सामान्य

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई संसद् बाहिर भएका कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्दा सामान्य असर परेपनि चुनावै बिथोल्न भने नसक्ने रातोपाटीलाई बताए । ‘हामीले हिजो वैद्य विप्लवहरुको त्यस्तो सशक्त चुनाव बहिस्कार हुँदा त सफलतापूर्वक चुनाव गरेका थियौँ । अहिलेको अवस्थामा चुनावमा खासै असर पर्ने देखिँदैन’ राईले भने, ‘चुनाव बहिस्कार गर्ने पार्टीहरू चुपचाप बसेमा केही गर्ने कुरा हुँदैन । नारा जुलुस, तोडफोड र विध्वंसमा उत्रिए कानुन बमोजिम कारबाही गर्छौँ ।’ संसद् बाहिर भएका कम्युनिस्ट पार्टीकै कारण चुनाव रोकिने अवस्था नआउने उनले विश्वास व्यक्त गरे ।

हस्ताक्षरले गर्दा दुई टुक्रा

अहिले नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टी एक कित्तामा संगठित भएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल, लोकनारायण सुवेदी नेतृत्वको नेकपा, रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नारायण शर्मा नेतृत्वको संयुक्त मोर्चा क्रान्तिकारी नेपाल अर्को ठाउँमा उभिएका छन् । 

विप्लवको मोर्चामा चारवटा पार्टी रहेका छन् वैद्यको नेतृत्वमा ६ पार्टी संगठित भएका छन् । दुई पार्टी फुटेर चार पार्टी भएकाले एउटै मोर्चामा बस्न सक्ने अवस्था नभएको हो । विप्लव नेतृत्वको नेकपाले बास्तोला नेतृत्वको नेकपा बहुमत स्वीकार नगर्ने स्थिति छ । कट्टेल नेतृत्वको नेकपाले लोकनारायण सुवेदी नेतृत्वको नेकपालाई स्वीकार गर्न नसक्ने छ । 

गत साउन ४ गते संसद् बाहिर भएका ६ कम्युनिस्ट पार्टीहरूले बैठक बसेर संयूक्त आन्दोलन गर्ने निर्णय गरेका थिए । पार्टीहरूले न्यूनतम साझा कार्यक्रम बनाएर संघर्ष गर्ने निर्णय गरेका थिए । सोही मोर्चामा विप्लवबाट भर्खरै विभाजित भएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतलाई समेत समेट्ने निर्णय भयो । तर, अन्त्यमा बास्तोलालाई विप्लवकै कारण समावेश नगराएपछि मोर्चा फुटेको हो । विप्लव कुनै हालतमा बास्तोलालाई मोर्चाको एक सदस्यको रूपमा स्वीकार गर्न नसकेपछि दुई मोर्चा बनेका छन् । दुई मोर्चाले छुट्टाछुट्टै कार्यक्रम सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप