शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव घोषणासँगै लोसपाले बोलायो बैठक

शुक्रबार, २० साउन २०७९, १७ : ५३
शुक्रबार, २० साउन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ । तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ । 

एक नेताका अनुसार सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि आइतबार संसदीय दलको बैठक बस्नेछ  । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन । यसअघि एमालेसँग लोसपाको निकटता थियो । एमाले र लोसपाबीच तालमेल होला कि भनि चर्चा थियो । तर उपसभामुखमा लोसपाले काँग्रेसलाई सघाउनु, काँग्रेस सरकारले नागरिकता विधेयक पारित गर्नुले यी दुई दलबीच निकटता बढेको हो । 

लोसपाका एक नेताले भने, अहिलेसम्म त पाँच दलीय गठबन्धनसँग मिलेर नै चुनावमा जाने कुराकानी भइरहेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमै आउनका लागि भनिरहनु भएको छ तर हामीले कुनै डिसिजन दिन सकेका छैनौँ, अब बस्ने बैठकले यसको बारेमा निर्णय गर्छ होला ।’

त्यस्तै, लोसपा गठन भएको एक वर्ष भयो । तर अहिलेसम्म केन्द्रीय समितिलगायत अन्य कुनै पनि संगठन वा समिति गठन गरेको छैन । लोसपा कार्यकारिणी समितिबाट मात्र चलिरहेको छ । चुनावअघि नै केन्द्रीय समितिलगायत अन्य समितिहरु गठन गर्ने लोसपाको तयारी रहेको छ । त्यसको विषयमा पनि बैठकले छलफल गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप