शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ‘स्वतन्त्र’ अब राजनीतिक पार्टी, ओलीको उडन्ते भविष्यवाणी

शुक्रबार, १७ असार २०७९, २० : ५९
शुक्रबार, १७ असार २०७९

आज मिति २०७९ साल असार महिनाको १७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

१. स्वतन्त्र अब राजनीतिक पार्टी !

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

 पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

२. ओलीको उडन्ते भविष्यवाणी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि एउटा भविष्यवाणी गरे । उनले असार १७ गते नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नरहने र गठबन्धनसमेत भत्किने दाबी गरे । तर, असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने सङ्केत मिलेको छ । सत्तारुढ गठबन्धन पनि कायमै छ । देशकै ठुलो पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे भन्ने प्रस्ट हुन सकेको छैन ।

उनको उडन्ते भविष्यावाणी भएको भन्दै यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ। 

३. बागमतीमा सरकार परिवर्तनको कसरत

बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको रातोपाटीलाई बताइन् ।

४. नागरिकता विधेयकमा एमाले बाधक

नेकपा एमाले सकारात्मक नभएपछि नागरिकता विधेयक फेरि अन्योलमा परेको छ । सरकारले संसदबाट नागरिकता विधेयक पारित गराउने तयारी गरिरहेको बेला एमाले बाधक देखिएको हो । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण लगायतले एमालेका नेताहरुसँग नागरिकता विधेयकका बारेमा कुराकानी गरिसकेका छन् । छलफलमा विधेयकका सम्बन्धमा एमाले सकारात्मक नदेखिएपछि विधेयक संसदमा लैजाने कि नलैजाने भन्नेमा सरकार अन्योलमा छ ।

५. सेयर बजार

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।  बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो ।

६. अमेरिकामा व्यस्त प्रधानसेनापति

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । शर्मा असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा शर्माले असार १६ अमेरिकाका जोइन्ट चिफ स्टाफ एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरेका छन् ।

७. जसपाले मन्त्री फिर्ता बोलायो

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए ।

८. वामदेवको दाबी

‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् । उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् ।

ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् ।

‘मैले बिहीबार तीन पार्टीका अध्यक्ष केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेँ’, गौतमले शुक्रबार बिहान रातोपाटीसँग भने, ‘मेरो भेटघाटको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र त्यो प्रस्ताव उहाँहरुसमक्ष राखेको छु ।’,

९.विप्लवको रणनीति

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने भएको छ । विप्लव समूहले असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आगामी प्रदेश र संघको चुनाव मिति घोषणा हुन बाँकी रहेकाले पार्टीले पनि चुनावको बारेमा निर्णय नगरेको केन्द्रीय सदस्य चिरन पुनले बताए ।

१०. र, यो पनि

ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको आरोप छ ।

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज  मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । 

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।

नेकपा एमालेले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणमा गठन भएको छानबिन टोलीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ ।  तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटनाबारे प्रदेश सरकारले छानबिन समिति बनाएको थियो । तर, प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको छैन । 

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप