शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली, प्रचण्ड र माधवलाई भेटेपछि वामदेवको दाबी– कम्युनिस्ट एकता गर्न हामी सबै सहमति नजिक छौँ

शुक्रबार, १७ असार २०७९, १० : ५८
शुक्रबार, १७ असार २०७९

 ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् । उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् । 

ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् । 
‘मैले बिहीबार तीन पार्टीका अध्यक्ष केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेँ’, गौतमले शुक्रबार बिहान रातोपाटीसँग भने, ‘मेरो भेटघाटको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र त्यो प्रस्ताव उहाँहरुसमक्ष राखेको छु ।’, 

गौतमले आफ्नो प्रस्तावमा ओली मौन रहेको तर अन्य दुई नेताले सकारात्मक जवाफ दिएको बताए । 

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा हामी सवै सहमति नजिक छौ’, गौतमको भनाइ छ । उनले अहिले धेरै कुरा आफुले नभन्ने भन्दै कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउनु सवैका लागि आवस्यक भएको प्रतिक्रिया दिए । 

नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । 

सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप