शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने

शुक्रबार, १७ असार २०७९, १७ : ४६
शुक्रबार, १७ असार २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने भएको छ । विप्लव समूहले असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आगामी प्रदेश र संघको चुनाव मिति घोषणा हुन बाँकी रहेकाले पार्टीले पनि चुनावको बारेमा निर्णय नगरेको केन्द्रीय सदस्य चिरन पुनले बताए ।

‘सरकारले प्रदेश र संघको चुनाव मिति घोषणा गरेको छैन । हतारहतार पार्टीले निर्णय गर्नुको अर्थ छैन,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले असोज १ गते महाधिवेशन गर्ने निर्णय गरिसकेका छौं । महाधिवेशन सफल बनाउन घनिभूत रुपमा लागेका छौं ।’

पुनले पार्टीको महाधिवेशनबाटै पार्टीका नीति तथा कार्यक्रम र योजनासहित चुनावी रणनीतिका विषयमा निर्णय गर्ने बताए । महाधिवेशनमा स्थानीय चुनावको समीक्षाका साथै प्रदेश र संघको चुनावबारे निर्णय हुने उनको भनाइ छ ।

तर, विप्लव समूह छोडिसकेका एक नेताले प्रदेश र संघको चुनावमा विप्लव समूह ढुक्कसँग जाने दाबी गरे । ‘विप्लव समूह प्रदेश र संघको चुनावमा ढुक्कसँग जान्छ । चुनावमा नजाने भन्ने प्रश्नै हुँदैन,’ ती नेताले भने, ‘मोर्चा दर्ता गरेर चुनावमा जान्छन् वा पार्टी दर्ता गरेर जान्छन् भन्न सकिएन ।’

यदि निर्वाचन आयोगमा दर्ता भएमा एमालेसँगै चुनावी तालमेल गरेर विप्लव समूह जाने ती नेताको दाबी छ ।  ‘पार्टीका प्रवक्तासहित केही नेता एमालेसँग नजिक हुनुहुन्छ । त्यसैले स्थानीय चुनावमा अधिकांश क्षेत्रमा एमालेसँगै सहकार्य भयो,’ ती नेताले भने, ‘अब हुने प्रदेश र संघको चुनावमा एमालेसँगै उहाँहरुको तालमेल हुन सक्छ । त्यो आगामी दिनले प्रस्ट पार्ने छ ।’

विप्लव समूह स्थानीय निर्वाचनमा दल दर्ता गरेरै सहभागी हुन चाहे पनि दल दर्ता गर्ने मिति गुज्रिसकेकाले स्वतन्त्र उम्मेदवारी दिएर अधिकांश क्षेत्रमा एमालेसँग तालमेल गर्न पुगेका थिए । पार्टीमा प्रवक्ता खड्गबहादुर विश्वकर्मापक्ष एमालेसँगै नजिक देखिन्छन् । यद्यपि, आगामी दिनमा विप्लव समूह कसरी जान्छ भन्ने विषयमा पार्टी महाधिवेशनले निर्धारण गर्ने अधिकांश नेताको भनाइ छ ।

विप्लव समूहको महाधिवेशनले उनीहरुले लिने नीति तथा कार्यक्रमसँगै चुनावी रणनीतिको स्पष्ट खाका आउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप