शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता विधेयक पारित गराउन एमाले बाधक

शुक्रबार, १७ असार २०७९, १६ : ४५
शुक्रबार, १७ असार २०७९

नेकपा एमाले सकारात्मक नभएपछि नागरिकता विधेयक फेरि अन्योलमा परेको छ । सरकारले संसदबाट नागरिकता विधेयक पारित गराउने तयारी गरिरहेको बेला एमाले बाधक देखिएको हो । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण लगायतले एमालेका नेताहरुसँग नागरिकता विधेयकका बारेमा कुराकानी गरिसकेका छन् । छलफलमा विधेयकका सम्बन्धमा एमाले सकारात्मक नदेखिएपछि विधेयक संसदमा लैजाने कि नलैजाने भन्नेमा सरकार अन्योलमा छ ।

एमालेका सहमहासचिव पृथ्वी सुब्बा गुरुङले नागरिक विधेयक पारित गर्न हतारिनुको औचित्य के हो भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘हामीले नागरिकताको समस्या अध्यादेशबाट समाधान गर्दा त्यसको विरोध गर्ने यिनै राजनीतिक दल होइन ? अनि अहिले त्यसलाई पारित गर्न के को हतार भो ?’

नागरिकता विधेयकप्रति एमालेको जे सोच थियो, त्यो अझै कायम रहेको उनले बताए । उनले त्यो सोच भने प्रस्ट पारेनन् । उनले भने, ‘सरकारको तर्फबाट पहिला विधेयक प्रस्तुत होस्, त्यसपछि एमालेले त्यसको बारेमा निर्णय लिन्छ । संसदमा विधेयक प्रस्तुत नगरी त्यसको ग्यरेन्टी एमालेबाट खोजेर हुँदैन ।’

प्रतिपक्षमा रहँदा एमालेले नागरिकता विधेयकको विरोध गर्दै आएको थियो । सो विधेयकलाई संसदमा छलफलका लागि पटक पटक लैजान खोज्दा एमालेका नेताहरुले त्यसको विरोध गरेका थिए । आफू सरकारमा हुँदा एमालेले मधेसी दलको समर्थन जुटाउनका लागि अध्यादेशमार्फत नागरिकता विधेयक अघि बढाएका थिए ।

जसपाभित्र विवाद उत्कर्षमा पुगेको बेला जसपाकै तत्कालीन नेता महन्थ ठाकुर पक्षको माग अनुसार उनले नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए । तर उक्त अध्यादेश सर्वोच्च अदालतको आदेशबाट कार्यान्वयनमा भने आएन ।

अहिले त्यही विधेयकलाई अघि बढाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई साथ नदिने भएका हुन् । काँग्रेसका एक नेताले भने, ‘संसदबाट विधेयक पारित गराउन सरकार तयारी अवस्थामा छ तर प्रमुख प्रतिपक्षी दल एमाले साथ दिन तयार छैन ।’

ओलीले पहिलाको परिस्थिति एउटा थियो, अहिले अर्कै परिस्थिति बनेको भन्दै नागरिकता सम्बन्धी विधेयकलाई समर्थन नै गर्ने भनेर तत्काल भन्न नसकिने जवाफ दिएको काँग्रेसका ती नेताले बताए । नागरिकता विधेयक काँग्रेस नेतृत्व सरकारको पालामा पारित भए काँग्रेसले नै जस पाउने भएकाले एमालेले काँग्रेसलाई जस दिने गरी विधेयकको समर्थन नगर्ने देखिएको जानकारहरु बताउँछन् । नागरिकको समस्या अध्यादेशमार्फत समाधान गर्न खोज्दा काँग्रेस, माओवादी, जसपाले सहयोग नगरेको भन्दै एमालेले अहिले त्यसको बदला लिन खोजिरहेको उनीहरुको भनाइ छ ।

जनता समाजादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले एमालेका अध्यक्ष ओलीले दोहोरो चरित्र देखाएको टिप्पणी गरे । ओली नेतृत्वको तत्कालीन सरकारले अफ्नो सत्ता बचाउन संसद विघटन गर्नुअघि ल्याएको नागरिकतासम्बन्धी अध्यादेशलाई नै अहिलेको सरकारले विधेयकका रूपमा सदनमा प्रस्तुत गर्न खोज्दा पहिला र अहिलेको सन्दर्भ फरक भएको भन्दै समर्थन गर्न नसकिने भन्नु उनको दोहोरो चरित्र देखिएको यादवको तर्क छ । उनले यस्ता पूर्वाग्रही तथा दोहोरो चरित्रको व्यक्तिलाई समयमै चिन्नुपर्ने बताए ।

आफ्नो स्वार्थ पूरा हुँदा सबै ठिक, आफ्ना स्वार्थ पूरा नहुने देखेपछि सबै गलत भन्नु दोहोरो चरित्र भएको उनले टिप्पणी गरे । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले नागरिकता विधेयक अहिलेसम्म पारित नगर्नु भनेको सरकार मधेसप्रति अनुदार रहेको पुष्टी भएको बताए । ‘नागरिकता समस्या मधेसको मात्र समस्या नभएर देशभरिको समस्या हो तर यहाँ मधेससँग जोडेर राज्यबाटै भेदभाव गरिरहेको देखिन्छ,’ उनले भने ।

उनले नागरिकता विधेयक पारित नहुनुमा तीन ठूला दल बाधक रहेको बताए । ‘अरु कुरामा ती दलहरु आपसमा मिल्छन् तर जब नागरिकताको कुरा आउँछ अनि विभिन्न बहाना बनाएर पन्छिने गरेका छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप